Logo

विकास बैंकको नाफासँगै निष्क्रिय कर्जामा वृद्धि

काठमाडौं– वाणिज्य बैंकहरूको नाफा १.४० प्रतिशतले बढ्दा राष्ट्रिय स्तरका विकास बैंकहरूले भने ४.३४ प्रतिशतले नाफा बढाएका छन् ।

चैत मसान्तसम्म विकास बैंकहरुको नाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा देखिएको छ । गत आवको सोही अवधिमा ३ अर्ब ५३ करोड नाफा थियो । विकास बैंकको नाफासँगै निष्क्रिय कर्जा पनि बढेको छ । गत आवको तेस्रो त्रैमासमा औसत निष्क्रिय कर्जा ३.५८ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ५.०४ प्रतिशत पुगेको छ ।

अर्थतन्त्रको सुस्तता र कर्जा असुलीमा भइरहेको समस्याका कारण विकास बैंकहरूको पनि वाणिज्य बैंकको जस्तै निष्क्रिय कर्जा बढेको हो । यसले बैंकहरूलाई थप दबाबमा पारेको छ । सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये ५ वटाको नाफा बढ्दा तीन वटाको घटेको छ । नाफा बढाउने बैंकमा गरिमा, कामना सेवा, महालक्ष्मी, सांग्रिला र ज्योति विकास बैंक रहेका छन् । मुक्तिनाथ, शाइन रेसुंगा र लुम्बिनी विकास बैंकको भने नाफा घटेको छ ।

चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउने गरिमा विकास बैंक रहेको छ । यो बैंकले नौ महिनामा ७३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा यो बैंकको नाफा ७.१३ प्रतिशतले बढी हो ।

धेरै नाफा आर्जन गर्ने दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक छ । बैंकले चैत मसान्तसम्म ७२ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १६.८५ प्रतिशत कम हो ।

यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५१ करोड ४० लाख नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.१२ प्रतिशतले कम हो । चैत मसान्तसम्म कामना सेवा विकास बैंकले ४९ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४८.८३ प्रतिशतले बढी हो ।

यस्तै, महालक्ष्मी विकास बैंकले ४३ करोड ६५ लाख नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो १६.८६ प्रतिशतले धेरै हो । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६१.१८ प्रतिशतले बढेर ४३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यस्तै, ज्योति विकास बैंकको नाफा १०१.१४ प्रतिशतले बढेर ३० करोड ६६ लाख पुगेको छ । लुम्बिनी विकास बैंकको नाफा ८५.४५ प्रतिशतले घटेर ४ करोड ९७ लाखमा झरेको छ ।

निष्क्रिय कर्जा ह्वात्तै बढ्यो
चालु आवको तेस्रो मसान्तसम्ममा विकास बैंकको निष्क्रिय कर्जा निकै बढेको छ । यो अवधिमा विकास बैंकहरूको औसत निष्क्रिय कर्जा ५.०४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा निष्क्रिय कर्जा ३.५८ प्रतिशत थियो ।

लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ७.१८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.६९ प्रतिशत थियो ।

महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा ४.१६ प्रतिशतबाट बढेर ४.९९ प्रतिशत, ज्योति विकास बैंकको ४.९७ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ ।

यस्तै, गरिमा विकास बैंकको गत आवको तेस्रो त्रैमासमा २.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा बढेर ४.७८ प्रतिशत पुगेको छ । साइन रेसुंगा बैंकको निष्क्रिय कर्जा पनि गत आवको तुलनामा चालु आवमा बढेको छ । गत आवको तेस्रो त्रैमासमा ३.४१ प्रतिशत रहेको यो बैंकको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ४.७६ प्रतिशत पुगेको छ ।

मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा २.०२ प्रतिशतबाट बढेर चालु आवमा ४.४१ प्रतिशत पुग्दा कामना सेवा विकास बैंकको ३.५५ प्रतिशतबाट बढेर ४.२७ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्