सात दशक पुरानै संरचनामा सिमरा विमानस्थल

बारा– मुलुककै प्रमुख व्यावसायिक क्षेत्रमा सञ्चालित नेपालकै पुरानो सिमरा विमानस्थल सात दशक अघिकै संरचनामा सञ्चालन भइरहेको छ । जसको कारण निजी विमान कम्पनी र यात्रुहरू समस्यामा परेका हुन् । निजी विमान कम्पनीले रनवे साँघुरो हुँदा एटीआर–७२ पूर्ण रूपले सञ्चालन गर्न नपाउँदा सहज भाडासँगै कम उडानमा धेरै यात्रु ओर्सान नसकेको बताएको छ । योसँगै पुरानो टर्मिनल भवनले आन्तरिक हवाई यात्रु आवागमनमा सुविधा र सहजता दिन सकेको छैन ।
पुरानै टर्मिनल बिल्डिङ रहेको, विमान पार्किङ अभाव हुनुका साथै तीन सय मिटर थप धावनमार्ग निर्माण नहुँदा बज्र क्राफ्ट, एटिआर जस्ता ठूला विमान पूर्ण रूपमा उडान र अवतरण गर्न नमिल्ने हुँदा बुद्ध एयरले ४७ सिट क्षमता भएको एटिआर–४२ बाट यात्रु ओसार पसार गराउने गरेका नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ । १५ सय मिटर धावन मार्ग आवश्यक पर्ने हुँदा हाल विमानस्थलको रनवे ११ सय ९२ मिटर रहेको छ ।
विमानस्थलसँगै टासिएको उत्तरतर्फको एक दर्जन अग्ला रुख र ३ वटा पक्की घरहरूको कारण उत्तर क्षेत्रबाट अवतरण तथा उडान हुन नसकी दक्षिणी एकतर्फी उडान र अवतरण हुँदा ७ मिनेट बढी उडान समय लाग्ने गरेको छ । यसले इन्धन खर्च हुँदा एटीआर–७२ विमानलाई उडान र अवतरण गराउन नसक्दा यात्रुलाई भाडा दर महँगो पर्न गएको निजी विमान कम्पनीहरूले यसअघि नै जनाएका छन् ।
उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले गत शनिबार सिमरामा आयोजित अर्थ मन्त्रालय राजस्व परामर्श समितिको छलफलमा समितिका सचिव, महानिर्देशकहरूलाई व्यावसायिक सहरमा सञ्चालित ७० वर्षे पुरानो सिमरा विमानस्थलको तीन सय मिटर रनवे र नयाँ टर्मिनल भवन बनाउन बजेट विनियोजन गराइदिन माग गरेका थिए । राजपालको उक्त माग आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनुपर्ने भन्दै सहभागी सबै उद्योगी व्यवसायीले समर्थन गरेका थिए ।
सिमराबाट काठमाडौं भाडा दर प्रत्येक यात्रुले दिने चार सय राजस्वसहित चार हजार एक सय रहेको छ । जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले विसं २ हजार ८ सालमा टविनेटर विमान उडान र अवतरण गर्न बनाइएको संरचनामा सरकारले हालसम्म सामान्य सुधार नगर्दा श्री, गुण एयरलाइन्सका विमान कम्पनीले सिमराबाट सेवा बन्द गरेका छन् । यतिको सेवा रोकिँदा यात्रु र राजस्व दुवैलाई घाटा परेको शर्माले बताए ।
यतिले थालेको पर्वतीय उडान, सिमरा–पोखरा उडानस्थगित हुँदासमेत प्राधिकरण गम्भीर नबनेको उनको भनाइ छ । नागरिक उड्डयन कार्यालय सिमराका प्रमुख विष्णुप्रसाद अधिकारीले सुधार गर्नु पर्ने सबै संरचनाका बारेमा वर्षौंअघि पत्राचार भइसके पनि बजेट अभावले काम हुन नसकेको बताए । रक्सौल नाका हुँदै भित्रने भारतीय पर्यटक, पथलैया–वीरगन्ज औद्योगिक कोरिडोरका उद्यमी, व्यापारी, नेता, बारा, पर्सा, रौतहट, मकवानपुरका सर्वसाधारणले सिमरा विमानस्थल प्रयोग गर्दै आएका छन् ।