निषेधित क्षेत्रमा उच्च सुरक्षा सतर्कता, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं- प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । शिक्षक कर्मचारीहरुले प्रदर्शन गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदर्शनको तयारीमा छ । काठमाडौंमा भइरहेका प्रदर्शनलाई मध्यनजर गरी सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रहरीले विभन्न क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ । मुख्य सडकबाट सवारी साधनलाई डाइभर्सन गरेपछि साँघुरा र भित्री सडकहरुमा गाडीहरुको चाप छ । त्यसैले ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या छ । नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरु मर्कामा परेका छन् ।
यता राप्रपाले आइतबारदेखि राजतन्त्र पुन: स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राप्रपाले पार्टीको बैठकबाटै निर्णय गरेर आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ । राप्रपाले आइतबार गर्न लागेको प्रर्दशनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ ।
गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार र भद्रकाली क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने काठमाडाैं जिल्ला प्रशासनले जनाएको छ ।