Logo

जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्न दुई कम्पनी छनोट

वीरेन्द्रनगर- डोल्पाको जगदुल्ला, मुड्केचुलामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि दुईवटा कम्पनी छनोटमा परेका छन् । छनोटमा परेको दुई कम्पनीले वैशाख २४ गतेभित्र वित्तीय प्रस्ताव पेस गनुपर्ने भएको छ ।

सिनो हाइड्रो चीन र जेसिई/एएनेके जेभी प्राविधिक रुपमा सफल भएको भन्दै आयोजनाले सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको छ । कम्पनीले मूल्य बिडका लागि आह्वान पनि गरेको छ । दुई कम्पनी अब मूल्य बोलकबोलमा सहभागी भएर प्रतिस्पर्धा गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।

कम्पनीले सिभिल र हाइडा्रेमेकानिकल तर्फको कामका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । चारवटा कम्पनीले आवेदन दिएकामध्ये दुईवटा छनोटमा परेका हुन् । सिनो हाइड्रो, एएनके जेभी, सिल एचचएच जेभी, टू एमजी फेवा जेभीले आवेदन दिएका थिए । जसमध्ये सिनो हाइड्रो चीन र जेसिई/एएनेके जेभी प्राविधिक रुपमा सफल भएर सर्ट लिस्टमा परेको उनले बताए । दुई कम्पनी अब मूल्य बोलकबोलमा सहभागी हुनेछन् ।

आयोजनाअन्तर्गत इन्जिनियरिङ, प्रोक्युरम्यान्ट र कन्स्ट्रक्सन (ईपिसि) मोडलमा बनाउने भनिएको छ । यो आयोजना निर्माण गर्दा २३ अर्ब खर्च हुने अनुमान गरिएको छ । १६ अर्ब ऋण र सात अर्ब रुपैयाँ स्वपुँजीबाट जुटाउन लागिएको छ । नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी अघि नै सहमति भइसकेको छ ।

नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने टुंगो यसअघि नै लागिसकेको छ । नबिलले चार अर्ब ४० करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चार अर्ब, कर्मचारी सञ्चय कोषले चार अर्ब, लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सहमति भएको आयोजना प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।

यस अगाडि कम्पनीले जेठ २० गते ग्लोबल टेण्डर आह्वान गरेको थियो । जसमा पाँचवटा कम्पनीले आवेदन दिएका थिए । त्यसबेला जेआईइसी र शर्मा एण्ड कम्पनीमार्फत चिनियाँ कम्पनी झोङदिङ इन्टरनेसनल, आरएससी र अविर, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीई कम्पनी, सिनो हाइड्रो कर्पोरेसन, जेसीई र एएनके ज्वाइन्ट भेन्चर, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन तथा ओम र फेवा जेभी कन्स्ट्रक्सनले संयुक्त रुपमा आवेदन दिएका थिए ।

विभिन्न प्रकारका समस्या आएको भन्दै उक्त बोलपत्र रद्द गरिएको थियो । आयोजना स्थलमा सडक तथा पुल निर्माण कार्य तीव्र बनाएको छ । आयोजना स्थलमा जान र आउनका लागि सबै पुल असार मसान्तमा पूरा हुने लक्ष्य राखिएको छ । त्यस्तै आयोजनास्थलमा जाने बाटोको कडा चट्टान फोर्नका लागि आयोजनाले त्रिवेणीदेखि इलसम्म लिएको जिम्मेवारी करिबकरिब पूरा गर्न थालेको छ ।

आयोजनाको विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुनेछ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २० मिटरको जलाशययुक्त बाँध निर्माण गरी सुरुङमार्गमार्फत विद्युतगृहमा पानी खसालिने छ । सुरुङ ६ दशमलव १ किलोमिटर लामो हुनेछ । यसको साथै तीन सय मिटर जमिनमुनि भूमिगत विद्युत उत्पादन गृह निर्माणसमेत गरिने अधिकृत सापकोटाले बताए । पाँच वर्षभित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य लिइएको छ ।

यहाँबाट उत्पादन भएको विद्युत सिधै रूकुम–पश्चिमको नेपाल विद्युत प्राधिकरणको बाँफिकोट सबस्टेसनमा जोडिने छ । राष्ट्रिय प्रणालीमा जोड्नका लागि करिब ४५ किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्छ । आयोजनादेखि नेपाल विद्युत प्राधिकरणको बाँफिकोट सबस्टेसनसम्म प्रसारणलाइन निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्