हिमामा बृहत् वास सम्मेलन
खानेपानी विकास र सरसफाइमा फड्को

जुम्ला- खानेपानीमन्त्री प्रदिप यादवले जुम्लाका तीन पालिकाले खानेपानी विकास तथा सरसफाइमा फड्को मारेको बताएका छन् । उनले सुस्वा परियोजना तथा सरकारको सहकार्यमा खानेपानी विकासमा जुम्लाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाले उल्लेखनीय काम गरेको बताएका हुन् । हिमा गाउँपालिकाको दियारगाउँमा कर्णाली प्रदेशमै पहिलो पटक आयोजना गरिएको वास सम्मेलनमा सहभागी हुन जुम्ला आएका मन्त्री यादवले जुम्लाको खानेपानी विकासमा बजेटको अभाव हुन नदिने घोषणा गरेका छन् ।
अब बजेट अभावमा जुम्लामा खानेपानीका आयोजना अलपत्र पर्ने छैन । मन्त्री यादवले भने, ‘जुम्लामा बृहत् खानेपानी आयोजना निर्माण गर्न बजेट चालू आवमै पठाउने छौं । डिपिआर ल्याउनु सबै योजनाको स्रोत सुनिश्चित गरेर पठाउँछु । जुम्ला कृषि पर्यटन, भाषा संस्कृतिसँंगै खानेपानीको स्रोतमा पनि धनी रहेछ । अब खानेपानीमा लगानी बढाउँछौं ।’ जुम्लामा वर्षाैंदेखि निर्माणाधीन तर बजेट अभावले अलपत्र बृहत् धौलिगाड खानेपानी आयोजनालाई अब मन्त्रालयले अघि बढाउने उल्लेख गरे ।
उनले एक अर्ब २६ करोड लागत आयोजना विगतमा प्रक्रियागत हिसाबले अलपत्र परे पनि अब बजेट अभावका कारण नरोकिने दाबी गरे । उनले जग्गा विवाद स्थानीय प्रतिनिधिलाई सल्टाउन सुझाव दिए । साथै सिंजा क्षेत्रका ४० हजार नागरिक लाभान्वित हुने गरी डिपिआर तयार भइसकेका हिमा र कनकासुन्दरीको बृहत् खानेपानी आयोजना अघि बढाउन चालू आवमै स्रोत सुनिश्चित गर्ने उल्लेख गरे ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सीमित स्रोत साधनका बीच पनि हिमाका ११ सय बढी घरधुरीमा एक घर एक धारा निर्माण गरेको बताए । उनले भने, ‘मन्त्रीज्यूको प्रतिबद्धतानुसार जुम्लाको खानेपानी विकासमा पर्याप्त बजेट आउने छ । हिमाले ४० करोडको बृहत् हिमा खानेपानी आयोजनाको डिपिआर तयार गरेको छ । उस्तै लागतको योजना कनकासुन्दरीमा छ । अब परिणाममुखी कामको अपेक्षामा छौं । आयोजना निर्माणपछि फेरि मन्त्रीज्यूलाई नै बोलाउने छौं ।’
साथै वास सम्मेलनले सिंजा क्षेत्रका तीन पालिकामा खानेपानी विस्तार, सरसफाइ लगायतका क्षेत्रमा आमूल सुधार गर्ने लक्ष्यसहित ११ बुँदे हिमा घोषणा पत्रसमेत जारी गरेको छ । खानेपानीका संरचना दिगो गर्न, पानीका स्रोतको संरक्षण तथा योजना निर्माण गरी घरघरमा खानेपानी विस्तार तीनै पालिका एकजुट हुने घोषणा पत्रमा उल्लेख छ ।
दिगो सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापनका लागि आ–आफ्नो गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐनको भावनालाई आत्मसाथ गर्दै गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता इकाईलाई स्थायी शाखाको रुपमा स्थापना गर्नेछौं । नमुना घर, नमुना समुदाय, नमुना विद्यालय र नमुना वडाको अवधारणा अवलम्बन गर्दै स्थानीय सरकारलाई पूर्ण सरसफाइ उन्मुख तथा मर्यादित महिनावारी व्यवस्थापनयुक्त क्षेत्र बनाउन सूचकहरु तयार गरी लागू गर्ने भन्ने कुरा घोषणापत्रमा उल्लेख छ ।
साथै जुम्लाकै पहिलो बस्तीका रुपमा हिमा गाउँपालिका—१ दियारगाउँको तल्लो बस्तीलाई पूर्ण सरसफाइ उन्मुख बस्ती घोषणा गरिएको छ । ७० घरधुरी रहेको उक्त गाउँमा एक घर एक धारा पुगेको छ भने निर्धारित सबै सूचक पूरा गरेपछि तल्लो बस्तीलाई पूर्ण सरसफाइ उन्मुख बस्ती घोषणा गरिएको हिमा गाउँपालिका वास संयोजक सुमिता शाहीले बताइन् ।
खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, विभागका सचिव उमेश श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्य, लगायतका वक्ताले सिंजाका तीन पालिकाले खानेपानी विकास तथा सरसफाइ व्यवस्थापनका लागि नमुना काम गरेको बताए ।
जुम्लाका सरोकारवालाले जिल्लाव्यापी ठूला आयोजना निर्माणका लागि मन्त्रालयले आवश्यकताअनुसार बजेट पठाइदिनसमेत माग गरिएको छ । विशेषगरी धौलिगाड खानेपानी आयोजनामा तत्काल बजेट व्यवस्थापन गर्नसमेत आग्रह गरेका छन् । फिनल्याण्ड सरकारको सहयोगमा जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा सुस्वा परियोजना लागू भएको छ ।
खानेपानी सरसफाइ तथा स्वच्छताको सवाल मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण विषय हो भन्ने कुरालाई हृदयङ्गम गरी सन २०३० को अन्त्यसम्ममा सबैलाई खानेपानी, सरसफाइ र स्वच्छताको सुविधा पुर्याउने राष्ट्रिय लक्ष्यलाई आत्मसात गर्दै, जुम्लाको सिंजा भ्यालीभित्रका तीनवटा स्थानीय सरकार हिमा, सिंजा र कनकासुन्दरी गाउपालिकाद्वारा संयुक्तरुपमा वास सम्मेलनको आयोजना गरेको हो ।