संस्थागत विद्यालयमा भर्ना अभियान चल्दा सामुदायिक बन्द

दाङ– नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको हो । सरकारले सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न आग्रह पनि गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेको हो । मन्त्रालयले शैक्षिक सत्र २०८२ अभियान सफल पार्न मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई सात बुँदे अनुरोधसहित भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ । विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्न/गराउन भनिएको छ ।
सरकारले नयाँ वर्षको दिनदेखि नै नयाँ भर्ना अभियान सुरू गरेर सबै शिक्षक तथा कर्मचारीलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ । वैशाख २ गतेदेखि देशभर घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका पनि छ, तर अभियान अलपत्र बनेको छ । शिक्षकहरुको सडक आन्दोलनका कारण कार्यक्रम प्रत्यक्षरुपमा प्रभावित भएको हो । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौंमा गरिरहेको शैक्षिक आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेको छ ।
महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पुर्याउन भन्दै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुने बताएको छ । यही वैशाख ११ गतेदेखि सुरू हुने कक्षा १२ को परीक्षा सञ्चालनमा पनि शिक्षक कर्मचारी सहभागी नहुने भएका हुन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले यथाशीघ्र शिक्षा ऐन ल्याएर विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फ कदम चाल्नुपर्ने बताउँदै ऐन जारी नभएसम्म विद्यालय नफर्कने अडान लिएको बताए । विगतका वर्षमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका थिए । तर शिक्षक आन्दोलनकै कारण यो पटक भने भर्ना अभियान अन्योलमा परेको छ ।
प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौंका सडकमा भएकै कारण विद्यार्थी भर्ना अभियान अवरुद्ध छ । चैत २० गतेदेखि आन्दोलन गरिरहेका उनीहरुले चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल नै घोषणा गरेका छन् । शिक्षक आन्दोलनकै कारण गढवा गाउँपालिकाका विद्यालयनै बन्द छन् । रिजल्ट पनि सबैको प्रकाशित भएको छैन । गढवा गाउँपालिकाका शिक्षा शाखा अधिकृत श्यामबहादुर विकले भर्ना अभियान सञ्चालन नभएको जानकारी दिए ।
‘सरहरु सडकमा हुनुहुन्छ कसरी अभियान सञ्चालन हुनु र ?’ उनले भने, ‘पालिकाबाट प्रकाशन हुने कक्षा ८ को नतिजा प्रकाशन भयो तर विद्यालयले आन्तरिक प्रकाशन गर्ने रिजल्ट केहीको बाँकी छ । पालिकाले नै शिक्षक आन्दोलनलाई समर्थन गरेकोले अहिले विद्यालयनै सबै बन्द छन् ।’ गढवा गाउँपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाले पनि शिक्षक आन्दोलनलाई समर्थन गरेको बताउँदै उनले सबैतिर अभियान प्रभावित भएको बताए । उनले पाठ्य पुस्तक भने विद्यालयमा जाने क्रम जारी रहेको बताए ।
राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृत विश्वास विकले पनि भर्ना अभियान सञ्चालन गर्ने सूचना निकाले पनि अभियान सञ्चालन नभएको जानकारी दिए । ‘संस्थागत विद्यालयको त अभियान सञ्चालन भइरहेको नै छ । तर सामुदायिक विद्यालयको भने भर्ना अभियान चलेको छैन’ उनले भने, ‘शिक्षकहरु संघीय सरकारसँग आन्दोलनमा हुनुहुन्छ । आन्दोलनमा शिक्षक गएकै कारण हालसम्म धेरै विद्यालयको रिजल्ट नै प्रकाशन भएको छैन ।’
उनले पालिका अनुदानका शिक्षकले भने भर्नाका लागि घरदैलो गरीरहेको जानकारी दिए । रिजल्ट नै प्रकाशन नभएकाले समस्या भइरहेको उनको भनाइ छ । ‘समस्या त रिजल्टकै हो । रिजल्ट नआइकन कसरी भर्ना लिने ? पास फेलकै अवस्था थाहा भएन’ उनले भने, ‘पालिका अनुदानका शिक्षकले भने बाहिरबाट आउनेको हकमा भर्ना लिइराख्नुभएको छ ।’
तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत चक्रबहादुर भण्डारीले पनि औपचारिक रुपमा भर्ना अभियान सञ्चालन नभएको जानकारी दिए । ‘विद्यालय व्यवस्थापन समिति तथा केही शिक्षक मात्रै अभिभावकको घरमा जान थालेको सुनेको छु’ उनले भने, ‘औपचारिक रुपमा भर्ना अभियान चलेको छैन ।’
बबई गाउँपालिकाका शिक्षा शाखाका रामचन्द्र वलीले रिजल्ट प्रकाशित भइसकेको भए पनि भर्ना अभियान सञ्चालनमा अन्यौलता रहेको जानकारी दिए । ‘शिक्षक आन्दोलनले अन्यौलता भएको हो । विद्यालयले आन्तरिक रुपमा विद्यार्थी बोलाउने काम भने गरिरहेका छन् । तर पोहोर परार जस्तो उत्साहजनक रुपमा भर्ना अभियान सञ्चालन भएको छैन’ उनले भने, ‘शिक्षक आन्दोलनको प्रभावले अभियान प्रभावित भएको छ ।’
बंगलाचुली गाउँपालिकाका शिक्षा अधिकृत ओमप्रकाश केसीले पनि शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित बनेको बताए । ‘सर सबै काठमाडौं जानु भएको छ । आधा सर उतै हुनुहुन्छ । विद्यालय लथालिंग छ । भर्ना अभियान सञ्चालन भएको छैन’ उनले भने ‘रिजल्ट भने प्रकाशित भएको छ । कक्षा ८ को पालिकाले प्रकाशन गरेको छ भने आन्तरिक पनि केही आन्दोलन पहिले प्रकाशन भएको थियो भने केहीले विद्यालयमै टाँसेर जानकारी दिएका छन् । आठ कक्षाको ग्रेडवृद्धिको लागि भने बैठक बस्न सकिएको छैन । त्यसमा पनि आन्दोलनले नै प्रभाव पारेको छ ।’