बेइजिङमा नेपाली रैथाने खाना महोत्सव सम्पन्न

काठमाडौं– बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा ‘नेपाली खाना महोत्सव २०२५’ भएको छ । नेपालको मौलिक रैथाने खानाको विशिष्ट स्वाद पस्कन र प्रवर्द्धन गर्नसमेत यो कार्यक्रम सफल भएको बताइएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं दौत्य सम्बन्ध र चीनमा नेपाल भ्रमण वर्ष २०२५ को उपलक्ष्यमा आयोजित कार्यक्रममा रैथाने खाना प्रवर्द्धनले महत्त्वपूर्ण सहयोग पर्याएको होटल संघ नेपालले जनाएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भिडियो सन्देशमार्फत नेपाली रैथाने खानामार्फत समग्र पर्यटन प्रवर्द्धनको अविष्मरणीय अनुभव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले विश्वका अन्य भाग भन्दा अद्वितीय प्रामाणिक नेपाली खानाको समृद्धिबारे प्रकाश पार्नुका साथै सहभागीलाई नेपालका परम्परागत परिकारको आनन्द लिन नेपाल भ्रमण गर्न आग्रह गरे । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको मौलिक र रैथाने खानालाई विश्वव्यापीकरण गर्न विगतदेखि नै होटल संघ नेपालले कार्यक्रमहरु गरिरहेको बताए ।
कार्यक्रममा होटल संघ नेपालले दुईजना विज्ञ नेपाली सेफहरु उपलब्ध गराएको थियो । कार्यक्रममा विश्व पर्यटन गठबन्धनका उपाध्यक्ष सु पेङ, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेजका उपमहासचिव जिन झान लिनले नेपाल र चीनको सांस्कृतिक र पर्यटन उद्योगहरू बीचको सहकार्यलाई सुदृढ पार्नुपर्नेमा जोड दिए ।
महोत्सवमा सेलरोटी, मोमो, योमारी, जुजु धौ, कागुनिको शीर, चतामारी, चोइला, बारा, गुन्द्रुक र मुस्ताङ आलु लगायतका नेपाली परिकारहरू प्रस्तुत गरिएको थियो। यसका साथै कार्यक्रममा थाङ्का, स्ट्याचु, पश्मिना, गायन कचौरा, कार्पेट, गहना आदि जस्ता विभिन्न नेपाली हस्तकलाका वस्तुहरू, नेपाली चिया र पानी प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपाली संस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा चिनियाँ सरकारी अधिकारीहरू, बोलिभिया, बुल्गेरिया, भारत, जापान, श्रीलंका र पानामाका राजदूतहरू सहित कूटनीतिक समुदायहरू; विश्व पर्यटन गठबन्धनका सदस्यहरू, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेज, ट्राभल एण्ड टुर कम्पनीहरू, नेपाली र चिनियाँ समुदायहरू र मिडिया लगायत चार सयभन्दा बढी सहभागीहरू उपस्थित थिए ।