दाङमा ४० करोडले बढ्यो राजस्व

दाङ– दाङमा गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा राजस्व संकलनमा केही वृद्धि भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार ४० करोड रुपैयाँले राजस्व बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म संघीय कार्यालयमा दुई अर्ब १० करोड ५९ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिसम्म संघतर्फ एक अर्ब ७७ करोड ५२ लाख राजस्व संकलन भएको थियो ।
गत वर्षको यही अवधिमा संकलन भएको राजस्वभन्दा यस वर्ष ३३ करोड ६ लाख २७ हजार धेरै उठेको छ । प्रदेशतर्फ पनि यस वर्ष थोरै बढी राजस्व संकलन भएको देखिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म ४२ करोड ४४ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म ४८ करोड ५८ लाख राजस्व संकलन भएको छ । प्रदेशमा चालु आवको चैत मसान्तसम्मको अवधिमा ६ करोड १३ लाख राजस्व बढेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ५६ करोड ९५ लाख ८२ हजार राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयले यो आर्थिक वर्षको सोही अवधिसम्म एक अर्ब ९१ करोड ५० लाख राजस्व संकलन गरेको छ । गत वर्षको नौ महिनामा ५२ लाख ६१ हजार राजस्व उठेको जिल्लाको तीनवटै नापी कार्यालयमा यस वर्ष ६६ लाख राजस्व उठेको छ । गत वर्ष एक करोड ५४ लाख राजस्व उठेको शिक्षा विकास तथा समन्वय इकाईमा यस वर्ष एक करोड २१ लाख ८९ हजार राजस्व उठेको छ ।
१० लाख ४० हजार राजस्व संकलन भएको उच्च अदालत तुलसीपुरमा २४ लाख ९१ हजार, दुई करोड १५ लाख राजस्व संकलन भएकोे जिल्ला अदालतमा दुई करोड ६२ लाख राजस्व संकलन भएको छ । गत वर्ष ८९ लाख ७२ हजार राजस्व संकलन गरेको कोइलाबास भन्सार कार्यालयले यसवर्ष एक करोड आठ लाख ४७ हजार संकलन गरेको छ । गत वर्ष २४ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाले यस वर्षको चैत मसान्तसम्म एक करोड चार लाख संकलन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले पनि यस वर्ष गत वर्षको तुलनामा राजस्व संकलन बढाएका छन् । गतवर्ष सात करोड ७६ लाख २५ हजार संकलन भएकोमा यस वर्ष सात करोड ८९ लाख राजस्व संकलन भएको छ । गत वर्ष तीन करोड १० लाख ३१ हजार संकलन गरेको सडक डिभिजन दाङले यस वर्षको नौ महिनामा एक करोड २४ लाख ८० हजार राजस्व संकलन गरेको छ । एक करोड १९ लाख ३२ हजार संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस वर्ष एक करोड ७२ लाख ४४ हजार राजस्व संकलन गरेको छ ।
हुलाक निर्देशनालय दाङमा गत आर्थिक वर्षको चैत मसान्तसम्म २९ लाख ३६ हजार राजस्व उठेकोमा यो वर्ष २४ लाख ८७ हजार राजस्व उठेको छ । मालपोततर्फ जिल्लाका तीनवटै कार्यालयबाट गत वर्ष एक लाख ३३ हजार राजस्व उठेकोमा यस वर्ष सात लाख १७ हजार राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमा गत वर्ष १८ करोड १३ लाख राजस्व जम्मा भएकोमा यस वर्ष एक अर्ब ४३ करोड ५० लाख १२ हजार राजस्व जम्मा भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ३७ करोड ५९ लाख ७८ हजार राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालय तुलसीपुरले यस वर्षको सोही अवधिसम्म ४३ करोड ९८ लाख ७८ हजार राजस्व संकलन गरेको छ । ११ करोड ३४ लाख राजस्व संकलन गरेको प्रदेश लेखा इकाई कार्यालयले यस वर्ष नौ महिनाको अवधिमा ११ करोड ९८ लाख संकलन गरेको छ । गत वर्ष ८७ लाख ७८ हजार संकलन भएको जिल्लाका दुई डिभिजन वन कार्यालयले यस वर्ष दुई करोड ४२ लाख राजस्व संकलन गरेका छन् ।
गत वर्ष एक करोड नौ लाख रुपैयाँ राजस्व संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालयले यस वर्ष एक करोड २४ लाख ६६ हजार संकलन गरेको छ । त्यसैगरी प्रदेशतर्फका केही कार्यालयले अघिल्ला वर्षभन्दा अति कम राजस्व संकलन गरेको पनि पाइएको छ । समग्रमा धेरै राजस्व देखिए पनि केही कार्यालयको सिलिङ ह्वात्तै घटेको पाइएको हो ।
गत वर्ष ३४ लाख ३६ हजार राजस्व संकलन गरेको भेटेरेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष मात्रै एक लाख ४१ हजार, अघिल्लो वर्ष एक करोड ५१ लाख २१ हजार राजस्व संकलन गरेको पूर्वाधार विकास कार्यालयले यस वर्ष ५४ लाख ८८ हजार र गत वर्ष ३७ लाख ७२ हजार राजस्व संकलन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यस वर्ष तीन लाख ९६ हजार राजस्व संकलन गरेको छ ।
यस्तै २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको सहरी विकास तथा भवन कार्यालयले यस वर्ष सात लाख ६१ हजार, चार लाख ३७ हजार राजस्व संकलन गरेको कृषि ज्ञान केन्द्रले यस वर्ष १८ हजार रुपैयाँमात्रै राजस्व संकलन गरेको छ । चार लाख २४ हजार राजस्व संकलन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले यस वर्षको नौ महिनासम्म आठ लाख ११ हजार राजस्व संकलन गरेको छ । एक लाख ६५ हजार राजस्व संकलन गरेको सामाजिक विकास कार्यालयले यस वर्ष पाँच लाख तीन हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।