सरकारी अस्पतालका क्यान्टिनमा लेबल नभएका खाद्यवस्तु बिक्री

काठमाडौं– राजधानीका ठूला सरकारी अस्पतालमा सञ्चालित चमेना गृह (क्यान्टिन)मा सरसफाइ कमजोर रहेको र लेबल नभएका खाद्यवस्तु बिक्री हुने गरेको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा यस्तो कैफियत देखिएको हो ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार महानगरसँगको सहकार्यमा विभागका खाद्य विश्लेषक सुशन निरौलाको नेतृत्वमा अनुगमन भएको थियो । टोलीले सोमबार मोबाइल भ्यानमार्फत वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा अनुगमन गरेको थियो । यसैगरी मंगलबार शिक्षण अस्पताल महाराजगन्जमा सञ्चालित चमेना गृहको अनुगमन गरी खाद्य पदार्थको स्थलगत नमुना परीक्षण गरिएको थियो । ठूला सरकारी अस्पतालका क्यान्टिनमा सरसफाइ नभएको र खाद्य पदार्थमा लेबलको विवरण पूर्ण नभएको फेला परेको प्रवक्ता महर्जनले जानकारी दिए ।
‘धेरैजसो अस्पतालको क्यान्टिनमा राखिएका बेकरी आइटममा लेबल नभएको पाइयो । खाद्य पदार्थ अधिक सञ्चयन तथा प्रयोग गरेको, भाँडा धुने तथा खाना पकाउने ठाउँ सँगसँगै रहेको र पकाएको र नपकाएको खाद्य पदार्थ सँगसँगै भण्डारण गरेको पाइएको छ,’ उनले भने । क्यान्टिनमा बिक्रीवितरण भइरहेका पिउने पानीको ३ वटा, दूधको एउटा, महको एउटा र तेलको एउटा नमुना विभागको मोबाइल फुड ल्याब भ्यानमा परीक्षण गरिएकोमा नमुनामा भने कैफियत नभेटिएको उनले जानकारी दिए । क्यान्टिनलाई तीन दिनभित्र सरसफाइमा सुधार गरी खाद्य स्वच्छतामा ध्यान दिन, पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै राख्न र लेबल विवरण पूरा भएका खाद्य पदार्थ प्रयोग गर्न निर्देशन दिइएको छ ।
प्रवक्ता महर्जनका अनुसार वीर अस्पतालमा सञ्चालित गुजेश्वरी होटलमा निरीक्षण गर्दा सरसफाइ सन्तोषजनक नरहेको, दूधमा लेबल विवरण पूर्ण नभएको, फ्रिजमा भण्डारण व्यवस्थित नपाइएको तथा पकाएको र नपकाएको खाद्य पदार्थ सँगसँगै भण्डारण गरेको पाइएको छ । खाद्य पदार्थ नमुना परीक्षणमा भने कैफियत भेटिएन । गुजेश्वरी होटललाई पनि तीन दिनभित्र सरसफाइमा सुधार गरी खाद्य स्वच्छतामा ध्यान दिन, पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै राख्न र लेबल विवरण पूरा नभएका खाद्य पदार्थ नष्ट गरी पूर्ण लेबल विवरण भएको खाद्य पदार्थ प्रयोग गर्न निर्देशन दिइएको छ ।
शिक्षण अस्पतालमा सञ्चालित एमबी चमेना गृह निरीक्षण गर्दा सरसफाइ तथा ड्रेनेजको अवस्था सुधार गर्नुपर्ने देखिएको, चमेना गृहको झ्याल तथा ढोकामा जाली लगाउनुपर्ने देखिएको, फोहोरको व्यवस्थापनमा सुधार गर्नुपर्ने देखिएको र भूइँको टायल फुटेको पाइएको थियो । क्यान्टिनमा बिक्रीवितरण भइरहेका पानी तथा खाद्य पदार्थको नमुना परीक्षणमा भने कैफियत भेटिएन । सरसफाइ तथा ड्रेनेजमा सुधार गर्न, फोहोर व्यवस्थापन गर्न र भूइँ तथा भित्ताको टायल मर्मत गरी सुधार गर्न निर्देशन दिइएको छ ।
शिक्षण अस्पतालमै सञ्चालित सिद्धार्थ स्वीट एण्ड बेक्समा अनुगमन गर्दा सरसफाइमा सुधार गर्नुपर्ने देखिएको, केही खाद्य पदार्थमा लेबल विवरण पूर्ण नभएको, खाद्य पदार्थ सञ्चयन तथा प्रयोग गरेको र भाँडा माझ्ने तथा खाना पकाउने ठाउँ सँगै रहेको पाइएको थियो । अस्पतालभित्र सञ्चालन भएका सबै क्यान्टिन तथा होटललाई तीन दिनभित्र सरसफाइमा सुधार गर्न तथा खाद्य पदार्थको भण्डारण व्यवस्थित गर्न निर्देशन दिएको उनले जानकारी दिए ।
प्रवक्ता महर्जनका अनुसार खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमन कार्यमा सहकार्य गर्न गत चैत ४ गते विभाग र महानगरपालिकाबीच समझदारी गरिएको थियो । समझदारीअनुसार विभाग र काठमाडौं महानगरले पछिल्लो समय विभिन्न अस्पताल तथा होटलको अनुगमन गरिरहेका छन् ।