Logo

छैटौं बिमस्टेकमा नेपालको सहभागिता: फलदायी वा झिनो फाइदा

सम्मेलनमा सरकारी पक्ष
नेपाल र थाइल्यान्डसहित अरू सदस्य देशहरूबीच छैटौँ बिमस्टेकको सम्मेलन अप्रिल ४ मा सम्पन्न भएको छ । यसमा नेपाललाई लगानी र सहकार्यको सम्भावना खुलेको छ । थाइल्यान्डमा नेपालको उच्चस्तरको सहभागिताबाट बहुपक्षीय तथा प्राविधिक एवं आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिमस्टेक सम्मेलनमा नेपालको सहभागिता सफल भएको उल्लेख गरिएको छ । साथै, लगानीका अवसरहरू सृजना भएको छ । यस सम्मेलनमा नेपालको सहभागिता भएबाट दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्धमा थप उचाइ भएको महसुस गरिएको छ ।

दुई देशबीच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संसाधन विकासलगायत आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय मामिलामा सहयोग र सहकार्य गर्ने विषयमा नतिजामूलक छलफल भएको बताइएको छ । बौद्ध धर्म एवम् दर्शनले थपिएको सांस्कृतिक सम्बन्ध एवम् ६ दशकभन्दा बढीको द्विपक्षीय कूटनीतिक सम्बन्धलाई थप आयाम सुदृढ बनाउने र यसका आधारमा रहेर दुई देशबीच आर्थिक सम्बन्धलाई पनि समयानुकूल विस्तार र गाढा बनाउँदै दुई देशबीच सहमत भएको बताइयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्न नेपाललाई थाइल्यान्ड सरकारको सक्दो सहयोग रहने प्रतिबद्धता प्राप्त भएको छ । सम्बद्ध अधिकारीबाट कृषि, पर्यटन, पूर्वाधार विकास, सूचना प्रविधिलगायतका क्षेत्रमा सहयोग गर्न थाइल्यान्ड सरकार तयार भएको छ ।

द्विपक्षीय सम्बन्ध सुदृढीकरण साथसाथै जलवायु परिवर्तन, दिगो विकास, विश्व शान्तिलगायतका साझा चासोमा क्षेत्रीय द्विपक्षीय मञ्चहरूमा पनि आफ्नो सहयोग, सहकार्य थप बलियो र प्रभावकारी बनाउँदै जाने कुरामा दुई पक्ष नै सहमति भएको देखिन्छ । नेपाल र थाइल्यान्ड सरकारबीच आपसी सहयोग आदानप्रदान गर्ने सम्बन्धमा पर्यटन क्षेत्रमा सहयोग र सांस्कृतिक सहयोगसम्बन्धी सम्झौता एवम् निजी क्षेत्रीय सम्बन्ध समझदारीमा सहमति भएको देखिन्छ ।
सम्मेलनमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गरिँदै बंगालको खाडी र विश्वभर सघन परिवर्तन आएको र आर्थिक असमानता, बढ्दो वातावरणीय जोखिम, राजनीतिक अनिश्चतताजस्ता साझा वैचारिक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिइयो । शिखर सम्मेलनको नारा समृद्ध उत्पादनशील र खुला बिमस्टेकले दिगो विकासका लागि लक्ष्यहरू प्रतिविम्बित गर्नुका साथै नेपालको आफ्नो आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई समेत प्रतिध्वनित गरिएको देखिन्छ ।

वातावरणीय एवम् अन्य क्षेत्रीय, बाह्य चुनौतीबारे छलफल गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागिताका लागि बिमस्टेक देशका लागि समकक्षीलाई पुनः आमन्त्रण गरेको जानकारी गरियो । सम्बोधनका क्रममा जलवायु परिवर्तनले समस्त मानव समुदायको अस्तित्वलाई नै खतरामा पारेको र एसियाको चिस्यान्न केन्द्र तथा विश्वको ताप शोषकका रूपमा रहेको नेपालको हिमश्रृंखलामा जलवायु परिवर्तनका असर अझ अत्यधिक रहेको उल्लेख गरिएको छ ।

म्यानमार र थाइल्यान्डमा भूकम्पका कारण ठूलो जनधनको क्षति भएकोमा नेपाल सरकार, नेपाली जनताको तर्फबाट संवेदना प्रकट गरिएको छ । बिमस्टेकका क्षेत्रको विकास, समृद्धि र दिगोपनका लागि बिमस्टेक भिजन, २०३० कार्यान्वयन गर्न क्षेत्रीय रूपमा उपलब्ध आर्थिक वृद्धिका अवसरहरू उपयोगलगायतका विषय समेटिएको बैंककको घोषणापत्र जारी भएको छ । शिखर सम्मेलनअघि बिमस्टेक मन्त्रीस्तरीय बैठकले मानव स्रोत विकास, सार्वजनिक स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि, जलवायुलगायतका परिवर्तनसम्बन्धी कार्ययोजना पारित गर्दै यथाशीघ्र कार्यान्वयनमा लैजान जोड दिइएको छ । भ्रमणको दौरानमा नेपाली र थाइल्यान्डका व्यवसायीसँग नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त कानुनी, सामाजिक र आर्थिक वातावरण रहेको र वैदेशिक लगानीलाई सरल र सहज एवम् सुरक्षित र प्रतिफलमुखी बनाउन नेपाल प्रतिबद्ध रहेको भनिएको छ । साथै, लगानीका लागि आग्रह गरिएको छ । बिमस्टेक सम्मेलनका क्रममा भारतलगायतका अरू सदस्य सरकार प्रमुखहरूका भेटवार्ता भएको थियो ।

सम्मेलनमा निजी क्षेत्र
भ्रमण दलका व्यवसायीबाट नेपाल र थाइल्यान्डबीच संयुक्त वाणिज्य परिषद् अर्थात् जेबिसी गठन हुने भनिएको छ । यस अवसरमा व्यवसायीहरूबीच भेटघाट भएको थियो । यसमा दुई देशका पदाधिकारीबाट भेटघाट भएको देखिन्छ । भेटका अवसरमा पदाधिकारीहरूले परिषद् र बोर्ड अफ टे«ड गठन गरिएको छ । यो परिषद्ले निरन्तर संवाद, सहकार्यमा जोड दिने र व्यावसायिक अवसरहरूको खोजीमा रहनेछ । जेबिसीको गठन तथा थप आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक थुप्रै कानुन संशोधन तथा परिमार्जन गरिएको जानकारी दिइयो । अब सरकारले लगानीको सुरक्षाको प्रत्याभूति गरेको अवस्था छ ।

यसबाट सम्भावनाको थाई लगानीका लागि आवश्यक सहजीकरण गरिएको छ । नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा लगानी सम्भव छ । नेपालमा थाई व्यवसायीहरूसँग संयुक्त लगानी गर्न आह्वान गरिएको छ । नेपालले थाई व्यवसायीहरूलाई प्रस्तुत गर्नका लागि सम्भावनाहरूको अवलोकन गर्न आमन्त्रण गरिएको छ ।

थाई सरकारलाई नेपालीहरूलाई अन–अरावल भिसा दिने प्रक्रियाका लागि पहल गरिदिने भनिएको छ । वाणिज्य परिषद्मार्फत दुवै देशको आर्थिक विकासमा योगदान गर्न सकिने बताइएको छ । नेपालमा गरिने लगानीका लागि सहजताका लागि नेपाल सरकारसँग आवश्यक सहजीकरण गरिने भनिएको छ । दुई देशबीच आपसी सहकार्यका लागि बोर्ड अफ टेड तयार रहेको बताइएको थाई पक्षको भनाइ छ । नेपाली नागरिकका लागि अन–अराइभल भिसा प्रक्रियाका लागि सरकारसँग पहल गर्न प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्