Logo

नाग्म–गमगडी पर्यटकीय मार्ग कालोपत्रे गर्न माग

जुम्ला– नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य मुगु जिल्लास्थित रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक कालोपत्रे गर्न संघीय सरकारलाई माग गरिएको छ । सडक सञ्चालनको डेढ दशक समय भइसक्दा पनि अझै हिलाम्य र धुलाम्य रहेकाले आगामी आर्थिक वर्षमा सडक कालोपत्रे गर्नका लागि माग गरिएको हो ।

नाग्मदेखि मुगु गमगडीसम्म ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी सडक बजेट अभावले स्तरोन्नति नहुँदा रारा पुग्ने पर्यटक र दैनिक आवतजावत गर्ने नागरिकले सास्ती पाएका छन् । सडक सञ्चालन भएको डेढ दशक बितिसक्दा पनि कालोपत्रे नभएपछि रारा आउने पर्यटक र नागरिकले पाएको सास्तीलाई मध्यनजर गर्दै जुम्ला निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईले नाग्म–गमगडी सडक कालोपत्रेको योजना वार्षिक नीति कार्यक्रम र बजेटमा समावेश गर्न माग गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेललाई भेटेर प्रदेशसभा सदस्य पछाईले नाग्म–गमगडी सडक कालोपत्रे योजना आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा समावेश गरिदिन माग गसेका हुन् । ९३ किमि दूरीको उक्त सडकको ६ किमि सडक डेढ दशकपछि कालोपत्रे भए पनि ८७ किमि सडक अझै हिलाम्य र धुलाम्य रहेकाले संघीय सरकारलाई पूरै सडक कालोपत्रे गर्ने योजना समावेश गर्न माग गरेको प्रदेशसभा सदस्य टेकराज पछाईले बताए ।

रारा जाने सडक मार्ग भरपर्दाे नभएका कारण पर्यटकले मात्र सास्ती पाएका छैनन् । पटकपटक भएका सवारी दुर्घटनाले धेरैको ज्यानसमेत गइसकेको छ । हिउँदमा हिलो र बर्खामा हिलो हुने समस्याले यात्रा कष्टकर हुने गरेको गुनासो बढेपछि आगामी आवको बजेटमा सडक कालोपत्रेको योजना समावेशका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराएको प्रदेशसभा सदस्य पछाईको भनाइ छ । नाग्म–गमगडी सडकको जिरो प्वाइन्टबाट कालोपत्रे हुनुपर्ने हो ।

उनले भने, ‘तर गत वर्ष भएको ६ किमि कालोपत्रे बीचमा मात्रै भएको छ । अब सुरुवाति विन्दुबाटै कालोपत्रे गर्नुपर्ने र बहुवर्षीय आयोजनाका रुपमा नाग्म–गमगडी सडकको कालोपत्रे योजनालाई अघि बढाउन आवश्यक छ ।’ पटक पटक नाग्म–गमगडी सडकको स्तरोन्नतिका विषयमा माग गरे पनि सरकारले निरन्तर उपेक्षा गर्दै आएको छ । हरेक वर्षको वार्षिक नीतिमा प्राथमिकता दिए पनि नाग्म–गमगडी सडक, कर्णाली राजमार्गलाई सरकारले उपेक्षा गर्दै आएको छ ।

जसले गर्दा कर्णालीमा आएका पर्यटकले सास्तीमात्र पाएका छैनन् । कर्णालीको उत्पादनले उचित बजार पाउन सकेको छैन । कर्णालीको आर्थिक समृद्धि, रोजगारी सिर्जनाको मुख्य आधार पर्यटन क्षेत्र भए पनि पूर्वाधार अभावले अपेक्षित लाभ लिन नसकेको स्थिति छ । रारा तालको उचित प्रवर्द्धन तथा सडक पूर्वाधार निर्माण, होटल बास व्यवस्थापन, अतिथि सत्कार लगायतका क्षेत्रमा लगानी बढाएमा सरकारको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने सम्भावना छ ।

तर नाग्म–गमगडी सडक सुधार नभएकै कारण रारा पुग्ने हरेक पर्यटकले राज्यको आलोचना गर्ने गरेका छन् । केही समयअघि जुम्ला हुँदै रारा पुगेका एमाले नेता गोकुल बास्कोटाले पनि कर्णालीमा राराताल, चनदननाथ, सिंजा उपत्यका, गिडिदहजस्ता सम्भावना भए पनि गतिलो नेता नभएको र राज्यलाई दबाब नपुगेका कारण सम्भावना भएर कर्णालीले गरिबको परिचय पाएको बताएका थिए । नाग्म–गमगडी सडक सञ्चालनको करिब डेढ दशकपछि कालोपत्रे भएको हो ।

कुल ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी सडकको ६ किमि कालोपत्रे भएको हो । नेपाली सेनाले ट्रयाक खोलेर २०६५/०६६ सालदेखि सञ्चालनमा आएको नाग्म–गमगडी सडक डेढ दशकपछि ६ किलोमिटर सडक कालोपत्रे भएको छ । नाग्म–गमगडी सडकअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा पर्ने कनकासुन्दरी–७ रोकायाबाडा गाउँदेखि वडा नं. २ बोतागाउँसम्म ६ किमि सडक कालोपत्रे भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

६ किमि सडक कालोपत्रे गर्न छुट्टै बजेट नआएको र महावु हुँदै नाग्म–गमगडी सडक निर्माणको ठेक्काअन्तर्गत ३५ करोड लगानी भित्र ६ किमि सडक कालोपत्रे भएको उल्लेख गरे । रोकायाबाडा, गुरुचौर, गोठिज्युला हुँदै हाँटसिंजासम्म कालोपत्रे भइसकेको छ । कालोपत्रेदेखि नाग्म–गमगडी सडकको अन्य निर्माणको ठेक्का (थोदुङ बासना जेभी) निर्माण कम्पनीले कालोपत्रे गरेको थियो । जुम्लाबाट निर्वाचित सांसदहरूले नाग्म–गमगडी सडकलाई कालोपत्रे गर्ने भन्दै वाचा गरे पनि पर्याप्त बजेट भने हालसम्म आउन सकेको छैन ।

सडक डिभिजनले महावु–नाग्म–गमगडी सडक स्तरोन्नति अन्तर्गतको बजेटबाट यो वर्ष ६ किमि सडक कालोपत्रे गरिरहेको छ । ३२ किमि रोकायाबाडादेखि ३८ किमि बोतासम्म बीचको ६ किमि कालोपत्रे गरिएको छ । ९३ किमि दूरीको सडकमा ६ किमि दूरी कालोपत्रे हुँदा नागरिक खुसी छन् । उक्त खण्डमा सरर यात्रा गरेपछि आनन्द महसुस गरेका नागरिक अरु विकास छोडेर नाग्म–गमगडी सडक पूरै पिच हुनुपर्ने कनकासुन्दरीका स्थानीय दिपेन्द्र उपाध्यायको माग छ ।

६ किमि सडकबाहेक अन्य खण्ड स्तरवृद्धि नहुँदा धुलो र हिलोेले सास्ती पाएका पर्यटक कालोपत्रे भएको सडक खण्डमा रोकिएर फोटोसमेत खिचाउँछन् भने कर्णाली राजमार्गको जोखिम मोलेर रारा नजिक पुग्ने बेला कालोपत्रे दुई लेनको सडक देख्दा सबै पर्यटक मख्ख छन् । नाग्म–गमगडी सडकको प्रस्थान विन्दुबाटै कालोपत्रे हुनुपर्ने सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्