भारतीय विद्युतमन्त्री खट्टर नेपाल आउँदै

काठमाडौं– भारतीय विद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज (मंगलबार) बिहान नेपाल आउँदैछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा विद्युतमन्त्री खट्टर दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
संखुवासभामा निर्माण सम्पन्न भएको कोशी करिडोर प्रसारण लाइनको ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । संखुवासभामा रहेको वसन्तपुर–बानेश्वर–तुम्लिङटार र ढुंगेसाँघु २२० केभीका चारवटा सबस्टेशन र तीन वटा प्रसारण लाइनको संयुक्त उद्घाटन हुँदैछ ।
भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०-१३३-३३ केभी तुम्लिङटार सबस्टेशन उद्घाटन गर्नेछन् । त्यस्तै, २२०-३३ केभी बानेश्वर सवस्टेशन र २२०-१३३-३३ केभी वसन्तपुर सबस्टेशनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सबस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम छ ।
कोशी करिडोर अन्तर्गत बानेश्वर वसन्तपुर ३३ किलोमिटर प्रशारण लाइन, वसन्तपुर–ढुंगेसाँघु ३४ किलोमिटर र वसन्तपुरदेखि इनरुवासम्म ७४ किलोमिटर प्रशारणलाइनको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।
सन् २०१६ बाट शुरु भएको आयोजनामा भारत सरकारको सहुलियतपूर्ण ९० मिलियन अमेरिकी डलर ऋण र नेपाल सरकारको २२ मिलियन अमेरिकी डलर गरी ११२ मिलियन अमेरिकी डलर लगानीमा निर्माण सम्पन्न भएको हो । यी आयोजनाले कोशी करिडोर प्रसारण लाइनमार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट र बसन्तपुरदेखि इनरुवा खण्डमा करिब २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने क्षमता रहेको छ ।
अरुण र तमोर नदी तथा तिनका सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न कोशी करिडोरको विकास गरिएको हो । यो आयोजना पूर्वी नेपालमा विद्युत आपूर्तिको भरपर्दो आधार बनेको छ भने भारतसँगको ऊर्जा व्यापार विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मंगलबार नै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेवीएन) को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) ले आयोजना निर्माण गरिरहेको छ । एसजेवीएनले संखुवासभामा ९ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा गरिरहेको छ । अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगिसकेको छ । कम्पनीले आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको जानकारी दिएको छ । यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
विद्युतमन्त्री खट्टरको भ्रमणका क्रममा दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । सम्झौतामा हस्ताक्षर भएपछि निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत आयोजनामा भारतीय लगानीका साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्यतालिका छ ।
बुधबार खट्टरले मुस्ताङ मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । खट्टर बुधबार साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसअघि ३० माघ २०८१ मा भारत भ्रमणका क्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।