सम्पदा लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाले संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५६.१९ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्तर कार्यक्षेत्र भई ४४ जिल्लामा कार्यक्रम विस्तार गरेको सम्पदा लघुवित्तको चुक्ता पुँजी ७० करोड ०८ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ । वित्तीय संस्थाको साधारणसभाले पारित गरेको वित्तीय विवरण अनुसार पुँजीकोष ८.१५, खराब कर्जा ४.८०, इपिएस १० रुपैँया ४८ पैसा, खुद नाफा ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको सम्पदा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले जानकारी गराए ।
एक सय ५५ शाखा रहेको सम्पदा लघुवित्तमा १ लाख ७७ हजार ९ सय २ जना सदस्य रहेका छन् भने ७६ हजार ९ सय २० ऋणी रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले साधारण सभामा जानकारी गराएका थिए । सो साधारण सभाबाट संस्थापक (प्रोमोटर डाइरेक्टर) मा अर्जुनकुमार सिं, हरिप्रसाद डुम्रे, जिब मूर्ती पन्त, प्रदिप सिग्देल शर्मा निर्वाचित भएका छन् । यस्तै सर्वसाधारणका तर्फबाट भेषराज रोकाया र बिनोद तमाङ्ग चयन भएका छन् ।
साधारण सभामा शेयर सदस्यहरूले राखेको जिज्ञासाका बारेमा संस्थाका अध्यक्ष थापा तथा कम्पनी सचिव पवनकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत पौडेलले प्रष्ट पारेका थिए । कार्यक्रममा बन्दीपुर गाउँपालिकाको अध्यक्ष, शेयर सदस्य, तथा पूर्वसञ्चालकहरुले मन्तव्य राखेका थिए ।
थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले आ.व. २०८१/२०८२ को लागि लेखा परीक्षकमा बि.पी. एसोशिएटस् एण्ड चार्डड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ भने अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्नको लागि नयाँ बनेको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।