Logo

स्थानीय उत्पादन प्रवर्द्धन गर्न रैथाने बजार सुरु

चितवन– भरतपुर महानगरपालिका–२२ पटिहानीमा रैथाने बजार सञ्चालनमा आएको छ । भरतपुर महानगरले स्थानीयबासीले उत्पादन गरेका वस्तुलाई प्रवर्द्धन गर्न वडा नं. २२ पटिहानीमा रैथाने बजार सञ्चालन गरेको हो । नयाँ वर्षसँगै वडा कार्यालयले वडा कार्यालयसँंगै रहेको हस्तकला केन्द्र प्रदर्शनी भवनमा रैथाने बजार शुभारम्भ गरेको थियो ।

महानगर प्रमुख रेनु दाहालले उक्त बजारको शुभारम्भ गरेकी थिइन् । सो क्रममा बोल्दै प्रमुख दाहालले स्थानीयको जीविकोपार्जन बलियो बनाउन महानगर लागि परेको बताइन् । यस वडाका मुख्य सडकमा कालोपत्रे सकिएको भन्दै अब स्थानीयलाई प्रवर्द्धन गर्ने काममा महानगर अघि बढ्ने उनको भनाइ थियो । उनले कृषि, पर्यटन, शिक्षा, खेलकुदलगायत सबै क्षेत्रमा महानगरले उल्लेखनीय काम गरे पनि अझै बाँकी रहेको समयमा राम्रो काम गर्दै अघि बढ्ने बताइन् ।

रैथाने बजार शुभारम्भ कार्यक्रममा बोल्दै वडाध्यक्ष महतोले स्थानीले उत्पादन गरेर मात्र नहुने र त्यसको बजारीकरण आवश्यक रहेकाले वडाबाटै यो अभियानको थालनी गरिएको बताए । उनले महिलालाई विभिन्न हस्तकला लगायतका तालिम दिएर उत्पादनसमेत सुरु गरेकाले यो बजार प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं, आर्थिक समृद्धिको दिशामा अघि बढौं’ भन्ने नारासहित सुरु भएको रैथाने बजारमा कृषि, उत्पादन, डेरी उत्पादन, हस्तकलाका सामग्री, विभिन्न जातजातिको खानाका परिकार राखिएका छन् । महिलाले आफैले उत्पादन गरेका हस्तकलाका सामग्री पर्यटकले चासोका साथ अवलोकन गरेका थिए भने विदेशी पर्यटकले समेत किनमेल गरेका थिए ।

पटिहानीमा रहेको सोल्टी वेस्र्टन रिसोर्टबाट अवलोकन गर्न पुगेका पर्यटकले हस्तकलासँंगै कृषि उत्पादनसमेत किनमेल गरेका थिए । यस्तै पढ्दै कमाउँदै अन्तर्गत कृषि उत्पादन गरिरहेका अमर माविका प्राविधिक कृषिका विद्यार्थीले समेत आफ्नो उत्पादनलाई प्रवर्द्धन गरिरहेका छन् । वैशाख १ गतेबाट शुभारम्भ भएको रैथाने बजार अब प्रत्येक साताको शुक्रबार अपरान्ह्देखि रातिसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्