एकै दिन मोरङमा तीन पुल उद्घाटन

विराटनगर– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मोरङमा एकै दिन तीन वटा पुल उद्घाटन गरेका छन् । निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका तीन वटै पुलको मन्त्री सिंहले औपचारिक रूपमा उद्घाटन गरेका हुन् । क्षेत्र नम्बर ५ अन्तर्गत मोरङको सीमावर्ती जहदा गाउँपालिकामा सहरी विकास मन्त्रालयले निर्माण गरेको तीन वटा पुलको मन्त्री सिंहले उद्घाटन गरे ।
कटहरी गाउँपालिका–२ र जहदा गाउँपालिका–४ जोड्ने लोहन्द्रा खोलाको कृपालघाट, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोला र जहदा २ स्थित जुडी खोलामा निर्मित पुल उद्घाटन गरिएको छ । उपप्रधानमन्त्री सिंहले पुल उद्घाटनपछि स्थानीय वासीलाई सम्बोधन गर्दै ग्रामीण क्षेत्रमा निर्माण भएको सडक र पुलले सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
परिश्रमी किसानले उत्पादन गरेका तरकारीलगायतका कृषिजन्य उत्पादन बजारसम्म लगेर सहज रूपमा बढी मूल्यमा बिक्री गर्न सुलभ हुने उनको भनाइ थियो । सडक, पुल निर्माणले सर्वसाधारणको आवागमन वृद्धि हुँदा आर्थिक गतिविधि बढ्ने उनले बताए । ग्रामीण क्षेत्रमा निर्माण भएका पुल र सडकले एक स्थानीय तहदेखि अर्को स्थानीय तहलाई जोड्नुका साथै अर्थतन्त्रमा टेवा पुग्ने र सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्नेमा सिंहले स्पष्ट पारे ।
उक्त तीन वटै ठाउँमा निर्माण भएको पुलले स्थानीयवासीको दैनिक जीवनमा ठूलो राहत पुगेको जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहले बताए । पुल नहुँदा सर्वसाधारण समस्या झेल्दै आएको उनको भनाइ थियो । बिरामीलाई समयमा उपचारका लागि लग्न नपाउँदा मृत्यु हुने, आगलागी हुँदा दमकल नजाने र वर्षायाममा अवागमन अवरुद्ध हुँदै आएको बताए ।