एनआरएनएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गैरआवासीय नेपाली संघ महिला फोरमको आयोजनामा अछामको मंगलसेनमा आङ खस्ने समस्या भएका महिलाहरुको लागि छैटौं निःशुल्क स्वास्थ्य शिविर र पहिलो नाक कान घाँटी स्वास्थ्य शिविर सम्पन्न भएको छ । हालै सम्पन्न सो शिविरमा पाठेघर समस्या भएका करिब २०० जना महिलाहरुले जाँच गराएका थिए । यसरी नै ५०० जनाभन्दा बढी महिला, पुरुष र बालबालिकाहरुले नाक कान घाँटीसम्बन्धी स्वास्थ्य जाँच गराएका थिए । तीमध्ये २० जनाको शल्यक्रियाको लागि रेफर गरिएको छ ।
उद्घाटन सत्रमा प्रमुख आतिथि मंगलसेन नगरपालिकाका उपमेयरले यस प्रकारको स्वास्थ्य शिविर सञ्चालन गरेकोमा गैरआवासीय नेपाली संघ महिला फोरमलाई धन्यवाद प्रकट गरेका थिए । सो कार्यक्रममा विभिन्न वक्ताहरुले चेतनामूलक शिविर सञ्चालन गरेकोमा गैरआवासीय नेपाली संघ महिला फोरमको प्रशंसा गरेका थिए । कार्यक्रममा फोरमका संयोजक रजनी प्रधानले महिला फोरमका गतिविधबारे जानकारी दिनुका साथै शिविरमा संलग्न चिकित्सकहरु, मंगलसेन अस्पतालका अध्यक्षलगायत स्वास्थ्यकर्मीहरु र मंगलसेनका सरोकारवाला संघसंस्थाहरुको सहयोगप्रति आभार प्रकट गरेकी थिइन् ।
पाठेघर समस्या भएका महिलाहरुका लागि नवजीवन अस्पतालका चिकित्सिक डा. जयराम केसीका साथै उनीसँग गएको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । यसरी नै नाक कान घाँटी समस्या भएका विरामीहरुका लागि वीर अस्पताल तथा काठमाडौँ मोडल अस्पतालका नाक कान घाँटी विशेषज्ञ डा. जयन्द्र प्रधानाङ्ग र उनको टोलीले परीक्षण गरेको थियो ।