गुणस्तरका लागि विद्यालय गाभिँदै

सरकारी विद्यालय एकआपसमा गाभिने नीतिअनुसार बुटवलका दुईवटा सरकारी माध्यमिक विद्यालय गाभिने भएका छन् । बुटवलका कालिका र मानव ज्ञान माध्यमिक विद्यालय गाभिने भएका हुन् ।
गाभिएर विद्यालय बनाउनको लागि दुवै विद्यालयका व्यवस्थापन समिति र स्थानीय बासिन्दाबीच छलफल र सहमतिमा बुटवल उपमहानगरपालिकामा निवेदन गरिएको छ । वडा हुँदै आएको निवेदनलाई आवश्यक प्रक्रियापछि उपमहानगरले गाभिएको निर्णय गर्ने कालिकाका प्रधानाध्यापक घनश्याम पाठकले बताए ।
कालिका उत्कृष्ट नतिजाका कारण राष्ट्रियस्तरमै ख्याति कमाएको विद्यालय हो भने मानव ज्ञानचाहिँ न्यून विद्यार्थी संख्या र औसत शैक्षिक गुणस्तर भएको विद्यालय हो ।
“दुई वर्षअघिदेखि मर्जको कुरा उठेको हो तर सुरुमा मानव ज्ञान मावि रहेको रामनगरका स्थानीय समुदायले चासो दिनुभएन । अहिले भने उहाँहरू नै मर्जका लागि सक्रिय भएर आएपछि सम्भव भयो,” पाठकले भने, “यी दुई विद्यालयको मर्जरपछि करिब १० हजार विद्यार्थीलाई पढाउन सक्ने विद्यालय हामी बन्नेछौं ।”
दुई विद्यालय एक भएर बन्ने विद्यालयको नाम कालिका मानव ज्ञान मावि राख्ने समझदारी पनि भइसकेको पाठकले जानकारी दिए । मर्जरपछिको विद्यालयको गुरुयोजना बनाउन दुवै विद्यालय व्यवस्थापन समिति र शिक्षाप्रेमीहरू सम्मिलित पाँच सदस्यीय एक समितिसमेत गठन गरिसकेको छ । समितिमा दिनेश थापा, रुद्रबहादुर हमाल, गोरखबहादुर रोका, दिनेशकाजी बज्राचार्य र खेमनारायण तिवारी रहेका छन् ।
मर्जरपछि आगामी शैक्षिक सत्रदेखि साविक मानव ज्ञान माविको सम्पूर्ण व्यवस्थापन साविक कालिकाले हेर्नेछ । कालिकानगरको भवनलाई सेक्टर १ र रामनगरको भवनलाई सेक्टर २ भनिनेछ । रामनगरको कालिका मानवज्ञानमा साविकको कालिका माविका तालिमप्राप्त दक्ष शिक्षक–शिक्षिकाले पढाउनेछन् । मानव ज्ञानका शिक्षक–कर्मचारीलाई कालिकामा ल्याएर तालिम दिई थप दक्ष बनाइनेछ । मानवज्ञानमा नर्सरीदेखि कक्षा ९ सम्म पूर्णतः अंग्रेजी माध्यममा मात्रै पठनपाठन गर्ने तयारीमा रहेको प्रधानाध्यापक पाठकले जानकारी दिए ।
हाल १ सय ६० जना मात्रै विद्यार्थी रहेको मानवज्ञानमा मर्जरपछि अबको शैक्षिक सत्रमा पाँच सय विद्यार्थी थपेर करिब सात सय विद्यार्थी पु¥याउने लक्ष्य रहेको छ । अहिले कालिका माविमा विद्यार्थीको अत्यधिक चापले विद्यार्थीहरू भर्ना हुन नपाएर फर्कनुपरेको अवस्था छ । अब यो शैक्षिक सत्रदेखि भर्ना हुन नपाएर विद्यार्थी फर्कनुपर्ने बाध्यताको अन्त्य हुने पाठकले बताए ।
मानवज्ञान मावि रहेको ठाउँमा तीन बिघा क्षेत्रफल विद्यालयको स्वामित्वमा छ । जग्गा प्रशस्त भएकाले क्रमशः भौतिक संरचना बनाउँदै विद्यार्थी संख्या ४ हजार पु¥याउन सकिने प्रधानाध्यापक पाठक बताउँछन् । हाल कालिका माविमा ४ हजार ३ सय ९७ विद्यार्थी छन् । कालिकामा ६ हजार विद्यार्थी पु¥याउने लक्ष्य छ । दुवै ठाउँमा गरेर १० हजार विद्यार्थी पु¥याउने विद्यालयको लक्ष्य रहेको पाठक बताउँछन् ।
दुई विद्यालयको मर्जरले गुणस्तरीय शिक्षाका लागि निजी शैक्षिक संस्थामा जानुपर्छ भन्ने मान्यतामा रहेका विद्यार्थी र अभिभावकले धेरै राहत पाउने पाठकको विश्वास छ । बुटवल वडा नंं १० का अध्यक्ष पदम थापा र रामनगर विकास समितिका अध्यक्ष वसन्त गौचनको पहल र सक्रियतामा दुई विद्यालय मर्ज सम्भव भएको रामनगरका स्थानीय बासिन्दा बताउँछन् ।
“मानवज्ञानमा प्रशस्त भौतिक सम्पत्ति र संरचना हुँदाहुँदै पनि विद्यार्थी न्यून थिए । शैक्षिक गुणस्तरमा पनि फड्को मार्न सकेका थिएनौं । उता राष्ट्रकै उत्कृष्ट सामुदायिक विद्यालयसँग एक हुन पाइने भएपछि हामी ज्यादै उत्साहित भएर सक्रिय ढंगले लागेका हौं,” अध्यक्ष गौचनले भने, “यी दुई विद्यालयको मर्जरले बुटवलको शैक्षिक इतिहासमा उदाहरणीय काम हुनेछ भने देशमै एउटा सकारात्मक सन्देश दिनेछ ।” यसअघि बुटवल दीपनगरको दीप प्रावि दीपनगरकै सिद्धेश्वर माविमा गाभिएको थियो ।
शिक्षा ऐनमै विद्यालयहरू एक आपसमा गाभिन पाउने व्यवस्था छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले देशकै उत्कृष्ट विद्यालय कालिका र सामान्य अवस्थाको मानव ज्ञान मावि मर्ज भएर एउटै विद्यालय बन्ने विषयले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश जाने र बुटवलको शैक्षिकस्तर माथि उकास्न पनि यो कोशेढुंगा सावित हुने बताए । कालिका मावि यसै वर्ष देशभरकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत हुँदैछ । कालिकाले ब्रिटिस काउन्सीलले प्रदान गर्ने इन्टरनेसनल स्कुल अवार्ड समेत पाइसकेको छ ।
टोपराज शर्मा