Logo

कर्णालीमा पाँच हजार उद्योग खारेज

वीरेन्द्रनगर– कर्णाली प्रदेशका दश जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेज भएका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण ५ हजार तीन सय ६३ उद्योग खारेजीमा परेका हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योगहरू परेको बताए । दैलेखमा १ हजार ६७५ वटा खारेज भएका छन् ।

दोस्रो खारेजीमा पर्नेमा सुर्खेत रहेको छ । सुर्खेतमा १ हजार ४५५ वटा खारेज भएका छन् । कालिकोटमा ४७८, जुम्लामा ५८७, मुगुमा २१, सल्यानमा ५०२, जाजरकोटमा ४२७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा ९ र रुकुम पश्चिममा १५८ वटा उद्योग खारेज गरिएका छन् । कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएका थिए । सबैभन्दा बढी सुर्खेतमा उद्योग दर्ता गरिएको थियो । सुर्खेतमा मात्र १४ हजार २६५ वटा उद्योग दर्ता भएको निर्देशनालयले जनाएको छ ।

हाल यहाँ १ हजार ३४१ उद्योग मात्र नवीकरण भएका छन् । दैलेखमा ४ हजार ७ सय ४८ उद्योग दर्ता गरिएकोमा हालसम्म ३ हजार ५९१ वटा उद्योगहरू नवीकरण गरिएको छ । कालिकोटमा २ हजार ८३७ वटा उद्योग दर्ता भएकोमा हाल १ हजार ९३६ वटा मात्र उद्योग नवीकरण गरिएको छ । जुम्लामा ४ हजार ३८६ वटा उद्योग दर्ता भएकोमा २ हजार ३५७ वटा मात्र नवीकरण भएको कार्यालय प्रमुख सापकोटाले बताए । मुगुमा २ हजार २३ वटा उद्योग रहेकोमा हाल ४५० वटा मात्र नवीकरण भएका छन् ।

सल्यानमा ३ हजार ६६३ वटा उद्योग रहेकोमा ३ हजार २१७ वटा मात्र सञ्चालनमा रहेको निर्देशनालयले जानकारी दिएको छ । जाजरकोटमा ३ हजार ६८ दर्ता भएकोमा १ हजार ८९७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ । त्यस्तै, डोल्पामा २ हजार २३६ उद्योग दर्ता भएकोमा हाल ९२२ मात्र नवीकरण भएको निर्देशनालयले जनाएको छ । हुम्लामा ३ हजार ७१९ वटा उद्योग दर्ता भएकोमा हाल आएर ७३६ वटा मात्र नवीकरण गरिएको छ ।

त्यस्तै रुकुम पश्चिममा २ हजार ७३३ उद्योगमा २ हजार २५० उद्योग मात्र सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्यांकमा उल्लेख छ । १ लाख २१ हजार ५५५ जनाले यी दर्ता भएका उद्योगबाट रोजगारी पाएको निर्देशनालयले जनाएको छ । ‘प्रदेशमा ऊर्जामूलक, पर्यटन, खानीजन्य, कृषि तथा पशुपन्छीजन्य, जडीबुटीजन्य तथा वन पैदावारजन्य उद्योगको प्रचुर सम्भावना रहेको छ ।

यस्ता खालका उद्योगको स्थापना, विकास र विस्तार गरी उच्च रोजगारीका अवसर सिर्जना गर्न सकिने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रदेशका अधिकांश पहाडी तथा उच्च हिमाली जिल्लाहरूमा जडीबुटी तथा औषधिजन्य उत्पादनमा आधारित उद्योग, दैलेखमा पेट्रोलियम खानीजन्य उद्योग र जाजरकोटमा ग्रेनाईटको खानीजन्य उद्योगलगायत अन्य उद्योग सञ्चालन गर्न सके प्रदेशको अर्थतन्त्रमा ठूलो योगदान हुने प्रतिवेदनले औंल्याएको छ ।

अहिले प्रदेश सरकार पूर्ण रूपमा केन्द्रको अनूदानमा निर्भर छ । प्रदेशमा राजस्व संकलनले सन्तोष जनक नहुँदा समस्या हुँदै आएको छ । प्रदेशमा ऊर्जामूलक, पर्यटन, खानीजन्य, कृषि तथा पशुपन्छीजन्य, जडीबुटीजन्य तथा वन पैदावारजन्य उद्योगको प्रचुर सम्भावना रहेको छ । यस्ता खालका उद्योगको स्थापना, विकास र विस्तार गरी उच्च रोजगारीका अवसर सिर्जना गर्न सकिने प्रतिवेदनले उजागर गरेको छ ।

कर्णालीमा ठूला उद्योगको अवस्था
उद्योग विभागको तथ्यांकअनुसार कर्णालीमा चार वटा ठूला उद्योग दर्ता भएका छन् । दर्ता भएका ठूला उद्योगमा पश्चिम सुर्खेतको चौकुनेमा सूर्यतारा सिमेन्ट उद्योग प्रालि, रुरुगाड पावर कम्पनी प्रालि, रारा होल्डिङ प्रालि र रुकुम पश्चिममका स्यार्पु पावर कम्पनी छन् । यी उद्योग दर्ता भएको लामो समय भइसक्दा पनि काम अगाडि बढेको छैन । सूर्यतारा सिमेन्ट व्यवसायी अजय सुमार्गीले स्थापना गर्ने भनिए पनि लामो समयदेखि कामअघि बढेको छैन ।

उनले यो उद्योगका लागि चुनढुंगा उत्खननको अनुमति लिएको डेढ दशक भइसकेको छ । तर अहिलेसम्म उद्योग स्थापनाले मूर्त रूप लिन सकेको छैन । दर्ता भएका अन्य ठूला उद्योगको अवस्था पनि उस्तै छ । यी उद्योग कहिले खुल्छन् भन्ने अझै ठेगान हुन सकेको छैन । कर्णालीमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव तथा विकट भौगोलिक बनावट जस्ता प्रमुख कारणले ठूला उद्योग सञ्चालन हुन नसकेको राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्