Logo

सिंगटी–लामाबगर सडक कालोपत्रे हुने

दोलखा- उत्तरी दोलखाको लाइफलाइनको रुपमा रहेको सिंगटी–लामाबगर सडक कालोपत्रे हुने भएको छ । सडक कालोपत्रेका लागि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट अहिले डिभिजन सडक कार्यालयलाई हस्तान्तरणसमेत भइसकेको छ ।

डिभिजन सडक चरिकोटले सडक आफ्नो स्वामित्वमा आएलगत्तै ठेक्का आह्वानसमेत भएको छ । अहिले पहिलो चरणमा १० किलोमिटर कालोपत्रे गर्ने गरी ठेक्का निकालेको डिभिजन प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । १० किलोमिटर सडक कालोपत्रे हुँदा विगू गाउँपालिका-१ जगतसम्म पुग्छ । पहिलो चरणमा १६ करोडको स्टिमेट गरी ठेक्का निकालेको हो ।

ठेक्का सम्झौतापछि चालु आर्थिक वर्षभित्रै काम सुरु हुने उनले जानकारी दिए । संघीय सरकारले बजेटको सुनिश्चित गरेकाले ठेक्का निकालेको उनले बताए । बाँकी सडकको लामाबगरसम्म सडक डिभिजन आफैंले मर्मत संहार गर्नेछ । थप बजेट सुनिश्चित भए बाँकी सडकको पनि ठेक्का निकालेर कालोपत्रे गरिने उनले बताए ।

दुई महिनाअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहितले सो सडकको निरीक्षण गरेका थिए । उत्तर–दक्षिण राजमार्गअन्तर्गत आएको बजेटले माथिल्लो क्षेत्रमा निजी क्षेत्रका जलविद्युत आयोजनाले सडक ट्रयाक खोल्ने काम जारी राखेकाले यो बजेट अहिले कालोपत्रेमा खर्च गरेको हो ।

दोलखाका पार्टी प्रतिनिधिसहित सडक डिभिजन चरिकोटका प्रमुख श्रेष्ठसमेत स्थलगत निरीक्षणका लागि चीनको सिमाना लप्चीसम्म पुगेर फर्केका हुन् । लामाबगरदेखि उत्तरी क्षेत्रमा निजी जलविद्युत आयोजनाले सडक निर्माण जारी राखेकाले सिंगटीदेखि सडक कालोपत्रे सुरु गर्न लागेको उनले बताए । सडक कालोपत्रे भएपछि लामाबगरसम्मको यात्रा सहज हुने स्थानीयको भनाइ छ ।

१५ वर्षअघि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहुँचमार्गको रुपमा ट्रयाक खोलेर ग्राभेल भएको यो सडक नियमित मर्मत संहार पनि आयोजनाले नै गर्दै आएको थियो । २८ किलोमिटर लामो सडकको अब मर्मत संहार पनि डिभिजन सडकले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्