Logo

शिक्षकलाई अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गरेका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए ।

प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरूविरुद्ध प्राध्यापकहरुले बौद्धिक रूपमा सक्रियता देखाउनुपर्ने बताए । मुलुकमा प्रकट भइरहेका प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरूप्रति सजग हुँदै आफ्नो बौद्धिक क्षेत्रबाट विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ विचार निर्माणमा लागि पर्न आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शिक्षालाई हरेकको पहुँचभित्र कसरी पुर्‍याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर हामीले सोच्न आग्रह गर्दै कसरी ज्ञानलाई आर्जन, संकलन र सम्प्रेषण गर्छौं भन्ने अति महत्त्वको विषयमा मनन गर्न सम्झाए । उनले यस संगठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनका क्रममा भएकाले आगामी दिनसम्म उच्चशिक्षा क्षेत्रमा गरिनुपर्ने सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्