बैंकको नाफा १.४० प्रतिशत बढ्यो, निष्क्रिय कर्जा आठ प्रतिशत नजिक

काठमाडौं– चालु आवको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको नाफा झिनो रुपमा बढेको छ ।
यो अवधिमा बैंकहरूले कुल ४१ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । सुस्त अर्थतन्त्रका कारण बैंकको नाफा अपेक्षित मात्रामा बढ्न सकेको छैन ।
राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिँदा त्यसको प्रभाव बैंकको नाफामा परेको हो । तेस्रो त्रैमासमा ११ वटा बैंकको खुद नाफा बढ्दा ९ वटाको घटेको छ । ‘नाफा सामान्यमात्रै बढेको हो । यो बढ्नुको मुख्य कारण राष्ट्र बैंकले केही दिनअघि दिएको सहुलियतका कारण हो,’ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने । राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिँदा त्यसको प्रभाव बैंकको नाफामा परेको उनी बताउँछन् । ‘यदि निर्माण क्षेत्रलाई सहुलियत नदिएको भए अवस्था बिग्रेको देखिने थियो,’ उनले भने । चौथो त्रैमासमा सुधार गर्नुपर्ने अवस्था वित्तीय विवरणले देखाएको उनी बताउँछन् । केही बैंकले व्यापार विस्तार गर्न सकेकाले पनि त्यसको प्रभाव परेको उनको भनाइ छ । ब्याज आम्दानी मात्रै पनि भएको अवस्थामा त्यसले केही सहज भएको उनको बुझाइ छ ।
चैतसम्ममा नबिल बैंकले ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । वाणिज्य बैंकहरूमध्ये यो सबैभन्दा बढी हो । गत आवको तुलनामा यो बैंकले ८.२१ प्रतिशत नाफा बढाएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा र ग्लोबल आइएमई बैंकले साढे ४ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् । यो अवधिमा इन्भेष्टमेण्टले खुद नाफा ३८.६१ प्रतिशत बढाएको छ भने ग्लोबल आइएमईले ३७.१२ प्रतिशत बढाएको छ । इन्भेष्टमेण्ट मेगा बैंकले चैत मसान्तसम्म ४ अर्ब ५४ करोड नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो बैंकको नाफा ३ अर्ब २७ करोड थियो ।
ग्लोबल आइएमई बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत आवमा ३ अर्ब ३० करोड रुपैयाँ थियो ।
एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड पुगेको छ । गत आवको चैतसम्म २ अर्ब ६० करोड रुपैयाँ नाफा थियो । यो अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक नेपाल बैंक लिमिटेड हो । गत आवको तेस्रो त्रैमाससम्ममा १३ करोड ५ लाख रुपैयाँ नाफा रहेको यो बैंकले यो वर्षको सोही अवधिमा २ हजार ३२.८० प्रतिशत बढाएर २ अर्ब ७८ करोड पुर्याएको छ । एनएमबि बैंकको नाफा चैत मसान्तसम्म ५.८८ प्रतिशतले बढेर २ अर्ब ३७ करोड रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब २४ करोड नाफा कमाएको थियो ।
प्रभु बैंकको नाफा ३.५१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड नाफा कमाएको थियो । सानिमा बैंकको नाफा १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आवमा १ अर्ब ४३ करोड ९४ लाख थियो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा बैंकको नाफा १४.८० प्रतिशतले बढेको हो ।
सबैभन्दा कम वृद्धिदर भने लक्ष्मी सनराइज बैंकको रहेको छ । यो बैंकको खुद नाफा समीक्षा अवधिमा २.२४ प्रतिशतमात्र बढेको छ । बैंकको नाफा चालु आवको तेस्रो त्रैमासमा १ अर्ब ६५ करोड रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ६१ करोड रुपैयाँ थियो ।
नेपाल एसबिआई बैंकको नाफा ३.३६ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब १६ करोड थियो । माछापुच्छ्रे बैंकको नाफा २८.८९ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ८५ करोड ५४ लाख रुपैयाँ थियो ।
चालु आवको तेस्रो त्रैमासमा एनआइसी एशिया बैंकको खुद नाफा सबैभन्दा बढी घटेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको यो बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड ६७ लाख रुपैयाँमात्र खुद नाफा कमाएको छ । यो ९१.८१ प्रतिशतले ऋणात्मक हो ।
प्राइम बैंकको नाफा २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी समीक्षा अवधिमा हिमालयन बैंकको खुद नाफा ७४.३३ प्रतिशत घटेको छ भने कुमारी बैंकको ७२.८५ प्रतिशत घटेको छ ।
सिद्धार्थ बैंकको नाफा ०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकको ४९.२९ प्रतिशतले घटेर १ अर्ब २० करोडमा झरेको छ । सिटिजन्स बैंकको नाफा २०.६० प्रतिशतले घटेर ९६ करोड १८ लाख हुँदा कुमारी बैंकको ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
१८ बैंकको निष्क्रिय कर्जा बढ्यो
चालु आवको तेस्रो त्रैमासमा निष्क्रिय कर्जा अनुपात (एनपीएल) आठ प्रतिशत नजिक पुगेको छ । यो अवधिसम्म २० मध्ये १८ वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा बढ्दा एक बैंकको करिब आठ प्रतिशत पुगेको हो ।
नौ बैंकको कुल निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ । तीन बैंकको ४ प्रतिशत वा सोभन्दा कम छ । स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र एभरेष्ट बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत वा सोभन्दा कम छ । नेपाल इन्भेष्टमेण्ट मेगा, हिमालयन, कुमारी, लक्ष्मी सनराइज, एनआईसी एशिया, नेपाल बैंक र प्रभु बैंकको पनि कुल निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको छ ।
कर्जा तथा नोक्सानी व्यवस्था गर्न ३५ अर्ब प्रोभिजनिङ
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले कर्जा तथा नोक्सानी व्यवस्था गर्न ३५ अर्ब ७ करोड रुपैयाँ छुट्याएका छन् । यो रकम गत आर्थिक वर्ष २०८०–८१ को सोही अवधिको तुलनामा ४ अर्ब ८० करोड रुपैयाँले कम हो । वाणिज्य बैंकहरुले गत वर्ष ३९ अर्ब ८७ करोड रुपैयाँ कर्जा नोक्सानीका लागि व्यवस्था गरेका थिए ।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा नोक्सानीका लागि रकमको व्यवस्था गर्नेमा कुमारी बैंक रहेको छ । यो बैंकले चैतसम्ममा ५ अर्ब १६ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ । दोस्रो धेरै नोक्सानी व्यवस्था गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यो बैंकले चैतसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि व्यवस्था गरेको छ ।
नोक्सानी व्यवस्थाका लागि सबैभन्दा कम रकम छुट्याउनेमा एभरेष्ट बैंक रहेको छ । यसले २७ करोड रुपैयाँमात्रै यस्तो रकमको व्यवस्था गरेको छ । एभरेष्टको यो रकम गत वर्ष ६३ करोड रुपैयाँ थियो । कर्जा नोक्सानी रिभर्स गर्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यसको गत वर्ष २५ करोड रुपैयाँ कर्जा नोक्सानी भएकोमा वर्ष ९ करोड ९० लाख ‘राइटब्याक’ गरेको छ ।