भैरहवा नाकाबाट निर्यात ३९ र आयात आठ प्रतिशत बढ्याे

भैरहवा– भैरहवा नाकाबाट चालु आर्थिक वर्षको नौ महिनामा आयात ७ दशमलव ८७ प्रतिशत र निर्यात ३९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
गत वर्षको ९ महिनाको तुलनामा चालु वर्षको ९ महिनामा आयात र निर्यात व्यापार दुवैमा वृद्धि भएको हो । चैत मसान्तसम्म एक खर्ब ९१ अर्ब ६१ करोड ९५ लाख मूल्यबराबरका विभिन्न सामान आयात भएको छ । गत वर्षको यसै अवधिमा एक खर्ब ७७ अर्ब ६४ करोड मूल्यबराबरको सामान आयात भएको थियो । भारत तथा तेस्रो मुलुकमा १४ अर्ब २२ करोड रुपैयाँबराबरको विभिन्न सामानहरू निर्यात भएको छ ।
यो नाका हुँदै चैतसम्ममा सबै प्रकारका मोटरसाइकल ११ अर्ब ७८ करोड रुपैयाँबराबरको १ लाख १ हजार २९ वटा आयात हुँदा १२ अर्ब १६ करोड ८० लाख रुपैयाँ राजस्व उठेको छ । त्यसैगरी इन्धनबाट चल्ने जिपकार र भ्यानहरू २ हजार ३ सय ४८ वटा आयात हुँदा २ अर्ब ७५ करोड ८३ लाख रुपैयाँबराबरको आयात हुँदा ७ अर्ब २७ करोड १९ लाख ६९ हजार रुपैयाँ राजस्व उठेको छ ।
पेट्रोल, विद्युतबाट सञ्चालित जिपकार भ्यान, शुद्ध फलाम, डबल क्याब पिकअप गाडी, मोबाइल टेलिफोन, चकलेट, एम.एस विलेट, एलपि ग्यास जस्ता बढी राजस्व दिने वस्तुहरूको आयात बढेको छ । भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, सिमेन्ट खैरो, खयरकत्था, पिना, स्टिल फलामको भाँडाकुँडा, चाउचाउ, नुडल्स पास्ता, खोटो, रोजिन, सूर्यमुखीको प्रशोधित तेल, प्लाइउड जस्ता वस्तुहरू निर्यातमा सबैभन्दा अघि छन् ।
भटमासको प्रशोधित तेल ४ अर्ब ४ करोड ३८ लाख, सेन्थेटिक यार्न २ अर्ब ५४ करोड १२ लाख, सिमेन्ट खैरो १ अर्ब ५ करोड ८३ लाख, खयर कत्था ६७ करोड ८० लाख, पिना ६६ करोड ६८ लाख, स्टिल वा फलामका भाँडाकुँडा ५७ करोड ४७ लाख, चाउचाउ, नुडल्स, पास्ता गरी ५० करोड ३६ लाख, खोटो रोजिन ४३ करोड ३ लाख, सूर्यमुखी प्रशोधित तेल ३८ करोड ७६ लाख रुपैयाँबराबरको सामान भारत तथा तेस्रो मुलुक निर्यात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख एवम् मुख्य भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
आन्तरिक नियन्त्रण प्रणालीमा सुधार, चोरी पैठारी नियन्त्रण एवं अवैध व्यापारमा निगरानी, स्वदेशमा निकासी मूलक उद्योगहरू सञ्चालन हुँदा बजार र अर्थतन्त्र चलायमान, मोटरसाइकल, कारहरूको पैठारीमा वद्धी, चुस्त भन्सार प्रसाशनलगायतका कारणले भन्सारबाट हुने आयात निर्यात एवं राजस्व वृद्धि भएको मुख्य भन्सार अधिकृत रेग्मीले बताए ।