एउटै निर्माण व्यवसायीलाई धेरै ठेक्का, सबै काम ठप्प

वीरेन्द्रनगर– जाजरकोटमा निर्माण गर्न लागिएका अधिकांश पुल अलपत्र अवस्थामा रहेका छन् । एउटै निर्माण व्यवसायीले धेरै ठेक्का लिने तर कुनै पनि काम नगर्दा विकास निर्माणमा ठूलो धक्का लागेको छ । जिल्लामा निर्माण हुने रणनीतिक महत्त्वका अधिकांश पुल निर्माण नहुँदा दैनिक समस्या थपिएको हो ।
नियमक निकायले पटकपटक पत्राचार गर्दा पनि कुनै मतलव नगरेका निर्माण व्यवसायीले ठेक्का लिएर बेपत्ता हुने चलनका कारण जिल्लाको विकास निर्माणमा बाधा थपिएको पूर्वाधार विकास कार्यालयका प्रमुख भुपेन्द्र जैसी बताउँछन् । जिल्लामा निर्माण कार्य सुरु भएका आयोजना निर्माण गर्न खबरदारी गर्नेभन्दा पनि कोटेसन मागेर कार्यालयलाई समस्यमा पर्ने काम सुरु भएको उनले बताए ।
जाजरकोटको नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुलको काम अझै सुरु हुन सकेको छैन । सोही ठाउँमा संघ सरकारले नै उपलब्ध गराएको बेलिब्रिज पुलको सामान प्रदेश सरकारले जडान गर्न पूर्वाधार विकास कार्यालय, जाजरकोटको तयारी गरे पनि एकै ठाउँमा दुई वटा पुल निर्माण गर्न कानुनी जटिलता देखिएको भन्दै बेलिब्रिज पुल जडानको काम रोकिएको छ ।
अर्कोतिर छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले पुल निर्माण गर्नेभन्दै ठेक्का लिएको १२ वर्षदेखि पुल निर्माण नगर्दा दैनिक समस्या भइरहेको छ । प्रमुख खड्काको खड्का कृष्ण कन्स्ट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच मार्गको सडक र पुल निर्माणको जिम्मेवारी लिएको थियो । फेरि उक्त अलपत्र पुल निर्माण गर्ने सहमति भएको नलगाड जलविद्युत आयोजनाका इन्जिनियर पदम थापाले बताए ।
ठेकेदार कम्पनीले साढे तीन करोडमा पुल निर्माण गर्ने ठेक्का पाएको भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डसँग जोडिएको नलगाड पहुँचमार्गले जुम्लासँग सडक जोड्छ । यो पुल नबन्दा नलगाड नदीमा परेर धेरैको मृत्यु भएको छ । नलगाड जलविद्युत आयोजनाका फिल्ड इन्जिनियर थापाले सामान्य पिल्लरमात्र उठाएको ठाउँमा ग्राउटिङ गरेर काम सुरु गर्न निर्माण व्यवसायी तयार भएको बताए । समस्या देखिएको पिल्लरको जगमा मर्मत गरेर कार्य सुरु गर्ने सहमति भएको उनले जानकारी दिए ।
त्यस्तै चार वर्षअघि लिएको ठेक्काको काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय, जाजरकोटले ठेक्का तोडने अन्तिम पत्र २०८१ मंसिर २४ लेखेपछि फिल्डमा काम गर्न खटिएका निर्माण कम्पनीले फेरि काम बीचमै छोडेको पाइएको छ । २०७८ साउन २९ गते बारेकोट गाउँपालिका–८ सागुतरा र नलगाड नगरपालिका–५ सिर्के जोड्ने मोटरेबल पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगन्ज–२ बाँकेले फेरि काममा विलम्ब गरेको हो ।
निर्माण गर्दा जग्गाधनीले अवरोध गरेको भन्दै बहाना बनाएर काम राखेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । विवाद भएको ठाउँमा समस्या समाधान गर्नका लागि पालिकामार्फत वडामा पत्राचार भइसकेकाले बहानाबाजी भइरहेको कार्यालयले बताएको छ । २०७८ साउन २९ गते लगाएको छेडा–कचाली–जुम्ला सडक खण्डको छेडागाड नगरपालिकाको साल्म खोला मोटरेबल पुल निर्माण गर्नका लागि नेपाल मेगा–सिस्ने जेभी नेपालगन्ज–२ बाँकेलाई नै अर्को पत्र काटिएको थियो ।
पटकपटक पुल निर्माण गर्दा पनि अटेर गरेको भन्दै उक्त पत्र लेखिएको थियो । पत्र काटेपछि एकजना व्यक्ति आएर फिल्डमा देखिने फेरि बीचमै काम छाडेर बेपत्ता हुने गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख जैसीले बताए । त्यस्तै २०७८/०६/१८ लागेको कालिमाटी–खाल्चौर–नेटिलेक सडक खण्डको सक्लाखारी बयाले लिम्सा सडकको कामसमेत अमर–सिस्ने जेभी, नेपालगन्ज–२, बाँकेले नै लिएका कारण अन्तिम पटक स्पष्टीकरण सोधिएको छ । तर अझै गतिमा काम जान सकेको छैन ।
जेभी अहिलेसम्म काममा नआएको कार्यालयले जानकारी दिएको छ । त्यस्तै सम्झौताअनुसारको कार्य सम्पन्न नगर्नुका साथै निर्माण कार्य अलपत्र पारी चरम लापरबाही गरेको र आफैले पेस गरेको कार्य तालिका अनुसारको प्रगति नगरेको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र ठेक्का सम्झौताका शर्त र प्रचलित कानुनबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै उचित कारण भएमा प्रमाणसहित स्पष्टीकरण पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ भनी चेतावनी दिइएको थियो ।
चेतावनीपछि फिल्डमा काम गर्न खटिएको निर्माण व्यवसायी फेरि कामबीचमै काम छाडेको अवस्था छ । कार्यालय प्रमुख जैसीले समेत बीचमा काममा जोडिएको भए पनि फेरि कामको गति कमजोर भएको बताए । कार्यालयले गरेको ताकेतालाई निर्माण व्यवसायीले मतलब नगरेको जैसीको भनाइ छ । एउटै निर्माण व्यवसायीलाई धेरै वटा ठेक्का दिँदा पनि काम नहुने गरेको उनले सुनाए । कामको जिम्मेवारी लिएर तोकिएको समयमा काम नगर्दा जिल्लाको विकास हुन नसकेको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए ।
उनले भने, ‘पश्चिम जाजरकोटको अनुगमन तथा निरीक्षणमा शनिबार बिहानै निस्किएको छु । त्यहाँ आधा दर्जन योजनाको शिलान्यासदेखि अनुगमन रहेको छ । बदमासी गर्नेलाई हामीले खवरदारी जारी राख्नुपर्छ । जिल्लाको संमग्र विकासका लागि सबै एक जुट भएर लाग्नुपर्नेछ ।’