Logo

पुरुष विदेशिएपछि गाउँको विकास निर्माणमा महिला

रोल्पा- देशमा रोजगारीको अवसर छैन भन्दै युवाहरू दिनप्रतिदिन विदेशिनेको संख्या बढ्दो क्रममा छ । गाउँका विकास निर्माणमा भने कामदारको अभावसँगै दक्ष जनशक्तिको अभाव हुन थालेको छ । गाउँमा हुने विकास निर्माणको काममा भने कमै मात्रामा युवाहरूको सहभागिता देख्न सकिन्छ । त्यसमा पनि महिलाको तुलनामा पछिल्लो समय कमै मात्रामा विकास निर्माणको काममा पुरुषको सहभागिता देख्न सकिन्छ ।

पुरुषहरू धन कमाउनका लागि विदेश पलायनले गर्दा गाउँघरमा हुने विकास निर्माणको काममा पुरुषको सहभागिता न्यून छ, गाउँघरका विकास निर्माणका विभिन्न योजनामा महिलाहरू अगाडि बढेका छन् । जिल्लामा विकास निर्माणका काम धमाधम भइरहेका छन् । चालु आर्थिक वर्षका विकास योजनाको काम असार मसान्त अगावै सक्नुपर्ने बाध्यता छ । अहिले स्थानीय तहहरूमा संघ, प्रदेश र स्थानीय सरकारका विकास योजना समयमा सक्नुपर्ने चटारो छ ।

रोल्पाका अधिकांश स्थानीय तहमा महिलाले गाउँको बाटो, सडक, खानेपानी, स्वास्थ्य संस्था एवं विद्यालयका भौतिक पूर्वाधार विकास निर्माणका काम गर्ने गरेका छन् । जिल्लामा संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित विभिन्न विकासका योजनामा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको हो । गाउँघरका विकास निर्माणमा पुरुषको सहभागिता कम हुनुमा गाउँमा लामो समयका लागि रोजगारीको अवसर नभएको स्थानीय बताउँछन् ।

गाउँघरमा छोटो समयका लागि मात्र विकास निर्माणका काम हुने हुँदा कम समयका लागि मात्र रोजगारी पाइने लुंग्री गाउँपालिकाका स्थानीय दिलबहादुर पुनले बताए । कम समयका लागि मात्र रोजगारी पाइने हुँदा लामो समयसम्म लागि कामको खोजीमा यहाँका जनशक्ति बाहिर जानुपरेको उनले बताए । ‘घरको उत्पादनले पुग्दैन परिवार पाल्नै पर्‍यो, पेट पाल्नका लागि कमाउन बाहिर जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘रोजगारीका लागि मेरो छोरा पनि भारत गएको छ ।’

गाउँमा रोजगारीको पर्याप्त अवसर नभएको र यहाँको कृषि उत्पादनले वर्ष दिन पनि खान धौधौ हुने यहाँका स्थानीय बताउँछन् । सोही ठाउँकी झमी सुनार हिजोआज गाउँमा भएको विकास निर्माणको काममा व्यस्त छिन् । श्रीमान् वैदेशिक रोजगारीमा भएकाले घरखर्च जोहो गर्ने उद्देश्यले गाउँको काममा लागेको उनले बताइन् । फुर्सदको समयमा घरखर्च जोहोको लागि काममा लागेको उनको भनाइ छ ।

गाउँमा पर्याप्त मात्रामा सीप सिकेको दक्ष जनशक्ति नपाउनु समस्याको रुपमा देखिनुमा यहाँ लामो समयसम्मका लागि रोजगारी (दिगो रोजगारी) नहुनु प्रमुख समस्याको रूपमा रहेको छ । सरकारले सानातिना विकास योजना सञ्चालन गर्दा यहाँका नागरिकले लामो समयसम्मका लागि पर्याप्त रोजगारी पाउन सकेका छैनन् । गाउँमै पर्याप्त रोजगारी सिर्जना नहुँदा युवा विदेश पलायनको क्रम बढ्दो छ । जिल्लाका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र छ ।

रोजगार सेवा केन्द्रबाट प्रदान हुँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि पुरुषको सहभागिता निकै कम भएको पाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य रहेको लुंग्री गाउँपालिकाका रोजगार शाखा प्रमुख सुन्दर घर्तीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम छोटो समयका लागि हुने भएकाले पुरुषको सहभागिता कम भएको उनको अनुमान छ । ‘पुरुषहरु धन कमाउन प्रदेश जाने क्रम बढ्दो छ त्यसैले होला, यस कार्यक्रममा महिलाको आकर्षण बढ्दो क्रममा छ भने पुरुषको घट्दो क्रममा छ,’ उनले भने ।

वैदेशिक रोजगारीले गर्दा गाउँमा दक्ष कामदारको अभाव हुने अवस्था बनेको उनले बताए । गाउँमा सञ्चालन हुने विकास निर्माणका काममा छोटो समयका लागि मात्र रोजगार रोजगार प्राप्त हुन्छ । गाउँमा काम गरे छोटो समयका लागि मात्र रोजगार पाइने हुँदा यहाँका अधिकांश युवा पोखरा, पर्वत, काठमाडौं लगायतका सहरमा कामका लागि जाने गर्दछन् । यसका साथै भारत, साउदी, कतार, दुवै, मलेसिया लगायतका देशमा जाने क्रम पनि बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्