मनको इच्छा पूरा गर्ने मनकामना माई

मनकामना माईको मन्दिर गोरखाको सहिद लखन गाउँपालिकामा पर्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो । मनकामना माईको मन्दिर तीर्थाटनका लागि मात्र नभएर ऐतिहासिक महत्व बोकेको मन्दिरसमेत हो । मनकामना माईका सात दिदीबहिनी छन् । जेठी बूढीकन्या माई र माहिली छिम्केश्वरी माई पश्चिमपट्टि देखिने छिम्केश्वरी महाभारत पर्वत तनहुँ जिल्लामा पर्छ । साहिँली बहिनी गोरखा कालिका माई हुन् भने काहिँली मनकामना माई हुन् । केबुल स्टेसनको पार्कबाट दक्षिणपट्टि चितवन जिल्लाको महाभारत पर्वतमा अन्तरी बहिनी इच्छाकामना माईको मन्दिर पर्छ । त्यसपछि जन्तरी बहिनी अन्नपूर्ण माई र कान्छी बहिनी अकला माई हुन् भन्ने किंवदन्ती छ ।
विशेष गरी बडादसैँ, चैते दसैँ, नागपञ्चमी, अष्टमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन पूजा गर्न भक्तजनहरूको भीड लाग्ने यस मन्दिरमा बाहै्र महिना आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरू आई पूजाआजा गर्ने गर्छन् । मनकामना माईको तीर्थाटन गर्नाले मनले चिताएको इच्छा अर्थात् मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । मनकामना मन्दिरमा नित्य पूजा बिहान ७ बजे र साँझ ६ बजे गरिन्छ । भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधारणका लागि बलि र पूजा सुरु हुन्छ । मनकामनामा विशेष गरी अष्टमी तिथिका दिन बलि चढाइन्छ ।
मनकामना माईको इतिहासमा गोरखाका १६ औँ शताब्दी (वि.सं. १६१४ देखि १६३६) सम्मका राजा राम शाहकी रानी र लखन थापाको नाम जोडिन्छ । राजा र जनताको अगाडि सामान्य महिला बन्ने राजा राम शाहकी रानी लीलावती मनकामना माईको अवतार थिइन् । मनकामनामा ईश्वरीय यथार्थता गुरु गोरखनाथलाई थाहा थियो । यसै क्रममा गुरु गोरखनाथले मनकामनाका लागि शुद्ध चित्त भएको भक्त खोज्न थाले । यस्तो शुद्ध व्यक्ति खोज्दै जाँदा उनले दाउरा काटिरहेको लखन थापालाई भेटे । उसको निष्पक्ष सरलता देखेपछि गुरु गोरखनाथले लखन थापालाई शिक्षा र ज्ञान दिए । यसपछि सामान्य मानिस लखन थापा सिद्ध लखन थापा भएर गोरखा दरबारमा रानी लीलावतीको सेवक भए । एकपल्ट राजा राम शाहले गोरखाको उपल्लो कोट दरबारमा आफ्नी रानी लीलावती र लखन थापालाई आफ्नो सिंहासनमा देखेछन् । त्यसपछि राजा अचानक बिरामी हुन पुगेछन् । समय बित्दै गयो, केही समयपछि राजा राम शाहको स्वर्गवास भयो ।
त्यस समयको प्रचलनअनुसार रानी लीलावती सती जानुपर्यो । राम शाहको दाहसंस्कार गर्न मस्र्याङ्दी नदी र दरौँदीको दोभान आजभोलि राम शाह घाट भन्ने ठाउँमा राजाको चिता बनाइयो । सती जान तयार अवस्थामा रहेकी रानीलाई देखेर लखन थापा मगर शोकले स्तब्ध बन्न पुगे । रानीले लखन थापालाई सम्झाउँदै भनिन्, एकपटक म फेरि पनि तिमीलाई मेरो सेवा गर्ने मौका दिनेछु । तिमी आफ्नो गाउँमा फर्क । म त्यही ठाउँमा शिलाको रूपमा उत्पत्ति भई भक्तजनहरूको मनोकामना पूरा गरिदिनेछु भन्दै सती जान चितामा चढिन् ।
रानी लीलावती सती गएको ६ महिनापछि हाल मनकामना भगवतीको मन्दिर रहेको ठाउँमा स्थानीयले गोरु जोत्दा हलो अड्किन गयो । अड्किएको हलो तानेर हेर्दा हलोमा शिला अर्थात् देवीको मूर्ति अड्किएको शिलाबाट दूध र रगत बग्न थालेको देखियो । त्यसपछि सिद्ध लखन थापाले थाहा पाएर तान्त्रिक विधिद्वारा पूजापाठ गरेपछि रगत बग्न रोकिएको थियो भन्ने धार्मिक विश्वास रहेको छ । सोही स्थानमा मनकामना माईको मन्दिर स्थापना गरियो । त्यसपछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरी नित्य पूजा चलाउन जग्गा गुठी र बिर्ता लालमोहर लगाइदिएका थिए ।
पुरानो मनकामना मन्दिर प्यागोडा शैलीमा सत्रौँ शताब्दीमा बनेको थियो । मन्दिरको छाना पित्तलको थियो । वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ठूलो क्षति पुर्याएको यस मन्दिर हाल पुरातत्व विभागको मापदण्डअनुसार पुनर्निर्माण भएको पाइन्छ । मन्दिर निर्माण गर्दा गजुर, छाना र मूलढोकामा सुनको जलप लगाइएको छ । मन्दिरको पुनर्निर्माणका लागि पुरानै शैलीअनुसार चुना ढुङ्गा, सुर्खी, इँटा र काठ प्रयोग गरिएको पाइन्छ ।
मनकामना मन्दिरको निर्माण र मर्मत–सम्भार विभिन्न कालखण्डमा शाहवंशका राजाहरूले गर्दै आएका थिए । मनकामना मन्दिरभित्र पूजा हुने ठाउँमा एउटा खाल्डोमा पाँच शिला ठडिएका छन् । जसमध्ये दुई ठूलालाई मनकामना र भैरव तथा अन्य तीन सानालाई क्रमशः गणेश, कुमारी र बेताल मानी पूजा गरिन्छ । पृथ्वीनारायण शाहको पालादेखि नुवाकोटको भैरवी र काठमाडौँको मैतीदेवी भगवतीसँग मनकामना माईको सम्बन्ध जोडिएको ऐतिहासिक प्रमाण रहेको छ । त्यसैले मनकामनाको नित्य पुजारी थापा मगर भए पनि त्यहाँ वैशाख सुदी-बदी र मंसिर सुदी-बदीको गुठी पञ्चमी पर्वमा चाहिँ गुभाजुले पुरोहितको काम गर्ने प्रचलन छ । मनकामना मन्दिरमा श्रेष्ठद्वारा देवीको सुसारेको काम गर्छन् । गुठी पञ्चमीको पर्वमा बौद्ध गुभाजुको तान्त्रिक विधिबाट पूजा गरिन्छ भने मन्दिरको पेटीमा अर्याल र मरहट्ठा थरका बाह्मणहरूले पुराणवाचनको काम गर्छन् ।
मनकामना मन्दिर, गोरखाको सदरमुकामबाट दक्षिणपूर्वपट्टि पर्छ । तनहुँको आँबुखैरेनीबाट तीन–चार घण्टाको उकालो पैदल यात्रा गरेर मनकामना पुग्न सकिन्छ । साथै आँबुखैरेनीबाट गोरखातर्फ अँवुवा भन्ने ठाउँबाट र गोरखा सदरमुकामदेखि बुंकोट, घैरुङ हुँदै मोटरबाटोमार्फत मनकामना मन्दिर जान सकिन्छ । त्यस्तै, मनकामना भगवतीको दर्शन गर्न जाने यात्रुहरूका लागि पृथ्वी राजमार्गको चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाअन्तर्गत कुरिनटारनजिकै चेरेस भन्ने स्थानबाट मनकामना मन्दिर परिसर नजिकैसम्म करिब २.७ कि.मि. लम्बाइको केबलकार सेवा सञ्चालन भएको छ । केबलकारमा १०-१२ मिनेटको यात्रापश्चात् गोरखाको सहिद लखन गाउँपालिकाअन्तर्गत मनकामनामा रहेको माथिल्लो स्टेसनमा ओर्लिएपछि करिब २-३ मिनेटको पैदल यात्रापश्चात् मनकामना भगवतीको मन्दिरमा सहजै पुग्न सकिन्छ ।
मनकामना मन्दिर परिसरमा करिब ४ सय वर्ष पुरानो विशाल चाँपको रूख छ । पहेँलो फूल फुल्ने चाँपको रुखले बास्ना दिन्छ । साथै, यसको आफ्नै महत्व रहेको छ । त्यस्तै, मन्दिर परिसर पूर्वपट्टि नजिकै वंकेश्वरी मन्दिर पर्छ । वंकेश्वरी मन्दिरमा बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोली फुट्ने जनविश्वास छ । वक्रेश्वर महादेव र वक्रेश्वरी माईका ठूला-ठूला शिला रहेका छन् । जुन ठाउँमा बाबा गुरु गोरखनाथले लखन थापालाई वरदान दिएको मानिन्छ । वक्रेश्वर महादेवको उत्तरपट्टि डाँडामा सिद्ध लखन थापाको गुफा पर्छ । गुफाको भित्र दुई ठूला प्वाल छन्, जुन प्वालबाट गोरखाको गोरखनाथको गुफामा पुगिने विश्वास गरिन्छ ।
मनकामना परिसर आफैँमा प्राकृतिक भ्युटावर हो । मनकामना मन्दिर परिसरबाट महाभारत पर्वतका डाँडाकाँडा र उत्तरतिर अन्नपूर्ण, मनास्लु हिमाली श्रृंखला र ऐतिहासिक अजिरकोटसमेत देख्न सकिन्छ । दक्षिणतर्फ छिम्केश्वरी तथा महाभारत पर्वत श्रृंखला, पूर्वतर्फ इच्छाकामनाको पहाड र पश्चिमतर्फ गोरखा जिल्लाको देउराली, मिरकोट थुम, दरौदी खोला किनारको उर्वर भूमि, ऐतिहासिक लिगलिग कोटलगायत प्राकृतिक मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौँ शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक समृद्धि हासिल गर्दै विभिन्न पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने आजको अवस्था छ ।
अतः प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाएर गरिबी न्यूनीकरण गर्दै मनकामना क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दादेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । मनकामना मन्दिर परिसरलगायत विभिन्न प्रख्यात पर्यटकीय क्षेत्रहरूलाई सर्किटको रूपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्नु समयको माग तथा आवश्यकता हो ।