Logo

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टिबारे उल्लेख गर्दै भने, ”उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरेका छन् ।

प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) लाई उक्त सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरुको संघर्षमा आधारित पुस्तक ‘सेल्टर’ को विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्