कर्जा असुली सुधार नहुँदा दबाबमा वित्त कम्पनी

काठमाडौं– कर्जा असुलीमा समस्या आउँदा वित्त कम्पनीहरू पनि दबाबमा देखिएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा केही बढे पनि निष्क्रिय कर्जामा सुधार हुन सकेको छैन ।
अहिले वित्त कम्पनीहरू व्यापार बढाउने भन्दा असुली गराएर परिस्थिति सामान्य बनाउने योजनामा छन् । कर्जा असुलीका लागि कम्पनीहरुले विभिन्न विकल्पसमेत ऋणीलाई दिँदै आएका छन् । तैपनि असुलीमा अपेक्षित सुधार हुन नसकेको वित्त कम्पनीका सञ्चालक बताउँछन् ।
चालु आवको तेस्रो त्रैमासमा १० वटा वित्त कम्पनीले नाफा बढाएका छन् । सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीमध्ये बाँकी ५ वटा भने नोक्सानीमा देखिएका छन् । गत आवको सोही अवधिमा ८ वटा फाइनान्स कम्पनी नोक्सानीमा थिए ।
चालु आवमा फाइनान्स कम्पनीहरूको खुद नाफा १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा नाफा ३७ करोड ऋणात्मक थियो । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्तले अहिले समग्र बैंक तथा वित्तीय संस्थामा आर्थिक सुस्तताको असर परिरहेको बताए । यस्तो अवस्थामा फाइनान्स कम्पनीहरूको नाफा सामान्य भए पनि बढेकोमा उनले सन्तोष व्यक्त गरे । निष्क्रिय कर्जाको अवस्था सुधार्न समय लाग्ने उनी बताउँछन् । ‘विस्तारै कर्जाको माग हुन थालेको अवस्थामा छौं । वित्तीय अवस्थामा सुधार रातारात हुँदैन । सुधारका सूचकहरू देखिएका छन् । विस्तारै हुने चरणमा छ,’ पन्तले भने । अहिले कर्जा असुली नै मुख्य चुनौती भएकाले सबैको ध्यान त्यसतर्फ बढी रहेको उनी बताउँछन् । कर्जाको वृद्धि अपेक्षित गतिमा नहुँदा पनि समस्या भएको उनको बुझाइ छ ।
नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले अर्थतन्त्रको समग्र सुस्तताका कारण वित्तीय विवरण सकारात्मक नदेखिएको बताए । उनले कारोबारसँग भने, ‘अहिले समग्र क्षेत्रमा नै सुस्तता छ, त्यसको असर यहाँ पनि देखिएको छ । विस्तारै हट्ला भन्ने अपेक्षा छ ।’ तोकिएको क्षेत्र र औद्योगिक क्षेत्र राम्रोसँग चलायमान नभइरहेकाले त्यही क्षेत्रबाट कर्जा असुली हुन नसकेको उनी बताउँछन् । ‘अर्थतन्त्र चलायमान हुँदै गएमा अहिलेको परिस्थिति छिटै हट्छ भन्ने केही सूचकले देखाएका छन्,’ उनले भने, ‘यसका लागि धैर्य गर्दै अवस्था सहज बनाउँदै लैजानु आवश्यक हुन्छ ।’
चालु आवको तेस्रो त्रैमासमा फाइनान्स कम्पनीमध्ये आईसीएफसीले सबैभन्दा धेरै १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीले गत आवको सोही अवधिमा ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको तेस्रो त्रैमासमा १५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको मञ्जुश्री फाइनान्सले चालु आवको सोही अवधिमा १७ करोड ११ लाख कमाएको छ । यसैगरी गत आवको तेस्रो त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको श्री इन्भेस्टमेन्ट फाइनान्सले चालु आवको सोही अवधिमा ४ करोड ९१ लाख कमाएको छ ।
यस्तै, मल्टिपर्पस फाइनान्सले २ करोड १६ लाख रुपैयाँ नाफा कमाउँदा सेन्ट्रल फाइनान्सले १ करोड ६९ लाख र नेपाल फाइनान्सले १७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
प्रोगे्रसिभ फाइनान्सले पनि वित्तीय अवस्था सुधार गरेको छ । चालु आवको तेस्रो त्रैमासमा प्रोग्रेसिभले ९ करोड ४ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनी ५ करोड ४९ लाख रुपैयाँ नोक्सानमा थियो । चालु आवको तेस्रो त्रैमासमा जानकी फाइनान्सले सबैभन्दा धेरै नोक्सानी व्यहोरेको छ । यो त्रैमासमा जानकी १७ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा छ । गत आवको सोही अवधिमा यो फाइनान्सले १० करोड ८६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । यस्तै, समृद्धि फाइनान्सले चालु आवको तेस्रो त्रैमासमा ३ करोड ५७ लाख रुपैयाँ नोक्सानी व्यहोर्दा गोर्खाजले ६ करोड २१ लाख रुपैयाँ, बेस्टले ७ करोड ५२ लाख रुपैयाँ र रिलायन्स फाइनान्सले १७ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् ।
निष्क्रिय कर्जामा कुनको अवस्था कस्तो ?
फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ४४ प्रतिशतसम्म पुगेको छ । दुईवटा कम्पनीको ३० प्रतिशतभन्दा माथि रहँदा ७ कम्पनीको १० प्रतिशतभन्दा माथि छ । ३० प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा हुने फाइनान्समा जानकी र पोखरा फाइनान्स छन् । चालु आवको तेस्रो त्रैमासमा जानकी फाइनान्सको ४४.४१ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा यसको निष्क्रिय कर्जा २८.९१ प्रतिशत थियो ।
यस्तै, गत आवको तेस्रो त्रैमासमा ७.९१ प्रतिशत रहेको पोखरा फाइनान्सको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ३१.२५ प्रतिशत पुगेको छ । गत आवमा १४.५ प्रतिशत निष्क्रिय कर्जा रहेको गोर्खाज फाइनान्सको अहिले १७.४५ प्रतिशत पुगेको छ । समृद्धि फाइनान्सको १६.४२ प्रतिशत निष्क्रिय कर्जा पुग्दा रिलायन्सको १६.०८ प्रतिशत, बेस्टको ११.४१ प्रतिशत, सेन्ट्रलको १२.०१ प्रतिशत, नेपाल फाइनान्सको ९.६६ प्रतिशत र गुडविलको ८.०७ प्रतिशत पुगेको छ । यसैगरी प्रोग्रेसिभ फाइनान्सको निष्क्रिय कर्जा ७.१५ प्रतिशत, गुहेश्वरी फाइनान्सको ६.९३ प्रतिशत, मल्टीपर्पसको ५.३६ प्रतिशत, मञ्जुश्रीको ४.२ प्रतिशत र श्री इन्भेस्टमेन्टको ३.७५ प्रतिशत पुगेको छ ।