बैंकहरूको नाफा १.४ प्रतिशत बढ्यो

काठमाडौं- वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ । यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ ।
त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ । कुमारी, सिटिजन्स, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको नाफा घटेको हो । यी मध्ये पनि कुमारी, एनआइसी एसिया र हिमालयन बैंकको नाफा उच्चले घटेको छ । कुमारीको नाफा ७३ प्रतिशतले घटेर २८ करोडमा सीमित भएको छ । हिमालयनको ७४ प्रतिशतले घटेर ५० करोडमा सीमित भएको छ ।