गिडिदहमा पर्यटक भित्र्याउन पूर्वाधारमा जोड

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित कर्णालीको नयाँ पर्यटन गन्तव्य गिडिदहको प्रवर्द्धनका लागि तातोपानी गाउँपालिकाले गिडिदह भ्रमण वर्ष–२०८२ को शुभारम्भ गरेको छ । गिडिदहमा पर्यटक भित्र्याएर स्थानीयको आयस्तर वृद्धिसँगै रोजगारी सिर्जनामा टेवा पुर्याउने दीर्घकालीन सोचसहित गिडिदह भ्रमण वर्ष– २०८२ को शुभारम्भ गरिएको हो । गिडिदह भ्रमण वर्षको बुधबार प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले उद्घाटन गरे ।
उद्घाटनसँगै भ्रमण वर्ष सफल पार्न तातोपानी गाउँपालिका–४ मा आयोजित बहस कार्यक्रममा सहभागी सरोकारवालाले गिडिहलाई तातोपानीको मात्र नभई जिल्लाको समृद्धिको मेरुदण्डका रुपमा प्रवर्द्धन र विकास गर्नुपर्ने धारणा राखे । न्यूनतम पूर्वाधार बाटो, धर्मशाला, पदमार्ग, खानेपानी धारालगायतका केही संरचना बनाइएको छ । थप ठूला पूर्वाधार बन्ने क्रममै छन् । तर गिडिदहमा पर्यटकको आकर्षण बढेपछि पर्यटन प्रवर्द्धन गर्न पालिकाले गिडिदह भ्रमण वर्ष सुरु गरेको हो ।
गुमनाम गिडिदहलाई चर्चामा ल्याएर सबैको रोजाइको गन्तव्य बनाउन पालिकाले गरेका प्रयास प्रशंसायोग्य रहेको र पर्यटनबाटै समृद्धि सम्भव भएकाले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका हुन् । बहसको सुरुमा तातोपानी–४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाले गुमनाम गिडिदहको चर्चामा आएदेखि साढे दुई वर्षको अवधिमा गरिएका कामको फेहरिस्त सुनाए ।
साथमा सम्भावना चुनौती तथा अब गर्नुपर्ने कामका विषयमा समेत सरोकारवालालाई प्रकाश पारे । वडाध्यक्ष रोकायाका अनुसार गिडिदहसँगै तातोपानी–४ भित्र बिष्टज्यु, ठाकुरज्यु, शिवभण्डार वन, मष्टो देवता, गणेश गुफा, माझ पाटन, बजेडी खोला धप्के पाटन, लामाचौर, फूलचौल्या लगायतका पर्यटन गन्तव्य रहेका छन् भने लोपोन्मुख रेडपाण्डा पनि त्यस क्षेत्रमै पाइन्छ ।
पर्यटक भित्राउन पूर्वाधार निर्माणमा जोड
कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले गिडिदह मात्र नभई जिल्लाका सबै पर्यटन गन्तव्य प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । एक क्षेत्रको प्रवर्द्धनले मात्र जिल्लाको विकास नहुने भएकोले सबै पालिकाको आपसी समन्वय र सहकार्यमा काम गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, ’जिल्लाको पर्यटन विकास, कृषि उत्पादन वृद्धि तथा ऊर्जा विकासका काम केन्द्रित हुन जरुरी छ । पर्यटन र कृषि जुम्ला समृद्धिका आधार हुन् । गिडिदह भ्रमण वर्ष सफल पार्न पूर्वाधारमा पनि जोड दिन आवश्यक छ । जुम्ला आउने हरेक पर्यटकलाई अर्गानिक नासो दिने गरी उत्पादन वृद्धि र लेबलिङ प्याकेजिङमा ध्यान दिनुपर्छ ।’ पर्यटनसँगै कृषिमा जोड दिनुपर्ने भन्दै तीनै तहका सरकारमा निर्वाचित सबै जनप्रतिनिधिले पाँच वर्षसम्म पार्टीगत स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा काम गर्नुपर्ने उल्लेख गरे ।
हाँकुमा पक्की पुल निर्माण तथा फूलचौल्यासम्मको सडक निर्माणको पहललाई परिणाममुखी बनाउन लागिपरेको बताए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले तातोपानी गाउँपालिका पर्यटनसँंगै पूर्वाधार विकासमा जिल्लाकै अब्बल रहेको बताए । उनले पर्यटन पूर्वाधार अभावले पर्यटक भित्र्याउन कठिन हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले निर्वाचित भएकै पहिलो काम स्वरुप गिडिदह प्रवर्द्धनको काम थालनी गरेको बताए । पूर्वाधार विकास, प्रचार प्रसारका काम अघि बढाइएको उनको भनाइ छ । गिडिदह केन्द्रित पूर्वाधार निर्माणमा वन क्षेत्र परेकाले समस्या भएको छ ।
उनले भने, ’यस वर्षभित्र फूलचौल्यासम्म बाटो पुर्याउने लक्ष्य लिएका छौं । पदमार्ग, धर्मशाला अन्य संरचना बनिसकेका छन् । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएमा बजेट जुटाएर सडक निर्माण थाल्छौं । गिडिदहलाई तातोपानीको मात्र नसोची सबैले सहयोग गर्न आवश्यक छ ।’ कार्यक्रममा सहभागी स्थानीय दुर्गाप्रसाद पाण्डेले गिडिदहलाई तातोपानीको मात्र नभई जिल्लाले अपनत्व लिने गरी काम गर्नुपर्ने बताए ।
गिडिदहमा चहलपहल बढेसँंगै जडिबुटी, वन पैदावारको चोरी निकासी बढेकाले नियमन नियन्त्रणमा ध्यान दिन सुझाव दिए । डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढ्थापा विकाससँंगै वातावरण विनास हुँदै गएको बताए । गिडिदहमा निर्माण हुने हरेक संरचना वातावणमैत्री हुनुपर्नेमा जोड दिए । पूर्वाधार विकास बिना पर्यटक आउन मुस्किल हुने र हचुवामा बन्ने पूर्वाधार दीर्घकालीन असर गर्ने भएकाले ध्यान दिनुपर्ने उल्लेख गरे ।
गिडिदह प्रवर्द्धनमा केके भए काम ?
गुमनाम गिडिदहलाई चर्चाम ल्याउन तातोपानी गाउँपालिकाले २०७९ को असोज ४–६ गतेसम्म पहिलो गिडिदह सम्मेलनको आयोजना गर्याे । त्यसअघि गिडिदह क्षेत्रमा जानू हुँदैन, भूत लाग्छ भन्ने अन्धविश्वास थियो । तर प्रचुर पर्यटन सम्भावना बोकेको गिडिदहमा २०८९ साल असोज ४–६ गतेसम्म गिडिदह सम्मेलनमा पहिलो पटक ८४ जनाको सरकारी टोली पुगेपछि गिडिदह चर्चामा आएको हो । सम्मेलनमा पालिकाले तीन लाख खर्च गरेको थियो भने भिडियो बनाउन २५ हजार खर्च गरेको थियो ।
भौगोलिक रुपमा विकट गिडिदहमा पूर्वाधार बिना पर्यटक भित्र्याउन असम्भव भएपछि संघ प्रदेश र गाउँपालिकाको लगानीमा पूर्वाधार निर्माणदेखि प्रचार प्रसारका थुप्रै काम गरिएको वडाध्यक्ष रोकायाले उल्लेख गरे । जसमा हाल गिडिदहको प्रवर्द्धनका लागि सात लाख २५ हजार लगानीमा ६ किमि पदमार्ग निर्माण, १० लाख खर्चेर गिडिखोला भलखोला फूल्च्याउले लामाचौर गिडिदह जाने २० किमि सडकको डिपिआर निर्माण, वातावरणीय प्रभाव मूल्यांकन गरिएको छ । त्यस्तै १५ लाख लगानीमा गिडिदहमा धर्मशाला, खानेपानी धारा शौचालय निर्माण गरिएको छ ।
उक्त क्षेत्रमा वर्षाैं पहिला बनेको भवन जीर्ण बन्दै गएको थियो । अहिले गिडिदह पुग्ने पर्यटकलाई सहज भएको छ । त्यस्तै फूलचौल्यामा धर्मशाला निर्माणको काम भइरहेको छ । समुद्री सतहदेखि ३४ सय ८५ मिटर उचाइमा अवस्थित गिडिदहको लम्बाइ– १५ सय १० मिटर चौडाइ ३१० मिटर गहिराइ ४२.८ मिटर रहेको छ भने आकार र गहिराइका हिसाबले रारा ताल र शे–फोक्सुण्डोपछि तेस्रो ठूलो ताल हो । जहाँ पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेको छ । निर्माण भएका संचरना पर्यटकको आवश्यकता पूर्ति नहुने भएकोले थप पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखिएको छ ।