Logo

एनएमबि बैंकको सीईओ पदमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं- एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार बुधबारदेखि गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हालेका छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि यस एनएमबि बैंकसँग आवद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गरी कार्य अनुभव हासिल गरेका घिमिरे यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

उनले बैंकको सेवा विस्तार र सुधारमा महत्त्वपूर्ण योगदान दिई आएका छन् । उनको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्त्वपूर्ण रहँदै आएका छन् । उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएका छन् ।

उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ । नव नियूक्त कार्यकारी अधिकृत घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहाय बमोजिमको धारणा व्यक्त गरेका छन् ।

”मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।”

साथै, आजैका मितिबाट लागु हुने गरी बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य गरि कार्य अनुभव प्राप्त गरेका उपाध्याय अन्तराष्ट्रिय व्यापार तथा अन्तराष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ । उनीहरुको नियुक्तिसँगै एनएमबि बैंकले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’ को उद्देश्य तर्फ कदम अगाडी बढाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्