Logo

दर्ता बिनाका व्यवसाय रोक्न माग

बिर्तामोड– झापा बिर्तामोडका व्यवसायीहरूले दर्ता बिनाका व्यवसाय रोक्न माग गरेका छन् । महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा बिर्तामोडमा भएको व्यवस्थित व्यवसायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् । राज्यले कानुनअनुसार व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरू कानुनी दायराभन्दा बाहिर रहेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीका कारण समस्यामा परेको उनीहरूको भनाइ छ ।

राज्यको कानुन मानेर सञ्चालित व्यवसायीले घरभाडादेखि स्थानीय तह, आन्तरिक राजस्व कार्यालयमा बुझाउने कर तथा कागजपत्र नमिल्दा हुने झण्झटका बाबजुद पनि व्यवसाय सञ्चालन गरिरहेको बताउँदै उनीहरूले बिना दर्ता सञ्चालनमा रहेका व्यापार व्यवसायको कारण आफूहरू समस्यामा परेको बताएका थिए । व्यवसायीहरूले बिना दर्ताका व्यवसायलाई कानुनी दायरामा ल्याउन वा सञ्चालनमा रोक लगाउन माग गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोडमा बिना दर्ता सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउने बताउँदै आफूलाई सहयोग गर्न व्यवसायीहरूलाई आग्रह गरे । उनले नगरमा सञ्चालन भएका व्यवसाय दर्ता र करको दायरामा ल्याउन आफूहरूले विशेष अभियानअघि बढाइरहेको बताउँदै बिना दर्ताका व्यवसायीले कर नतिर्दा सरकारलाई वर्षेनी लाखौँ घाटा हुँदै आएको बताए ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी डोरराज सुनुवारले राज्य सञ्चालन, सम्मान तथा सन्ततिको भविष्य, आर्थिक पारदर्शिताका लागि पनि कर तिर्नु अनिवार्य रहेको बताए । उनले कर तिर्नु व्यवसायीको दायित्व भएकाले समयमै कर तिरेर इमान्दार व्यवसायीको परिचय दिन सबै व्यवसायीलाई आग्रह गरे ।

व्यवसायीहरूले उठाएका सवाललाई सम्बोधन गर्दै सूचना अधिकृत सुनुवारले सीमाना प्रवेश गरेपछि मात्रै आन्तरिक राजस्व कार्यालयले हेर्न पाउने जानकारी दिँदै सिमानाकाबाट कुनै पनि सामान आयातमा कर कार्यालयले केही पनि गर्न नसक्ने बताए । भन्सार कटेर आएपछि मात्रै आन्तरिक राजस्व कार्यालयले हेर्ने र कारबाही गर्ने उनको भनाइ छ ।

महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष शर्मिला अधिकारीले बिर्तामोडमा बिना दर्ता सञ्चालन गरिरहेका व्यवसायका कारण आफूहरू जस्तै सबै व्यवसायी समस्यामा परेको कारण व्यवस्थित व्यवसाय सञ्चालनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइन् । संघकी झापा अध्यक्ष अधिकारीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न अन्तक्र्रियामा संस्थाकी वरिष्ठ उपाध्यक्ष युनिता दवाडीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

अन्तक्र्रियामा महिला सुरक्षा दबाब समुहकी अध्यक्ष शारदा रिजाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, महिला नेतृ रञ्जु प्याकुरेल, उमा पोखरेल, बोलो राजवंशी, भानुभक्त खनाल, पुनम अधिकारी, रुपेशजंग बेल्बासे, भुपेन्द्र भण्डारीलगायतले बिर्तामोडमा बिना दर्ता सञ्चालन गरिरहेका व्यवसायका कारण आफूहरू मारमा परेको बताए ।

कार्यक्रमका सहभागीहरूले भारतबाट आफैं ल्याउँदा र बजारमा ल्याइएको कतिपय सामानको मूल्यमा दोब्बरले अन्तर हुँदा उपभोक्ताको आकर्षण भारतीय बजारमा बढेको धारणा राखेका व्यवसायीले नियमनकारी निकायको मौनताका कारण दर्ता बिनाका व्यापार फस्टाएको उनीहरूको भनाइ छ । विभिन्न क्षेत्रका व्यवसायीहरूले स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनमा आकर्षित हुनु, खुल्ला सीमानाका कारण यहाँका व्यवसायमा परेको असर, कानुनी रूपमा व्यहोर्नु परेको झण्झटबारे ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्