Logo

गुराँसले ढकमक्क रोल्पाका वनपाखामा

रोल्पा– रोल्पाका अधिकांश भू–भागका वनपाखामा यतिबेला गुराँस फुलेर ढकमक्क भएका छन् । रोल्पाका वनपाखामा फुलेका विभिन्न प्रजातिका लालीगुराँसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढेको छ । समुद्र सतहदेखि तीन हजार ५२० मिटरको उचाइमा पर्ने थवाङ गाउँपालिकाको उवा क्षेत्रका वनपाखामा विभिन्न प्रजातिका लालीगुराँस फुल्ने गर्दछन् । स्थानीयका अनुसार यहाँ दर्जन भन्दा बढी प्रजातीका गुराँस फूल्ने गर्दछन् ।

थबाङ गाउँपालिकामा पर्ने उवाको बाङखर्क, डाँडाखर्क र रिकुनबाङ साथै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला, धरमपानी, मिरुललगायतका क्षेत्रमा फुल्ने गुराँस हेर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । चैतदेखि फुल्न सुरु गर्ने गुराँस जेठसम्म रहन्छ । यस क्षेत्रमा फुल्ने दर्जनौं थरीका गुराँसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय रोल्पाको उवा, जलजलालगायत क्षेत्रमा गुराँस हेर्न रोल्पा, रुकुम, प्यूठान, दाङलगायतका ठाउँबाट पर्यटक आउन थालेका छन् ।

पर्यटकहरु वनपाखामा फुलेका गुराँससँग रम्दै फोटो, भिडियो खिच्ने गर्दछन् । वनपाखामा फुल्ने गुराँस र गुराँस फुल्ने स्थानबाट देखिने हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीय मनिस रोका मगरले बताए । विभिन्न थरीका लालिगुराँसको अवलोकन गर्न रोल्पामा पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । ‘नयाँ वर्षको आगमनसँगै बाह्य पर्यटक पनि जिल्ला भित्रिने गरेका छन्,’ उनले भने

उवा क्षेत्रलाई गुराँस पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रचारप्रसारदेखि पर्यटकीय संरचना निर्माण गर्न सुरु गरेको थवाङ गाउँपालिका–४ का वडाध्यक्ष हिक्मत घर्तीमगरले बताए । यहाँ आउने पर्यटकले विभिन्न थरीका गुराँससँगै विभिन्न हिमशृङ्खला, धार्मिक स्थलको अवलोकन गर्न पाउने उनले बताए । रोल्पाका विभिन्न भुभागमा गुराँस पाइन्छ । गुराँस फुल्ने यी भूभागलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार लागिपरेका छन् ।

रोल्पामा करिब ४५ प्रतिशत भूभागमा लालिगुराँस पाइन्छ । लेकाली हावापानी, रमणीय दृश्य अनी वनैभरी फुलेका विभिन्न थरीथरीका लालिगुराँसले यहाँ पुग्ने सबैलाई मनमोहक पार्छ । उत्कृष्ट सय पर्यटकीय गन्तव्यको सूचीमा पर्ने पर्यटकीय स्थल जलजला आसपासमा पनि गुराँस हेर्न आउनेको घुइँचो छ । जलजलाको दर्शनसँगै गुराँससँग रम्न पर्यटकहरु आउने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्