कटबेरुवा होमस्टेमा आएनन् पर्यटक

दाङ– आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय आतिथ्यता पस्किने उद्देश्यले दाङमा खुलेका होमस्टे बन्द हुन थालेका छन् । सञ्चालनमा रहेका केही होमस्टेमा पनि चहलपहल छैन ।
डेढ वर्षअघि राजपुर गाउँपालिका–१ को कटबेरुवा गाउँ सामुदायिक होमस्टेका रूपमा घोषणा भयो । गाउँका १५ जना महिलालाई तालिम दिएर होमस्टे सञ्चालनमा ल्याइएको थियो । गाउँ नै होमस्टेका रूपमा घोषणा भएपछि पर्यटकको चहलपहल बढ्ने र स्थानीयको आयआर्जन बढ्ने अपेक्षा गरिएको थियो । तर, अपेक्षा गरेअनुसार कटबेरुवा गाउँमा चहलपहल बढ्न सकेन । होमस्टे घोषणा गर्दा उत्साहित देखिएका स्थानीय अहिले निरास हुन थालेका छन् । घोषणा भएको केही समय मानिस आए पनि विगत एक वर्षदेखि गाउँमा बस्ने र खाने गरी कोही पनि नआएको कटबेरुवा शिवशक्ति सामुदायिक होमस्टेकी सञ्चालिका हुमा पोख्रेलले बताइन् ।
‘मानिस आउलान्, गाउँमा चहलपहल बढ्ला र आयआर्जन होला भन्ने आशा थियो । तर, त्यसअनुसारको विकास हुन सकेन । गाउँमा आउने मानिसले चाहेअनुसारको स्थानीय परिकार खान पाउने भए पनि बसाइ लम्ब्याउनका लागि घुमफिर गर्ने राम्रो ठाउँ नहुँदा होमस्टे चल्न सकेन,’ उनले भनिन् ।
गाउँमा चहलपहल बढाउन होमस्टेलाई सहयोग पुग्ने गरी कार्यक्रमसँगै पूर्वाधार विकास हुन आवश्यक रहेकोमा उनको जोड छ । पोख्रेलले भनिन्, ‘गाउँलाई होमस्टेका रूपमा घोषणा गर्ने मात्र काम भयो । होमस्टेलाई दीर्घकालीन रूपमा सञ्चालन गर्नका लागि योजना बनाउने र पूर्वाधार विकासमा ध्यान नदिँदा सुनसान जस्तै बनेको छ ।’ गाउँ होमस्टेका रूपमा घोषणा भएपछि २–३ पटक मानिस आए पनि त्यसपछि कोही नआएको उनको भनाइ छ ।
थारू खाना र कला–संस्कृतिमा चासो राख्ने मानिस छिटफुट रूपमा भए पनि आउने गरेको कटबेरुवामै रहेको थारू सामुदायिक होमस्टे सञ्चालक समितिकी अध्यक्ष शिवा चौधरीले बताइन् । उनका अनुसार पछिल्लो समय धेरै मानिस नआए पनि केही मात्रामा आउने गरेका छन् । उनका अनुसार २० जनालाई तालिम दिए पनि थोरैले मात्र होमस्टे सञ्चालन गरेका छन् । थारू खानासँगै कला, संस्कृति हेर्नका लागि व्यवस्था गर्ने र होमस्टे घोषणा भएको गाउँलाई पर्यटकीय स्थलसँग जोडेर विकास गर्न सके चहलपहल बढ्ने उनको भनाइ छ ।
‘गाउँलाई होमस्टेका रूपमा घोषणा गर्ने काम भए पनि होमस्टेलाई सहयोग पुग्ने गरी स्थानीय सरकारबाट काम हुन सकेको छैन,’ अध्यक्ष चौधरीले भनिन्, ‘होमस्टे घोषणासँगै बस्न र खानका लागि व्यवस्थित घर, घुम्नका लागि गाउँ नजिकै रहेको पर्यटकीय क्षेत्रको विकाससँगै साँझको समयमा थारू नाच देखाउन व्यवस्थित ठाउँ बनाउन सके होमस्टेमा चहलपहल बढ्ने थियो ।’ स्थानीय वातावरणसँगै थारु समुदायको कला, संस्कृति अध्ययन, थारू खाना, लोकल भाले, जाँड, रक्सी लगायतका लागि मानिस आउने गरेका छन् ।
वडाध्यक्ष सूर्यप्रसाद चौधरीले तीन फरक समुदाय थारू, गुरुङ र ब्राह्मण–क्षेत्रीको बसोबास रहेको क्षेत्रमा होमस्टेको विकास गर्न खोजिएको बताए । ‘हामीले स्थानीय समुदायको विविधतालाई पर्यटन विकासको आधार बनाउन खोजेका हौं । त्यहीअनुसार तीनवटा गाउँलाई होमस्टेका रूपमा विकास गरेका छौं,’ चौधरीले भने, ‘अन्य होमस्टेभन्दा थारू होमस्टे राम्रो चलेको छ ।’ थारू समुदायसँग सम्बन्धित खानासँगै कला, संस्कृतिप्रति रुचि राख्ने मानिस होमस्टे आउने गरेको उनले बताए । होमस्टेलाई व्यवस्थित रूपमा विकास गर्न स्थानीयको माग भएमा वडासँगै पालिकाबाट बजेट विनियोजन गर्न सकिने अध्यक्ष चौधरीको भनाइ छ । उनले भने, ‘होमस्टे सञ्चालनका लागि स्थानीयलाई के आवश्यक छ, त्यो माग भएमा वडा र पालिकाबाट बजेट विनियोजनका लागि पहल गर्छौं ।’