Logo

दुई अर्ब लगानीमा खुल्यो बुद्ध रिजेन्सी होटल

भैरहवा– रुपन्देहीको भैरहवामा दुई अर्ब लगानीको अर्को पाँच तारे होटल थपिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाँच मिनेटको पैदलदुरीमा उत्तरतर्फ बुद्ध रिजेन्सी होटल सञ्चालनमा आएको हो । एक बिगाहा क्षेत्रफलमा फैलिएको उक्त होटलले पर्यटन विभागमा पाँच तारे होटलमा सूचीकृतका लागि आवेदन दिइसकेको होटलका सञ्चालक सुनिल अग्रवालले बताए ।

पाँचतारे होटलका लागि आवश्यक सबै पूर्वाधारहरू बनेका छन् । सुरक्षादेखि होटलको शयन कक्षको आकार, स्विमिङपुललगायत पाँच तारे होटलमा हुनु पर्ने कन्फरेन्स हल, रेष्टुरेन्ट, लन्ज, वैंकेट हल, लिफ्ट सबै रहेका अग्रवालले बताए । होटलमा अग्रवालसहित, नरेन्द्रप्रसाद गुप्ता, पवन श्रवागीसहित ६ जनाको संयुक्त लगानी रहेको छ । होटलमा २ अर्ब बढीको लगानी छ ।

होटल ८ तलाको रहेको छ । होटलमा १०५ कोठाहरू रहेका छन् । जसमध्ये प्रेसिडेन्सियल सुइट रुम १ वटा, सुइट रुम ३ वटा, इन्टरकनेक्सन रुम ५ तथा बाँकी सबै डिलक्स रुम ९६ वटा रहेको होटलका महाप्रबन्धक बसन्तराज पुरीले बताए । होटलमा सिंगल अकुपेन्सीमा १०५ जनाले तथा डबल अकुपेन्सीमा २१० जनाले एकै दिनमा बास बस्न सक्ने क्षमता रहेको छ ।

त्यसैगरी होटलमा रूफ टप स्विमिङ पुल, सातौं तलामा ७० जना क्षमताको लाउन्ज, आठौं तलामा ८० जना क्षमताको कन्फरेन्स हल, ट्यारीसमा कफी सपसहितको रेष्टुरेन्ट, भुइतलामा ३५० जना सिटिङ क्षमता र ६ जना स्ट्यान्डिङ क्षमताको व्याङकेट हल, पहिलो तलमा १३० जना क्षमताको रेष्टुरा, ५० जना क्षमताको कन्फरेन्स हल साथै बेसमेन्टमा पार्किङ रहेको छ । होटलमा व्यायमशालालगायतका सबै सुविधा उपलब्ध रहेको महाप्रबन्धक पुरीले बताए ।

होटलमा क्यासिनोसमेत सञ्चालन गर्ने गरी तयारी गरिएको छ । होटललाई अन्तर्राष्ट्रियस्तरमा होटलको व्यवस्थापन गर्दै आएको प्रसिद्ध चेन ग्रुप रमादाले व्यवस्थापन हेर्ने गरी तयारी गरिरहेको सञ्चालक अग्रवालले बताए । व्यवस्थापनको जिम्मा रमादा ग्रुपलाई दिने गरी आवश्यक सबै तयारी पूरा गरी कागजपत्र तयार गरी पठाइसकेको र रमादा ग्रुपको कन्फर्मेसन हुने वित्तिकै होटलको ग्रान्ड ओपनिङ समेत हुने सञ्चालक अग्रवालले बताए ।

होटलको सफ्ट ओपेनिङ भने नव वर्षका दिन भएको हो । होटलबाट उत्तरतर्फ मौसम सफा भएको बेला अन्नपूर्ण, धवलागिरी, माछापुच्छ्रे, निलगिरीलगायतका हिमाल देख्न सकिन्छ । दक्षिणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दृष्य देखिन्छ । महाप्रबन्धक पुरीका अनुसार सफ्ट ओपनिङ पश्चात होटलको अकुपेन्सी राम्रो छ । होटलले विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई पनि लक्षित सेवाग्राहीका रूपमा राखी सोहीअनुसार होटलको टयारीफ तयार गरेको छ ।

होटलमा एक रात बास बसेको बिबि प्लानमा डबल अकुपेन्सीमा ८ हजार रुपैयाँ डिलक्स रुमको प्रारम्भिक मूल्य रहेको छ । होटलले डेस्टिनेसन विडिंगलगायत अन्य कार्यक्रमका लागी भारतीय पर्यटक लक्षित योजना बनाएको छ भने बुद्ध सर्किटमा आउने पर्यटकलाई पनि लक्ष्यित गरेको छ । होटलमा अहिले ४० जनाले रोजगार पाएका छन् ।

तीन वर्ष अघि नै सञ्चालनमा आउनु पर्ने होटल कोरोनाका कारण निर्माण सम्पन्न हुने समयपछि धकेलिँदै जाँदा २०८२ को पहिलो दिनबाट सञ्चालनमा आएको हो । भैरहवामा यसअघि सिद्धार्थ भिलाषा पाँच तारे होटल सञ्चालनमा छ । भैरहवामा अन्य दुई पाँच तारे होटल निर्माणका क्रममा छन् । नजिकै लुम्बिनीमा पवल प्यालेश र कोटीहवामा टाईगर प्यालेस पाँच तारे होटल सञ्चालनमा छन् । भैरहवामा मात्रै ६ वटा चार तारे होटल सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्