व्यापार व्यवसाय चलायमान बनाउन सहकार्य

बिर्तामोड– व्यापार व्यवसायलाई चलायमान बनाउन बिर्तामोड र धरानका व्यवसायीबीच सहकार्य गरिने भएको छ । कोभिड–१९ को महामारी र त्यसपछि देखिएको आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुस्ताएपछि सहकार्य गरिन लागेको हो । बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यमी समूह र सुनसरी उद्योग वाणिज्य संघ धरानका व्यवसायीबीच सहकार्यका लागि समझदारी भएको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईंले बताइन् ।
व्यवसायलाई चलायमान बनाउँदै महिलाहरूलाई आर्थिक उपार्जनमा समेत थप टेवा पुर्याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि संघअन्तर्गत रहेको महिला उद्यमी समूहकी अध्यक्ष हुँमागाईसहितको महिला उद्यमीको टोलीले धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा पुगेर सहकार्यका लागि प्रस्तावअघि बढाएको संघकी कोषाध्यक्ष तिलोत्तमा खत्रीले बताइन् ।
संघअन्तर्गत रहेको महिला उद्यमी समूहका महिला उद्यमीको प्रस्तावलाई सहर्ष स्वीकार्दै सुनसरी उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीले आफूहरूले गरेका राम्रा अभ्यासका विषयमा समेत आफूहरूलाई जानकारी गराएको महिला उद्यमी समूहकी सल्लाहकार यशोदा उप्रेतीले बताइन् ।
सुनसरी उवा संघ धरानका कार्यवहाक अध्यक्ष गोपाल श्रेष्ठले कोभिड–१९ को महामारी र त्यसपछि देखिएको आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुस्ताएको र त्यसलाई थप चलायमान बनाउन बिर्तामोड उवा संघअन्तर्गत रहेको महिला उद्यमी समूहका महिला उद्यमीको सहकार्यको प्रस्ताव आफूहरूलाई मान्य भएको बताए ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले देशव्यापी रूपमा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्दा आर्थिक गतिविधि ठप्प हुन गई ठूलो नोक्सानी बेहोर्नुपरेको थियो । त्यसपछि देखिएको आर्थिक मन्दीका कारण लघु, घरेलु र साना उद्योग व्यवसाय प्रभावित भएको बताउँदै उनले यस्तो अवस्थामा व्यवसायीबीच सहकार्य हुनु जरुरी भएको जनाए ।
सुनसरी उवा संघकी सदस्य तथा महिला उपसमिति अध्यक्ष वर्षा अग्रवाल श्रेष्ठले बिर्तामोड उवा संघअन्तर्गत रहेको महिला उद्यमी समूह र सुनसरी उवा संघका व्यवसायीबीच सहकार्यले दुवैलाई फाइदा पुग्ने बताइन् । सो अवसरमा उद्योग वाणिज्य संघ कोशी प्रदेश सदस्य तथा महिला उद्यमी मनिता घिमिरेले आफूले गरेको व्यवसायका असल अभ्यासका विषयमा जानकारी गराएकी थिइन् ।
कोशी प्रदेशका महिला उद्यमीहरूलाई जडीबुटीबाट साबुन उत्पादन गर्ने तालिम प्रदान गर्दै आएको र आफूले पनि समृद्धि प्राकृतिक सावुन उद्योग सञ्चालन गर्दै आएको उनले बताइन् । निम, तितेपाती, गाँजासहितका विभिन्न सामग्री प्रयोग गर्दै सावुन उत्पादन गर्ने र त्यसलाई बजारीकरण गर्दै आफूले आर्थिक उपार्जन गर्ने गरेको र अरुलाई समेत रोजगारी दिलाएको कार्यक्रममा घिमिरेले जानकारी दिइन् ।
उनले कोशी प्रदेशका धरान सहित धनकुट्टा, इलाम, पाँचथर, ओखलढुंगासहितका धेरै ठाउँमा तालिम प्रदान गर्दै सयौं महिलालाई स्वावलम्वी बनाउन भूमिका निर्वाह गरेको बताइन् । कार्यक्रममा सुनसरी उवा संघका सदस्य जयप्रकाश शर्माले धरानका व्यवसायीहरूको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै व्यवसाय चलायमान बनाउन आफूहरू सहकार्य गर्न तयार रहेको बताए ।
बिर्तामोड उवा संघअन्तर्गत रहेको महिला उद्यमी समूहकी सल्लाहकार यशोदा उप्रेती, विर्तामोड उवा संघकी कोषाध्यक्ष तिलोत्तमा खत्री, महिला उद्यमी समूहकी महासचिव लीला अनमोललगायतले झापाका व्यवसायीहरूले गरेका असल अभ्यास र बिर्तामोड उवा संघले स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी राहत कोषका विषयमा जानकारी दिए ।
झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार चौधरीले व्यवसाय प्रवर्द्धनमा अभ्यास साटासाट कार्यक्रमको प्रशंसा गर्दै झुम्का उवा संघसमेत सहकार्यका लागि तत्पर रहेको बताए । सुनसरी उवा संघका महासचिव महेन्द्र प्रधानले झापा बिर्तामोडका व्यवसायी र सुनसरी धरानका व्यवसायीबीचको सहकार्यले दुवैको आर्थिक वृद्धि हुनेमा जोड दिए ।