Logo

रैथाने बालीको प्रयोग बढाऔं: मुख्यमन्त्री आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवन शैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताए । ‘समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल: स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच’ भन्ने मूल नाराका साथ आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा मुख्यमन्त्री आचार्यले रैथाने खाद्यान्न बालीमा पोषणको मात्रा अधिक रहेको भन्दै रैथाने बालीको संरक्षण, सम्वर्द्धन र प्रयोगमा आधारित नीति लिइने बताए ।

उनले खेती प्रणालीलाई अर्गानिक बनाउनु पर्नेमा पनि जोड दिए । ‘रैथाने बालीको संरक्षण, उत्पादन र प्रयोग गर्न सरकारले नीति निर्माण गर्नेछ । पोषण प्रवर्द्धन एक्लो प्रयासले सम्भव हुँदैन । यसमा तीन तहका सरकार, सामाजिक संघ संस्था र समुदायको सहभागिता आवश्यक छ,’ मुख्यमन्त्री आचार्यले भने । उनले विशेष योजना बनाएर जनताको घरदैलोमा पुग्न जरुरी रहेको र विद्यालय तहमा यसलाई अभियानका रूपमा लैजानुपर्ने उल्लेख गरे ।

मकै, गहुँ, जौं, फापर, कोदोजस्ता रैथाने बाली ओझेलमा परेको भन्दै संरक्षण, प्रवर्द्धन र प्रयोगमा आधारित नीति आवश्यक भएको उनको भनाइ छ । प्रदेशमा सर्ने रोगको अवस्था बढ्दो रहेको र यसले चिन्ता थपेको भन्दै विषादी प्रयोग नगरी खाद्यान्न तथा तरकारी उत्पादनलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे । लुम्बिनी प्रदेशमा कुपोषणको अवस्था बढ्दो रहेको, मातृ मृत्युदर, बाल मृत्युदर र बालविवाह जस्ता समस्या उच्च हुनु चिन्ताको विषय भएको र सुधारका लागि सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले आचार्यले बताए ।

जनचेतना अभिवृद्धिका लागि समुदाय केन्द्रित अभियान थालिने र मिडिया क्षेत्रले पनि यसमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । अशल खानपान सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको थियो । लुम्बिनी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव घनश्याम चौधरीले प्रदेश खाद्यान्न, माछा, मासु र दूधमा आत्मनिर्भर भए पनि अन्य क्षेत्रमा अझ सुधार आवश्यक रहेको उल्लेख गरे ।

चौधरीका अनुसार लुम्बिनीमा पुड्कोपनाको अवस्था २५ प्रतिशत, ख्याउटेपना १६ प्रतिशत, कमतौल २३ प्रतिशत तथा पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता ४९ प्रतिशत रहेको छ । प्रजनन उमेर (१५–४९ वर्ष) समूहका महिलामा पनि ४४ प्रतिशतमा रक्तअल्पता देखिएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका शाखा अधिकृत चन्द्रप्रकाश बस्नेतले प्रस्तुत गरेको तथ्यांकअनुसार नेपाल विश्व खाद्य जोखिम सूचकांकमा १२औं स्थानमा रहेको छ ।

उनका अनुसार हाल नेपालमा कुल जनसंख्याको ५७ प्रतिशतमात्र खाद्य सुरक्षाको अवस्था पुगेको छ भने बाँकी आंशिक वा पूर्णरूपमा खाद्य असुरक्षाको जोखिममा छन् । पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले विषाक्त खाद्य र पत्रु खानाले मानव स्वास्थ्यमा समस्या उत्पन्न गराएको भन्दै पोषणयुक्त खानाको मात्रा सुनिश्चित गर्नुपर्ने बताए ।

डब्लुएचएचका कन्ट्री डाइरेक्टर शकिब नबी, जिल्ला समन्वय समिति महासंघ लुम्बिनीका अध्यक्ष द्रोण खत्रीले गाउँपालिका महासंघका सदस्य भक्तबहादुर जिसीले पोषण सुधारका लागि सरकारी तथा गैरसरकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले गुणस्तरीय र पोषणयुक्त उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

गैरसरकारी संस्था महासंघ लुम्बिनीकी अध्यक्ष जितकुमारी बेल्वासे (सुशीला)ले किशोरीमा कुपोषणको अवस्था बढ्दो रहेको भन्दै तिनीहरूलाई लक्षित पोषण नीति आवश्यक रहेको बताइन् । कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, प्रदेश सरकारका उच्चपदस्थ कर्मचारी तथा सरोकारवाला निकायका प्रमुखको सहभागिता रहेको थियो । सहभागी वक्ताहरूले खाद्य सुरक्षालाई विकासको आधार शिला मान्दै यस क्षेत्रमा गम्भीर नीतिगत हस्तक्षेपको आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्