Logo

दुई करोडमा ज्येष्ठ नागरिक भवन बन्ने

जुम्ला- तातोपानी गाउँपालिका-५ स्थित फानचौरमा ज्येष्ठ नागरिकका लागि सुविधा सम्पन्न पक्की भवन निर्माण हुने भएको छ । पालिकाभित्रका सम्पूर्ण ज्येष्ठ नागरिकको आश्रयका लागि पालिकाको पहल तथा संघीय सरकारको दुई करोड बढी लगानीमा सुविधायुक्त भवन निर्माण हुने भएको हो ।

चालु आवभित्रै सम्पन्न हुने ज्येष्ठ नागरिक संघको भवन निर्माणको सोमबार शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य विनिता कठायतले भवन निर्माणको शिलान्यास गरेकी हुन् । पालिका अध्यक्ष नन्दप्रसाद चौलागार्ईंको समन्वय तथा पहल र सांसद कठायतकै पहलमा ज्येष्ठ नागरिक संघको भवन निर्माणको बजेट विनियोजन भएको हो ।

चालु आवमा कार्यान्वयन हुने गरी संघीय सरकारले दुई करोड पाँच लाख विनियोजन गरेपछि जिल्लाका आठ पालिकामध्ये तातोपानीमा पहिलो ज्येष्ठ नागरिकको सुरक्षार्थ भवन गर्न लागिएको सांसद विनिता कठायतले बताइन् । हरेक व्यक्ति भविष्यमा ज्येष्ठ नागरिक बन्छ । तर गाउँ घरमा छरिएर रहेका ज्येष्ठ नागरिकलाई एकै छहारीमा ल्याउन, सुख दु:ख साट्ने वाताबरण बनाउन भवन निर्माणको पहल गरेका हौं ।

उनले भनिन्, ‘भवन निर्माणपछि तातोपानीका ज्येष्ठ नागरिकलाई राहत पुग्ने छ । संघीयतापछि ज्येष्ठ नागरिक संघको कमिटि पालिकास्तरमा गठन भएका छन् । जसमध्ये जिल्लामै पहिलो तातोपानीले आफ्नो भवन बनाउन सफल भएको छ । गुणस्तर संरचना निर्माण र भवन संचालनमा ध्यान दिन आबश्कय छ ।’ दुई करोड लगानीमा बन्ने भवनको ठेक्का आह्वान भएर निर्माण व्यवसायी काम गर्नका लागि तयारी अवस्थामा रहेको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं पहिलो वर्ष एकतले सुविधायुक्त भवन निर्माण हुने बताउँछन् । उनी भन्छन्, ‘जिल्लाका आठ पालिकामध्ये तातोपानीमा हामीले ज्येष्ठ नागरिकका समस्या सुनेर भवन निर्माणको प्रक्रिया बढाएका छौं । आवश्यकतानुसार पालिकाले पनि सहयोग गर्दै आएको छ । करोडौमा बन्ने संरचना गुणस्तर र भरपर्दो निर्माणमा ध्यान दिन सुवाव दिएका छन् ।’

उनका अनुसार भवनभित्र बैठक कक्ष, मनोरञ्जन हल, पदाधिकारी कार्यकक्ष, खानेपानी धारा, शौचालय, घेराबार, कार्यालय परिसर लगायतका संरचना निर्माण हुनेछ । भवन निर्माण हुने भएपछि तातोपानीका ज्येष्ठ नागरिक उत्साहित छन् । जिल्लामा भएको भवनमा प्राय: जिल्ला समितिका पदाधिकारी बस्ने गरेका छन् ।

ज्येष्ठ नागरिक संघ तातोपानीका अध्यक्ष दल खड्का भन्छन्, ‘सबै बजार जान पाएक हुँदैन । पालिकास्तरमा संघ गठनपछि निरन्तर पालिकामा माग गरेका थियौं । गाउँपालिका अध्यक्षले पहल गरिदिएपछि सांसद कठायतले बजेट विनियोजन गरिदिनुभयो । अन्तत: भवन बन्ने भयो । निकै खुसी छौं ।’

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय मातहत भवन बन्ने छ भने पालिकाले गुणस्तरदेखि संरचना निर्माणको गतिलाई नियमित निरिक्षण गर्नेछ । जिल्लाका आठै पालिकामा ज्येष्ठ नागरिक संघ विस्तार भए पनि तातोपानीबाहेक अन्यले भवन बनाउन सकेका छैनन् ।

लाखौं पर्ने जग्गा दान
तातोपानीमा जिल्लाकै ज्येष्ठ नागरिक संघको भवन निर्माणका लागि तातोपानी गाउँपालिका-५ निवासी मनशोभा चौलागार्इंले नि:शुल्क प्रदान गरेकी छन् । पालिकास्तरीय ज्येष्ठ नागरिक संघको भवन निर्माणका लागि फानचौरमा रहेको २ हजार २० वर्गमिटर जग्गा नि:शुल्क दान गरेकी हुन् । ज्येष्ठ नागरिक भवन निर्माण गर्ने कुरा चले पनि जग्गा अभावले रोकिएको थियो । तर गाउँपालिका अध्यक्षका आफन्त नै जग्गा दिन सहमत भएपछि भवन निर्माणको बाटो खुलेको हो ।

तातोपानी-५ स्थित फानचौरमा रहेको कित्ता नम्बर ५(ग)को कित्ता नम्बर ६० को २ हजार २० वर्गमिटर क्षेत्रको जग्गा ज्येष्ठ नागरिक संघको नाममा नामसारी लापुर्जासमेत प्रदान गरिएको छ । फानचौरी परिवारले लाखौ पर्ने जग्गा ज्येष्ठ नागरिकको आर्शिवाद स्वरुप कुनै मोलमोलाई नगरी ज्येष्ठ नागरिक संघका नाममा जग्गा दिएका थिए । फान्चौरी परिवार र ज्येष्ठ नागरिक संघ तातोपानीबीच जग्गा दिनेबारे सहमति पत्रमा भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस्