Logo

१५ करोड लागतमा स्कुल भवन निर्माण हुँदै

पोखरा– शान्ति निकेतन स्कुलले करिब १५ करोड रुपैयाँको लागतमा भवन बनाउने भएको छ । पोखरा ५ को धारापानी मार्गमा उक्त विद्यालय भवनको शिलान्यास गरिएको हो । विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुलीले आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको बताए । उनले करिब ६० करोड रुपैयाँको बजार मूल्यको जग्गामा बन्ने पाँच तले भवनमा ४० कोठा रहने जानकारी दिए ।

भवन यही वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको संस्थापक प्राचार्य पराजुलीले बताए । उनले सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने मान्यताका साथ विद्यालय अगाडि बढेको बताए । शैक्षिक गुणस्तरमा अब्बल विद्यालय बनाउने आफूहरूको सपना भएको विद्यालयका अध्यक्ष कृष्णमणी भूत्र्यलले बताए । शिलान्यासपछि पत्रकार सम्मेलन गर्दै विद्यालयले आगामी शैक्षिक रणनीतिका बारेमा पनि जानकारी गराएको थियो ।

संस्थापक प्राचार्य डा.महेश्वर पराजुलीले विद्यालयको २० वर्षको शैक्षिक यात्राबारे चर्चा गरे । ‘२०६२ सालमा युवाहरूको पहलमा स्थापित यस विद्यालयको शैक्षिक गुणस्तरीयताबारे गर्वका साथ भन्न सक्छौं की पोखरा क्षेत्रका साढे दुई सय विद्यालयमध्ये विभिन्न परीक्षामा उत्कृष्ट स्थान हासिल गरी हामी पटक–पटक सम्मानित भएका छौं । चार जिपिए प्राप्त गर्ने विद्यार्थी उत्पादन भइसकेका छन्’ पराजुलीले भने ।

प्राचार्य पराजुलीले विद्यालयले आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रीत शिक्षा प्रणालीमा विश्वास राख्ने उल्लेख गरे । अत्याधुनिक भौतिक संरचना भित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने आफूहरूको योजना रहेको संस्थापक पराजुलीले बताए ।

शिक्षण पद्धति अनुसन्धानमूलक र खोज विधिमा आधारित रहने विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने आफूहरुको मूलभूत उद्देश्य रहने उनले बताए । विश्व बजारमा प्रभुत्व जमाउने गरी भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्नु मुख्य ध्येय रहने पराजुलीले जनाए । पूरानो भवनमा मन्टेश्वरी तहदेखि कक्षा तीनसम्मका विद्यार्थीहरूका लागि पठनपाठन सञ्चालन भइरहेको छ भने नयाँ भवनमा कक्षा ४ देखि कक्षा १२ सम्म पठनपाठन गराउने उनले बताए ।

२०८३ सालदेखि कक्षा १२ सम्मको पाठ्यक्रम विस्तार गरिने उनको भनाइ छ । पराजुलीले भने, ‘लागत बढ्दैमा हामीले शुल्क वृद्धि नगर्ने र समय सापेक्ष शुल्क निर्धारण हुन्छ । भूकम्प प्रतिरोधी नयाँ भवनमा अपांगता मैत्री सुविधाहरू, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, स्मार्ट क्लासरूम, डिजिटल उपकरणहरू, कम्प्युटर ल्याब, साइन्स ल्याब र वल्र्ड क्लास डिजिटल लाइब्रेरीको व्यवस्था हुन्छ ।’

शिक्षासेवी हेरम्बप्रसाद कोइरालाले भवन निर्माणसँगै पोखराको शिक्षा क्षेत्रमा योगदान पुग्ने औंल्याए । गण्डकी बोर्डिङका पूर्व प्राचार्य रविप्रसाद बरालले पोखराको शैक्षिक इतिहासमा शान्ति निकेतनले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै शिक्षा साझा विषयवस्तु रहेको उल्लेख गरे । हिसान कास्कीका सचिव एवं प्रतिभा माविका प्राचार्य किरण सापकोटाले शान्ति निकेतनलाई पोखराको अब्बल शैक्षिक संस्थाको संज्ञा दिए ।

पोखरा– ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले शान्ति निकेतन वडाको सम्पत्ति भएको र शैक्षिक सेवा विस्तार गर्ने उद्देश्यका साथ भौतिक संरचना निर्माणतर्फ केन्द्रित रहेकोमा खुसी व्यक्त गरे । उनले सामुदायिक तथा संस्थागत विद्यालयका असल अभ्यास आदानप्रदान हुनुपर्ने भन्दै त्यसले शैक्षिक गुणस्तर वृद्धिमा भूमिका खेल्ने औँल्याए ।

प्रतिक्रिया दिनुहोस्