Logo

राजस्व संकलनमा कनकाई नगरपालिकाको तीव्रता

बिर्तामोड– झापाको कनकाई नगरपालिकाले राजस्व संकलनलाई तीव्रता दिएको छ । राजस्व संकलनलाई तीव्रता दिएको कारण चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्मको अवधिमा ६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको हो । चालु आवमा ८ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिए पनि आव २०८१/८२ को साउनदेखि चैत महिनाको अवधिमा ६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका सूचना अधिकारी खगेन्द्र मिश्रले जानकारी दिए ।

यो चालु आवको राजस्व संकलनको लक्ष्यको ७४.१ं० प्रतिशत असुली हो । कनकाई नगरपालिकाले आव २०८१/८२ को साउनदेखि चैतसम्म आन्तरिकतर्फ ५ करोड ३० लाख र घर जग्गाबापत १ लाख ८७ हजार रुपैयाँ संकलन गरेको सूचना अधिकारी मिश्रले जानकारी दिए । त्यस्तै, नगरपालिकाले चालु आवको चैतसम्मको अवधिमा १७ लाख रुपैयाँ राजस्व छुट गरेको बताउँदै उनले जरिवानाबापत २ लाख १२ हजार रुपैयाँ संंकलन गरेको जानकारी दिए ।

नगरको आन्तरिक स्रोत वृद्धि गरी नगरपालिमा छुटेको करको स्रोतहरु पहिचान गरी आन्तरिक आम्दानी बढाउने योजनाअघि सारेर राजस्व संकलन वृद्धि गरिने उनको भनाइ छ । कनकाई नगरपालिकाले राजस्व संकलनलाई तीव्रता दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए । उनले कनकाई नगरपालिकाले घर घरमा कर्मचारी पठाएर कर संकलन गरी राजस्व वृद्धि गर्ने दाबी गरे । नगरपालिकाले अब फोहोरमैला संकलनका लागि कर निर्धारण गर्ने उनको भनाइ छ ।

हालसम्म फोहोरमैला संकलनका लागि कर निर्धारण गरिएको भए पनि उक्त शीर्षकमा कर संकलन नगरिएको बताउँदै अब नगरपालिकाले कानुन बनाएर फोहोरमैला संकलनका लागि घर–घरमा कर्मचारी पठाएर कर संकलन गर्ने उनको भनाइ छ । हाल निश्चित क्षेत्रबाट मात्र फोहोरमैला संकलन गरिए पनि कर तिर्न इच्छुक नगरवासीको मागको आधारमा फोहोर मैला संकलनका लागि गाउँ–गाउँमा ट्याक्टर पठाएर कर संकलन गरिने उनले बताए ।

नगरका सबै व्यवसायीलाई करको दायरामा ल्याइने बताउँदै उनले नगर क्षेत्रमा सञ्चालित व्यवसायको तथ्यांक संकलन गर्ने जनाए । वैशाख दोस्रो सातादेखि तथ्यांक संकलन सुरु गरिने न्यौपानेले बताए । तथ्यांक अद्यावधिकपछि राजस्व संकलन टोली खटाएर राजस्व संकलन गरिने उनको भनाइ छ । राजस्व संकलन वृद्धि गर्न कनकाई नगरपालिकामा रहेका सवै व्यवसायीको छुट्टै एप बनाउने योजना रहेको उनले बताए ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सबै नगरवासीलाई समयमै कर तिर्न आग्रह गरे । नगरपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय ७५ वटा व्यवसाय दर्ता नवीकरण भएको सूचना अधिकारी खगेन्द्र मिश्रले जानकारी दिए । राजस्व संकलनको दायरा बढाउने उद्देश्यले नगरपालिकाले सञ्चालन गरेको राजस्व संकलन घुम्ती शिविरमा नयाँ तथा पुराना गरी चार सय ७५ वटा व्यवसाय दर्ता र नवीकरण भएका छन् ।

कनकाई–३ स्थित सुरुङ्गा बजार क्षेत्रमा सञ्चालित शिविरमा तीन सय ४७ वटा व्यवसाय दर्ता तथा नवीकरण भएको बताउँदै उक्त शिविरमा १४ वटा व्यवसाय बन्द भएका छन् । कनकाई–७ स्थित दुर्गापुर बजारमा ६४ वटा दर्ता नवीकरण र चार वटा बन्द, कनकाई–८ स्थित लक्ष्मीपुर बजारमा ३६ वटा दर्ता नवीकरण र एक वटा बन्द, कनकाई–९ स्थित घैलाडुब्बा बजारमा २८ वटा दर्ता र नवीकरण एवं तीन वटा बन्द भएको उनको भनाइ छ ।

योसँगै घुम्ती शिविरबाट १० लाख २३ हजार राजस्व संकलन भएको उनले बताए । घुम्ती शिविरबाट व्यवसाय करबापत आठ लाख ३३ हजार, सम्पत्ति करबापत ६ हजार ५०, घरबहाल करबापत ९५ हजार र व्यवसाय रजिष्ट्रेशनबापत ८९ हजार रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्