Logo

चीनसँग नेपालको कुल व्यापार हिस्सा एक प्रतिशतभन्दा कम

काठमाडौं– उत्तरी छिमेकी देश चीनसँग नेपालको व्यापार घाटा अस्वाभाविक रुपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म दुई मुलुकबीच भएको कुल व्यापारमा चीनको हिस्सा ९९.१ प्रतिशत पुगेको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपाल र चीनबीचको व्यापारमा नेपालको निर्यात हिस्सा क्रमशः कम हुँदै अहिले एक प्रतिशतभन्दा तल आएको हो । दुई मुलुकबीच यो चैतसम्ममा कुल २ खर्ब ५० अर्ब रुपैयाँबराबरको व्यापार भएको छ । यसमा नेपालको हिस्सा ०.९ प्रतिशतमा सीमित छ । चीनको हिस्सा भने ९९.१ प्रतिशत छ ।

नेपालले चैतसम्म चीनबाट २ खर्ब ४७ अर्ब रुपैयाँबराबरको सामग्री खरिद गर्दा चीनतर्फ २ अर्ब २५ करोड रुपैयाँको मात्र निर्यात गर्न सकेको छ । गत आवमा पनि चीनसँगको व्यापारमा नेपालको हिस्सा ०.८५ प्रतिशतमात्र थियो । नेपालको कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशत रहे पनि चीनसँगको व्यापारमा नेपालको उपस्थिति निकै कमजोर देखिएको छ ।

परिमाणमा भारतसँग ठूलो व्यापार घाटा देखिए पनि प्रतिशतका आधारमा चीनसँगको व्यापार घाटा निकै बढी हो । भारतसँग गत चैतसम्म नेपालले कुल ९ खर्ब ३५ अर्ब रुपैयाँको व्यापार गरेको छ । यो अवधिमा १ खर्ब ४९ अर्बको सामान निकासी गर्दै भारतसँगको कुल व्यापारमा निर्यातको हिस्सा १६.०२ प्रतिशत पुर्‍याएको छ । कुल निर्यातमा नेपालको औषत हिस्साभन्दा पनि यो बढी हो । नेपालसँगको व्यापारमा भारतको हिस्सा भने ८४ प्रतिशत रहेको छ ।

नेपालबाट चीनतर्फ मुख्यतया पास्ता (चाउचाउ), ऊनी गलैंचा, ऊनी फेल्टका सामग्री, तामाका सामान, हस्तकला सामग्री तथा जडिबुटी निकासी हुने गरेको छ । चीनबाट भने सवारीसाधन, लत्ताकपडा, जुत्ता तथा घरायसी तथा औद्योगिक प्रयोजनका सामान आयात हुँदै आएका छन् ।

नेपाल चीन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ नेपालबाट चीनतर्फको निकासी वृद्धि गर्न उत्पादनमा विविधता ल्याउन सक्नुपर्ने बताउँछन् । पूर्वाधार सुधारमा ध्यान नदिँदा र चिनियाँ बजारको आवश्यकताअनुसार उत्पादन अनुकूल बनाउन नसक्दा चीनतर्फ निर्यात बढ्न नसकेको उनको बुझाइ छ । चीनसँग भएका द्विपक्षीय समझौताहरूलाई प्रभावकारी रूपमा लागु गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल र चीनबीच सीमावर्ती नाकामा समस्या रहेको सम्वद्ध व्यवसायी बताउँछन् । रसुवागढी र तातोपानी नाकामा बारम्बार समस्या आइरहने तथा कतिपय अवस्थामा सीमित समयमात्र खुल्ने वा प्रक्रियागत ढिलाइ हुने भएकाले निकासीमा समस्या रहेको उनीहरुको भनाइ छ । यसैगरी नेपालतर्फ पुग्ने सडक, भन्सार, गोदाम सुविधा आदि कमजोर हुँदा सामान ढुवानीमा कठिनाइ हुने गरेको छ । चीनले आयातमा उच्च मापदण्ड राख्ने हुँदा नेपाली सामानहरू प्रायः त्यहाँको गुणस्तर, प्याकेजिङ, लेबलिङ आदि मापदण्डमा खरो उत्रन सक्दैनन् । नेपाली सामानलाई चिनियाँ अधिकारीहरूले कडाइका साथ परीक्षण गर्ने हुँदा प्रक्रिया लामो हुन्छ र नेपाली वस्तु सहजै चीन प्रवेश गर्न सक्दैनन् ।

नेपालले चीनलाई पठाउन सक्ने वस्तुहरूको संख्या ८ हजारभन्दा बढी रहे पनि त्यसको दायरा भने सीमित छ । पश्मिना, जडीबुटी, हस्तकला सामग्री, फलफूल आदि वस्तुमा छुट सुविधा भए पनि यी वस्तु ठूलो परिमाणमा उत्पादन हुँदैनन् । अर्कोतर्फ चिनियाँ बजारमा सस्तो र प्रविधिमैत्री वस्तु चाहिने भएकाले नेपाली वस्तु प्रतिस्पर्धी हुन नसकेको व्यवसायीहरुको भनाइ छ । यद्यपि, दुई मुलुकबीच भएका व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन भएको छैन । जसका कारण नेपाल र चीनबीच केही शुल्कमुक्त सुविधा भए पनि तिनको उपयोग प्रभावकारी रूपमा भएको छैन । सरकारले चीनतर्फ निर्यात बढाउने विशेष योजना, अनुदान वा प्रवद्र्धन कार्यक्रम पर्याप्त ल्याउन नसकेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्