Logo

भैरहवामा ८ अर्ब ४७ करोड आन्तरिक राजस्व

भैरहवा– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको ९ महिनामा ८ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत वर्षको चैतको तुलनामा चालु आवको सोही अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ बढी हो । गत वर्षको तुलनामा यो वर्षको ९ महिनामा उक्त रकम १८.३ प्रतिशतले बढी रहेको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताए ।

अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, आर्थिक गतिविधिमा वृद्धि, नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण तथा अनुसन्धानको प्रभावकारिता, परिणाममुखी करदाता शिक्षा, नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गर्नेहरू माथिको अनुसन्धान जस्ता कारणले राजस्व संकलन गत वर्षभन्दा सुधार भएको पोख्रेलले बताए । गत वर्ष समीक्षा अवधिमा ७ अर्ब १६ करोड ७९ लाख रुपैंयाँ राजस्व संकलन भएको थियो ।

कार्यालयले मासिक औसतमा ९० दशमलव ६ प्रतिशतका दरले राजस्व संकलन गरिरहेको पोख्रेलले जानकारी दिए । कार्यालयलाई राजस्व विभागले आव २०८१/८२ को ९ महिनामा कुल ९ अर्ब ३५ करोड १६ लाख रुपैयाँ असुलीको लक्ष्य दिएको थियो । कार्यालयको वार्षिक राजस्व लक्ष्य भने १३ अर्ब २७ करोड हो । ९ महिनामा वार्षिक लक्ष्यको ६४ प्रतिशत राजस्व संकलन भएको छ । बाँकी अन्तिम त्रैमासिकमा लक्ष्य अनुसार राजस्व संकलन हुने अपेक्षा कार्यालयको रहेको छ ।

विगतका केही वर्षमा आन्तरिक राजस्व संकलनमा विभागले असुली गर्न दिएको लक्ष्य पूरा गर्न असफल भएको आन्तरिक राजस्व कार्यालय भैरहवाले सत प्रतिशत संकलन गर्न नसकेता पनि चालु आर्थिक वर्षको ९ महिनामध्ये भदौ, असोज र फागुनमा राजस्व विभागद्वारा तोकिए अनुसारको राजस्व असुली संकलन गरेको छ भने अन्य महिनामा पनि उल्लेखनीय रूपमा राजस्व संकलन भएको पोखरेलले जानकारी दिए । वार्षिक लक्ष्यअनुसार संकलन नभए पनि लक्ष्य भेटाउने गरी अघि बढेको उनले बताए ।

कार्यालयले चैत महिनामा विभागले दिएको १ अर्ब २६ करोड रुपैयाँ असुली लक्ष्यमा १ अर्ब १९ करोड रुपैयाँ संकलन गरेको छ । यो चैत महिनाको लक्ष्यको ९४.५ प्रतिशत हो । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा आयकरतर्फ १ अर्ब १६ करोड ५९ लाख, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ १ अर्ब ४८ करोड २३ लाख, अन्त:शुल्कबापत ६ अर्ब ३७ करोड ३ लाख, ब्याज करमा ६ करोड ९९ लाख, बहाल आयकरमा ४ करोड ८ लाख, स्वास्थ्य सेवा करमा २ करोड ८० लाख, शिक्षा सेवा शुल्कबापत १७ हजार तथा अन्य शीर्षक करमा ४० लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको– ५ देखि १७ सम्म, देव दह नगरपालिकाको–१ देखि ४ र ११ देखि १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गाउँपालिकाहरूमा गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्