शताब्दी पुरानो मानव निर्मित सुरुङमा पर्यटक आकर्षित

बारा– नेपालकै पहिलो गाडी सञ्चालन गर्न बनाइएको शताब्दी पुरानो मानव निर्मित सुरुङ मार्गमा अहिले पर्यटकले यात्रा गर्न थालेका छन् । बाराको चुरियामाई मन्दिर छेवैमा रहेको अभिलेखअनुसार सन् १९१७ मा चुरेको पहाडलाई हाते औजारको प्रयोग गरी खनेर बनाइएको करीब पाँच सय मिटर लामो दक्षिण एसियाकै पहिलो सुरुङमा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
नेपाली इन्जिनियर डिल्लीजङ थापाको अवधारणामा मासिसले खनेर बनाएको सुरुङलाई केही समयअघि बाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले करिब चार करोड रुपैयाँ खर्चेर पुनर्निर्माण गरेपछि अहिले सो मार्गमा पर्यटकले पैदल यात्रा गर्न पाएको नाट्टामा मधेश प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।
पर्यटकीय र अध्ययन प्रयोजनका लागि यो सुरुङ मार्ग नेपालमै नमुना स्थल रहेको बताउँदै शर्माले भूगोलविद्ध टोनी हेगनसहितका अन्तर्राष्ट्रिय पुस्तकमा चर्चा गरिए पनि वर्तमान अवस्थामा मधेश प्रदेश तथा स्थानीय सरकारले सुरुङ मार्गको ऐतिहासिक पक्ष प्रवर्द्धन हो भने आन्तरिक पर्यटकमा सीमित नभई भारतीयसहित विभिन्न मुलुकका नेपाल आउने पर्यटकको प्वाइन्ट बनाउन सकिने बताए ।
चुरे पर्वतको टाकुरामै रहेको सुरुङ पुग्न मुख्य राजर्मागबाट करीब २ सय मिटर पैदल गर्नुपर्छ । त्यहाँ पुगेपछि फरक मौसमको अनुभूति गर्न सकिने पर्यटकहरु बताउँछन् । सुरुङ प्रपेशद्वार छेवैमा चुरीयामाई मन्दिर, ऐतिहासिक शिलालेख, सुरुङ निर्माता थापाको शालिन देख्न सकिन्छ । नेपालमा हाल सञ्चालित त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग नबन्दै राजधानी प्रवेश गर्ने साना खालका यातायातका साधन गुडाउन मिल्ने गरी यो सुरुङ बनाइएको चुरियामाई मन्दिरका मुख्य पुजारी राजु नगरकोटीले बताए ।
एक शताब्दी अघि गाडी गुडाउन मिल्ने गरी बनाइएको यो सुरुङमा अब भने पैदल मात्रै हिडन पाउने उनले बताए । ५०० मिटर रहेको सुरुङको लम्बाइ अहिले २२६.८ मिटर मात्रै रहेको छ । यसको आधा भागलाई भत्काएर महेन्द्र राजमार्गको सडक बनाइए पछि सुरुङको लम्बाइ छोटिएको हो ।