सिटिजन्स बैंकको १८औं वार्षिकोत्सव सम्पन्न
सिटिजन्स बैंकको क्रस बैंक टेलर क्युआर सेवा र फ्रील्यान्सर सेभिङ्ग अकाउन्ट सुरु

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १९औं वर्षमा प्रवेश गरेको अवसरमा १८औं वार्षिकोत्सव मनाएको छ । २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा स्थापना भएको सिटिजन्स बैंकले हालसम्म १८ लाख ७९ हजार ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।
हाल देशभर २०० शाखामार्फत सेवा दिइरहेको बैंकको निक्षेप रकम चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब २ खर्ब २ अर्ब पुगेको छ भने कर्जातर्फ १ खर्ब ७३ अर्ब परिचालन भएको छ । सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले देशभर पहुँच विस्तार गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आइतबार बिहानै सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसमा करिब ९२१ कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रमले वित्तीय साक्षरताका लागि जनचेतना फैलाउने अपेक्षा लिइएको बैंकले जनाएको छ ।
त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान नै जीवनदान” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा सातवटै प्रदेशका ३३ शाखाबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा एकैदिन रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
डिजिटल बैंकिङमा अग्रसर सिटिजन्स बैंकले “Brick Banking to Click Banking” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालमै पहिलो पटक ‘Cross Bank Teller QR’ सेवा सुरू गरेको छ । यस सेवाबाट अब अन्य बैंकका ग्राहकहरूले पनि सिटिजन्स बैंकको नजिकको शाखामा गई आफ्नो बैंकको मोबाइल बैंकिङमार्फत ‘Cross Bank Teller QR’ स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
यसले भुक्तानी प्रक्रियालाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ । साथै, बैंकले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि Tap & Pay सेवा पनि सञ्चालनमा ल्याएको छ । अब ग्राहकले Offline माध्यमबाट मोबाइलमार्फत नै ५,००० सम्मको भुक्तानी सजिलै गर्न सक्नेछन् ।
वार्षिकोत्सवकै अवसरमा बैंकले ‘Save Local, Earn Global’ नारासहित ‘Citizens Freelancer Saving Account’ को सुरुवात गरेको छ । विशेष गरी फ्रील्यान्सरहरूलाई लक्षित गरी तयार पारिएको यो खाताबाट ग्राहकले नेपाली रुपैयाँ तथा अमेरिकी डलर (USD) दुबैमा खाता खोल्न सक्ने छन् । यस खातामा उच्च ब्याजदर प्रदान गरिनेछ ।
त्यसैगरी, खातामा निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, डिम्याट खाता सुविधा उपलब्ध गराइएको छ । साथै, पहिलो वर्षका लागि OPD सेवामा ५ हजारसहित २५ हजारसम्मको स्वास्थ्य बीमा तथा दुर्घटना मृत्यु बीमा पनि प्रदान गरिने बैंकले जनाएको छ । १८ वर्षे यात्रामा ग्राहकहरुको साथ र विश्वासप्रति आभार प्रकट गर्दै बैंकले आगामी दिनमा अझ नवीनतम प्रविधिसहित सहज, द्रुत र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।