Logo

कृषकलाई चैते धान रोप्ने चटारो

दाङ– जिल्लाको पहाडी क्षेत्र भूगोलका दृष्टिले विकट मानिने बंगलाचुली गाउँपालिका अन्तर्गत अर्जुन खोला र सुकाखोलाका फाँटहरू कृषिका लागि भने उर्वरभूमिका रूपमा रहेका छन् । वर्षाको समयमा यातायात सुविधाबाट वञ्चित हुने यी ठाउँका स्थानीयलाई कृषिका लागि अर्जुन खोला र सुकाखोला वरदान बन्ने गरेका छन् । कहिल्यै पानी नसुक्ने अर्जुन र सुका खोलाको पानीलाई सिँचाइमा परिणत गरेर स्थानीयले तरकारी खेतीसँगै वर्षामा दुई बाली धानखेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।

बंगलाचुली गाउँपालिका–८ खैरेनी निवासी शेरबहादुर बुढाथोकी चैते धान रोप्न व्यस्त छन् । वैशाखको गर्मीमा पनि धान रोप्नका लागि खेत जोत्ने, पानी मिलाउने, व्याड काट्न बुढाथोकीको परिवारका सदस्यलाई भ्याइ नभ्याइ छ । बुढाथोकीले अर्जुन खोलाको छेउमा रहेको करिब १० कट्ठा खेतमा चैते धान रोप्न थालेको बताउँछन् । घर परिवारका लागि फुर्सदको समयमा चैत धानखेती थप आम्दानीको स्रोत बन्ने भएपछि विगत लामो समयदेखि चैते धानखेती गर्दै आएको बुढाथोकी बताउँँछन् ।

अर्जुन खोलाको पानीले सिँचाइको सुविधा भएकाले बर्खेसँगै चैते धानखेती गर्न सहजता भएको बुढाथोकीले बताए । उनले भने, ‘यो किसानका लागि आम्दानी बढाउने राम्रो माध्यम हो ।’ उनका अनुसार किसानले चैतको अन्तिम वा वैशाखको पहिलो हप्तासम्म रोपेर सक्ने र असारको अन्तिम वा साउनको पहिलो हप्तासम्म धान पाक्ने गर्दछ । चैते धान रोप्नका लागि किसानले फागुन महिनामा ब्याड राख्ने गरेको बताउँछन् ।

खैरेनीकै चुमा रानाको परिवार धान रोप्न व्यस्त छन् । वर्षमा दुई बाली धानखेती गर्ने गरेको राना परिवारले करिब ६ कट्ठा खेतमा अहिले चैते धान रोप्न लागेको रानाले बताइन् । पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको राना बताउँछिन् । अर्जुन खोलाको पानीले सिञ्चित भएको करिब ६ कट्ठा खेतमा चैते धान रोप्ने काम भइरहेको रानाले बताइन् । वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयको परम्परा जस्तै भएको उनको भनाइ छ ।

रानाले भनिन्, ‘चैते धानका लागि यो ठाउँमा पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रो हुने भएकाले वर्षौंदेखि हामीले चैते धान रोप्दै आएका छौं ।’ उनका अनुसार स्थानीयले चैते र बर्खे गरेर वर्षमा दुई बाली धानखेती गर्ने गरेका छन् । पहाडी क्षेत्रमा थोरै जग्गा हुने भएकाले एक बालीमात्रै खेतीले परिवारलाई खानसँगै घर व्यवहार चलाउन समस्या हुने भएकाले बर्सेनि दुई बाली धानखेती गर्ने गरेका छन् । वर्षमा दुई बाली धानखेती गरेर राम्रो आम्दानी हुने भएपछि बंगलाचुली गाउँपालिका ३, ४ र ८ नम्वर वडाका अधिकांश किसानले चैते धान रोप्ने गरेको बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष डाँसबहादुर डाँगी बताउँछन् ।

उनका अनुसार खैरेनी, गहतेरा, सुकाखोला लगायतका ठाउँमा चैते धानखेती हुने र पहिलेको तुलनामा बढ्दै गएको छ । सिँचाइ सुविधासँगै आम्दानी राम्रो हुने भएपछि पछिल्लो समय धेरै किसानले चैते धानखेती गर्न थालेको बताए । वडाध्यक्ष डाँगीका अनुसार वर्षमा दुई बाली धानखेती गर्ने किसानले एक बाली गहुँ वा मसुरो छर्ने गरेका छन् । अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुन: सोही खेतमा बर्खे धान रोप्ने गर्दछन् ।

कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराम लामिछानेका अनुसार गत वर्ष दुई सय हेक्टरमा चैते धानखेती भएको थियो । अघिल्लो वर्ष १९८ हेक्टर र यस वर्ष दुई हेक्टर थप गरेर दुई सय हेक्टरमा चैते धानखेती भएको उनको भनाइ छ । हाल जिल्लामा ९२० मेट्रिक टन चैते धान उत्पादन हुने गरेको उनले बताए । जिल्लाको देउखुरी, बंगलाचुली क्षेत्रतर्फ पश्चिम क्षेत्रमा चैते धानखेती गर्ने गरिएको छ ।

चैते धानको राम्रो सम्भावना भए पनि अपेक्षाअनुसार धानखेती गर्ने क्षेत्र विस्तार हुन नसकेको ज्ञान केन्द्रले जनाएको छ । पानीको सुविधा हुनुपर्ने र वर्षातको समयमा चैते धान भित्र्याउनु पर्ने भएकाले नागरिकले समस्या भोग्दै आएका छन् । चैते धानबाट राम्रो आम्दानी हुने भए पनि वर्षाको समयमा धान भित्र्याउन समस्या हुने भएकाले पछिल्लो समय केही परिवारले धानखेती गर्न छोडेको कृषकहरू बताउँछन् । अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुन: सोही खेतमा बर्खे धान रोप्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्