Logo

लिफ्ट सिँचाइले सात हेक्टर जमिनमा सिँचाइ

जुम्ला- तातोपानी गाउँपालिका-६ स्थित धौलापानीमा निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजनाले सात हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । स्याउखेती भइरहेको र सिँचाइ अभावले बाँझिदै गएको सात हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको हो । जुम्लामै पहिलो बत्तीबाट सञ्चालन हुने लिफ्ट सञ्चालन गरेपछि १६ हजार बढी स्याउका बिरुवा रोपिएको धौलापानीको बृहत् बगैंचामा सिँचाइ सुविधा पुगेको हो ।

बत्तीबाट सञ्चालन हुने पहिलो लिफ्ट सिँचाइ तथा सेन्सरबाट सिँचाइ मलजल पत्ता लगाउने प्रविधिको सोमबार अनुगमन गरिएको छ । प्रतिनिधिसभा सदस्य विनिता कठायत, कर्णाली प्रदेशसभा सदस्यद्वय टेकराज पछाई र देवेन्द्रबहादुर शाही, जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले योजनाको अनुगमन गरे ।

विगतका वर्षमा सुक्खा रहेको जमिनमा तिला नदीबाट ७६ मिटर उचाइमा २१० मिटर पाइप लाइनबाट पानी ल्याएर सिँचाइ विस्तारको काम गर्ने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको तीनैजना सांसदले प्रशंसा गरे । अन्य पालिकाले पनि तातोपानीबाट कृषि, सिँचाइ, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका कुरा सिक्नुपर्नेमा समेत जोड दिए । जुम्लाको समृद्धि र किसानको आयआर्जनको मुख्य स्रोत स्याउखेतीलाई मध्यनजर गरी करिब १६ हजार बिरुवामा सिँचाइ पुग्ने लक्ष्यका साथ ४४ लाख खर्चेर विद्युतबाट चल्ने लिफ्ट बनाइएको हो ।

यूएनडिपीको आर्थिक सहयोगमा सञ्चालित रेरास परियोजना पालिकाको समन्वयमा लिफ्ट सिँचाइ बनाएको हो । बत्तीको लाइन विस्तार, पम्प जडान, सानो घर निर्माण, नौवटा धारा निर्माण तथा ट्यांकी घेराबार निर्माणमा ४४ लाख खर्च भएको छ । कर्णालीमै पहिलो प्रविधिका रुपमा धौलापानीको बृहत् बगैंचामा माटोमा सिँचाइको मात्रा, मलको मात्रा थाहा पाउने सेन्सर जडान गरिएको छ । निकट भविष्यमै सिँचाइ पनि सेन्सरबाटै हुने र किसान सिँचाइका लागि बारीमा पुग्नै नपर्ने प्रविधि जडानको तयारी भएको यूएनडिपिका प्रतिनिधि ऋषिराम ओलीले बताए ।

परियोजनाका प्राविधिक लोकबहादुर डाँगीका अनुसार ४४ लाख खर्चेर बनाइएका लिफ्ट सिँचाइले सात हेक्टरमा सिँचाइ पुगेको छ भने दुईवटा साना र एक ठूलो ट्यांकी बनाइएको छ । लिफ्ट सिँचाइ निर्माणपछि सिँचाइका दु:ख अन्त्य भएको स्थानीय भक्तबहादुर विष्टले बताए । उनका अनुसार समूहमार्फत पालैपालो बगैंचामा सिँचाइ गर्ने गरिएको छ ।

सांसद विनिता कठायत, प्रदेशसभा सदस्य टेकेराज पछाई, देवेन्द्रबहादुर शाहीले विद्युतलाई उत्पादन र कृषिसँंग जोडेर किसानलाई राहत हुने काम गरेकोमा तीनैजना सांसदले गाउँपालिकालाई धन्यवाद दिए । तातोपानीले जनताका पक्षमा गरेका काम निकै अनुसरणयोग्य रहेको उनीहरुको भनाइ छ । जुम्लालाई कृषिको हब बनाउन सिँचाइ विस्तार, उत्पादनको बजारीकरण र मूल्य निर्धारणमा समेत ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्ईंले आफू निर्वाचित भएपछि तातोपानीमा–८–१० लिफ्ट सिँचाइ योजना अलपत्र परेको देखेपछि मर्मतमै लगानी जुटाएर सिँचाइ विस्तार गरेको बताए । सबैको साथ सहयोगले तातोपानीलाई जिल्लाकै नमुना पालिका बनाउने अठोट रहेको उनको भनाइ छ । रेरासले ६० लाख र ४४ लाख लगानीमा धौलापानी क्षेत्रमै २ वटा लिफ्ट सिँचाइ बनाएको छ । जसमा १६ वटा धारा निर्माण भएका छन् भने जसबाट १६ सय बिरुवामा नियमित सिँचाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्