Logo

जाजरकोटमा सडकसँगै पुल निर्माण सुरु

वीरेन्द्रनगर- पश्चिम जाजरकोटलाई सडक सञ्जालसँग जोडनका लागि तीनवटा पुलसँगै सडकको स्तरोन्नतिको काम सुरु गरिएको छ । कच्ची सडक निर्माण भएको दशकपछि यहाँ तीनवटा पुल तथा सडक स्तरोन्नतिको काम सुरु गरिएको हो । भेरी करिडोरसँग जोडिएको शिवालय गाउँपालिका–१ छेडा बजारबाट छेडागाड नगरपालिकामा मध्यपहाडी राजमार्गसँग जोडिएर जुनिचाँदेबाट जुम्ला जोडने सडक खण्ड तथा सहायक सडकमा पुल निर्माणको काम सुरु गरिएको छ ।

स्तरोन्नतिको क्रममा रहेको यो सडकको बीचमा रहेको जाजरकोटको शिवालय गाउँपालिका–९ र छेडाघाट नगरपालिका–१ को बीचमा रहेको जोड्ने रिठ्ठे खोलामा पक्की पुल निर्माण कार्य सुरु गरिएको हो । तीन करोड १२ लाख रुपैयाँमा आशीष आर्शिवाद जेभी चितवनले पुल निर्माणको ठेक्का पाएको छ । २०८० चैत २८ गते सम्झौता भएकोमा पुल निर्माण गर्ने अन्तिम मिति २०८२ चैत २६ गते रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइका प्रमुख हरि ओलीले जानकारी दिए ।

आयोजना कार्यान्वन एकाइका प्रमुख ओलीले भने, ‘शिवालयको मोर्कदेखि वडावनसम्मको १७ किलोमिटर सडकको स्तरोन्नतिसँगै पुल निर्माणको काम चलिरहेको छ । अहिलेसम्म हामीले २३ प्रतिशत भौतिक प्रगति प्राप्त गरेछौं । ५० करोड १२ लाखमा सडक तथा पुल निर्माण हुने गरी सम्झौता भएको छ ।’ पश्चिम जाजरकोटको लाइफलाइन सडक पनि यही रहेको छ । त्यस्तै पूर्वाधार विकास कार्यालय जाजरकोटले छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–५ को बीचमा रहेको लामातरामा बेलिब्रिज पुल निर्माण कार्य सुरु गरिएको छ ।

बेलिब्रिज निर्माण गर्नका लागि तीन करोड ६८ लाख रुपैयाँमा गौरव हान्दिक इन्जिनियरिङ जेभी भरतपुर—१६ चितवनसँग सम्झौता भएको छ । २०८१ फागुन २२ गते सम्झौता भएको छ भने २०८२ माघ २५ गतेभित्र निर्माण कार्य पूरा गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यो सहायक सडकमा निर्माण हुने बेलिब्रिज पुल हो । त्यस्तै छेडागाड नगरपालिकाको वडा ५ र १२ जोड्ने मनघाट खोलामा बेलिब्रिज पुलको निर्माण कार्य समेत सुरु भएको छ ।

छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्रसमेत रहेको छेडागाडमा उक्त पुल निर्माण कार्य सुरु भएसँगै पालिकामा जान र आउन सहज हुने स्थानीयबासीको बुझाइ छ । संघ सरकारले उपलब्ध गराएको सामग्री प्रदेश सरकारले जडान गर्न लागेको हो । लामो समयदेखि पुलका सामान अलपत्र पारेर चालु आवमा पुल जडान गर्न बजेट विनियोजन भएपछि पुलको काम सुरु भएको छ । बेलिब्रिज जडान गर्नका लागि दुई करोड एक लाख रुपैयाँमा अजा निर्माण सेवाले ठेक्का पाएको छ ।

२०८१ चैत २२ गते सम्झौता भएकोमा २०८२ चैत २२ गते निर्माण कार्य पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तोकिएकै समयमा पुल निर्माण भएमा पश्चिम जाजरकोटका स्थानीयबासीका लागि यात्रा सहज हुने छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए । प्रदेश सरकारले निर्माण गर्न लागेका यी सबै पुल समयमै निर्माण गरी पश्चिम जाजरकोटका नागरिकलाई विकासको अनुभूति गर्न मद्दत पुग्ने आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए । तीनै वटा पुल मन्त्री शाहकै निर्वाचन क्षेत्र रहनुका साथै नै शिलान्याससमेत उनैले गरेका छन् ।

छेडा–कचाली–जुम्ला सडक खण्डभित्र पर्ने छेडागाड नगरपालिकाको साल्म खोला मोटरेबल पुलसमेत निर्माण व्यवसायीले काम नगर्दा अलपत्र पर्दै आएको छ । २०७८ साउन २९ गते पुल निर्माण गर्न ठेक्का लगाएको भए पनि नेपाल मेगा–सिस्ने जेभी नेपालगन्ज–२ बाँकेले काम नगर्दा अलपत्र पर्दै आएको छ । यो पुल निर्माण नहुँदा छेडागाड, जुनिचाँदे जान र आउन समस्या समस्या हुँदै आएको छ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले यो ठेक्का खोलेको थियो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइले निर्माण गर्न लागेको सडकसमेत यही भागमा पर्छ । पुल निर्माणको ढिलाइले आयोजना कार्यान्वयन एकाइलाई समेत काम गर्न मुस्किल हुने अवस्था सिर्जना भएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए । यही पुललगायत कर्णालीमा अलपत्र ३५ योजनालाई अगाडि बढाउनका लागि मुख्यमन्त्री यामलाल कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा, जिल्लास्थित कार्यालय र निर्माण व्यवसायीसँग छलफल समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्