आगलागी र डुबानको जोखिममा मर्चवार

बुटवल- रुपन्देहीको दक्षिणी भेग मर्चवार विपद्को जोखिम क्षेत्र भएकाले त्यसको न्यूनीकरणका लागि पहल गर्न मर्चवारबासीले जनप्रतिनिधिलाई आग्रह गरेका छन् । मर्चवार क्षेत्र आगलागी र डुबानको बढी जोखिमयुक्त क्षेत्र हो । गर्मी सुरु भएपछि यहाँ आगलागीका घट्ना भइरहन्छन् । वर्षायाममा यो ठाउँ डुबानमा पर्ने गर्दछ ।
मर्चवारबासीले सम्भावित क्षति हुन नदिन अहिले नै तीनवटै तहका सरकारले ध्यानु दिनुपर्ने बताएका छन् । युएनडिपी र सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जालको सहकार्यमा चाँदनी नेपालले आयोजना गरेको सार्वजनिक सुनुवाइमा मर्चवारबासीले आफ्नो क्षेत्रमा विपद् न्यूनीकरणका लागि पर्याप्त बजेट छुट्याउनसमेत माग गरे ।
कोटइमाई गाउँपालिकाको मझगँवामा भएको कार्यक्रममा स्थानीयले गर्मी सुरु भएसँगै अब आगलागीका घट्ना भइरहने हुँद मर्चवारको तीन पालिकाका लागि कम्तीमा एउटा दमकल उपलब्ध गराउन आग्रह गरे । मर्चवार क्षेत्रमा दमकल नभएको र आगलागी भइहालेमा भैरहवाबाट दमकल आउन निकै ढिला हुने हुँदा धनजनको क्षति हुने उनीहरुको भनाइ छ ।
साथै वर्षाअघि नै डुबानको समस्या आउन नदिन उचित व्यवस्थापन हुनुपर्ने मागसमेत गरेका छन् । सहभागीको गुनासो सुनेपछि प्रदेश सांसदहरुले विपद् पूर्वतयारीका लागि प्रदेशस्तरबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कांग्रेस लुम्बिनी प्रदेश सभाकी प्रमुख सचेतक जमुना ढकालले संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिबीच समन्वय भएमा विपद् न्यूनीकरणका लागि सहज हुने बताइन् ।
उनले विपद् आउँदा नागरिक पनि सचेत हुनुपर्ने र प्रदेशबाट विपद्को प्रभावकारी कार्यक्रम ल्याउन आफूहरुले पहल गर्ने जानकारी दिइन् । नेकपा एमाले प्रदेशसभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले मर्चवारमा हुने डुबानजस्ता विपद् न्यूनीकरणका लागि प्रदेशस्तरबाट पहल गर्ने बताए । उनले प्रदेशमा विपद् व्यवस्थापन कोष रहेकाले त्यसको परिचालनका लागि पालिकासँग सहकार्यबाट अघि बढाउनुपर्ने धारणा राखे ।
मर्चवार क्षेत्रका प्रदेश सांसद बसिउद्धिन खाँले डुबानको जोखिमबाट बचाउन तिनाउ र दानव नदीको व्यवस्थापन अपरिहार्य भएको भन्दै त्यसका लागि आफूहरुले निरन्तर पहल गरिरहेको बताए । सो क्षेत्रका अर्का प्रदेश सांसद कन्यैया बानियाँले मर्चवारमा दमकलको व्यवस्था गर्न आफूहरुले निरन्तर पहल गरेको भन्दै यही जेठमा दमकल आउने जानकारी दिए ।
कार्यक्रममा पालिका प्रमुखहरुले मर्चवारमा विपद् न्यूनीकरणका लागि स्थानीयस्तरमा आफूहरुले पहल गरेको र बजेटको अभावमा कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । कोटइमाई गाउँपालिकाका प्रमुख बालकृष्ण त्रिपाठीले पालिकाको बजेटले मात्र विपद् न्यूनीकरण गर्न नसकिने भन्दै संघ र प्रदेशको सहयोग पनि चाहिने उल्लेख गरे ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तवले आफ्नो पालिकाका ३ वटा वडा दानव नदीको डुबान र कटानको जोखिममा रहेको भन्दै त्यसको नियन्त्रणका लागि माथिल्ला तहका सरकारले ध्यान दिनुपर्ने बताए । मर्चवारी गाउँपालिकाका अध्यक्ष गया बरयीले पालिकाको तर्फबाट सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिँदै प्रदेशबाट कम बजेट आउँदा थप कार्यक्रम गर्न नसकेको भनाइ राखे ।
चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेले विपद् न्यूनीकरणका लागि जनप्रतिनिधि र स्थानीयबीच संवाद होस् भनेर सार्वजनिक सुनुवाइ आयोजना गरिएको जानकारी दिए । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले विपद्को याम सुरु भएकाले यो बेला जोखिम न्यूनीकरणका लागि विशेष ध्यान दिनुपर्ने बताए ।
सञ्चारकर्मी रामविकास चौधरीले मर्चवारमा कुला नाला मेटिँदा पनि डुबानको जोखिम बढेको भन्दै अहिले भएका कुला नालाको सरसफाइ गर्नुपर्ने धारणा राखे । कार्यक्रममा वडाध्यक्ष सञ्जयकुमार सैनी, स्थानीय गोकुलप्रसाद यादव, सहाबुद्धिन देवान, इसारा अहमद मुशलमान लगायतले मर्चवारले पटकपटक विपद्को सामना गर्नुपरेकाले जोखिम न्यूनीकरणका लागि अब प्रभावकारी काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए । कार्यक्रमपछि प्रदेश सांसद, जनप्रतिनिधिले तटीय क्षेत्र दुई मुहानको अवलोकन गरेका थिए ।