Logo

कृषकलाई वितरण गर्न धानको बीउ उत्पादन गर्दै पालिका

नेपालगन्ज- बाँकेको डुडुवा गाउँपालिकाले किसानलाई वितरण गर्न धानको मूल बीउ उत्पादन सुरु गरेको छ । पालिकाले आफ्नै किसानसँग धान खरिद गरी उन्नत जातको बीउ प्रशोधन गर्न सुरु गरेको हो । डुडुवा गाउँपालिका कृषि शाखाका प्रमुख सुशीलकुमार शर्माका अनुसार किसानबाट खरिद गरिएको उन्नत जातको १४ मेट्रिक टन धान कृषि प्रशोधन केन्द्रमा भण्डारण गरिएको छ ।

‘उक्त धानको मूल बीउ उत्पादन गरी पालिकाले १४२ क्विन्टल भण्डारण गरेको छौं,’ उनले भने, ‘उन्नत जातको बीउ करिब दुई सय दुई हेक्टर क्षेत्रफललाई पुग्ने गरी तयार गरिएको छ ।’ गाउँपालिकाका किसानले उत्पादन गरको उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर भण्डार गरिएको उनको भनाइ छ ।

धानको बेर्ना लगाउने याममा पालिकाले किसानलाई बीउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताए । उनका अनुसार किसानलाई बीउ वितरण गर्न कति अनुदान तथा कसरी वितरण गर्नेबारे कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गरिने छ । डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ ।

पहिलो पटक धानको बीउ उत्पादन गरेको पालिकाले यस वर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ । २४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएइकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए । उनले अहिले गहुँ भित्र्याउने समय रहेकाले अब केही दिनभित्रै गहुँ खरिद गरी ल्याब परीक्षणको प्रक्रिया अघि बढाइने बताए । किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ ।

डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्‍याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको उनको भनाइ छ । ‘बीउ उत्पादन तथा भण्डारणपछि यहाँका कोही पनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन,’ उनले भने, ‘पालिकाले सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्नेछ ।’

खासगरी बीउमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । अध्यक्ष चौधरीका अनुसार बीउ उत्पादन प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्