डडेलधुराका तीन सिँचाइ आयोजना अलपत्र

धनगढी– डडेलधुरामा निर्माण कम्पनीहरूले तीन वटा योजना अलपत्र पारेका छन् । पार्भती निर्माण सेवा डडेलधुराले आलिताल गाउँपालिका–१ को देउवा गाउँ सिँचाइ योजना, शर्मा–थेगिम जेभी धनगढीले भागेश्वर गाउँपालिका–४ को नौ गाउँ डुगरी सिँचाइ योजना र भुवनेश्वरी निर्माण सेवा डडेलधुराले भुवनेश्वरी सिँचाइ योजना अलपत्र पारेका हुन् ।
सरकारले २०७८ चैत मसान्तसम्मको म्याद दिएर २०७४ वैशाख २९ गते देउवागाउँ, २०७२ असोज २१ गते नौगाउँ डुगरी र २०७४ फागुन १४ गते मनसुता सिँचाइ योजना ठेक्का लगाएको थियो । संघीय व्यवस्था लागू भएपछि नेपाल सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई तीन वटै सिँचाइ योजना हस्तान्तरण गरेको थियो ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय डडेलधुराका प्राविधिक अधिकृत मनमोहन द्वारियाले निर्माण कम्पनीहरूलाई पटक–पटक ताकेता गरे पनि काम नगरेको बताए । योजना सम्पन्न गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिरहेको छ । डिभिजन कार्यालयको ताकेता पत्रको जवाफमा निर्माण कम्पनीहरूले काम गर्ने जवाफ भए पनि काम नगरेको उनले बताए । उनले अब पनि काम नगरे कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
डडेलधुराको आलिताल गाउँपालिकाका किसानलाई वर्षैभर सिँचाइ सुविधा उपलब्ध गराउन वडा–१ मा सरकारले देउवागाउँ सिँचाइ योजना सुरु गरेको थियो । एक करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनाको ठेक्का पार्भतीले ६२ लाख रुपैयाँमा कबोल गरेको थियो । निर्माण कार्य अलपत्र पारे पनि सो योजनाको ठेक्काबापत पार्भती निर्माण सेवालाई डिभिजन कार्यालयले ४८ लाख १३ हजार ४१७ रुपैयाँ भुक्तानी दिएको छ ।
विभिन्न ठाउँमा ठेक्का लिँदै योजना अलपत्र पार्दै आएको थगिम निर्माण सेवाले शर्मा कन्स्ट्रन्सनसँगको ज्वाइन्ट भेञ्चरमा नौ गाउँ डुगरी सिँचाइ योजनाको ठेक्का लिएको थियो । ६ करोड ९४ लाख रुपैयाँ लागत अनुमान भए पनि तीन करोड ७९ लाख रुपैयाँमा थेगिमले ठेक्का कबोल गरेको थियो । थेगिमले नौ गाउँ सिँचाइ योजना ठेक्का अलपत्र पारेको भए पनि डिभिजन कार्यालयलेले थेगिमलाई एक करोड ५७ लाख रुपैयाँ भुक्तानी दिएको छ ।
यसैगरी, भुवनेश्वरी निर्माण सेवाले मनसुता सिँचाइ योजना निर्माण गर्न ५५ लाख ५५ हजार रुपैयाँमा ठेक्का लिएको थियो । एक करोड ६८ लाख रुपैयाँ लागत अनुमान भए पनि भुवनेश्वरीले मनसुता सिँचाइ योजना एक तिहाई बजेटमै सम्पन्न गर्ने कबोल गरी ठेक्का लिएको थियो । डिभिजन कार्यालयले योजना अलपत्र पार्ने भुवनेश्वरीलाई ३८ लाख २० हजार पाँच सय रुपैयाँ भुक्तानी दिएको छ ।