अलपत्र सडक स्तरोन्नतिको माग गर्दै स्थानीय आन्दोलित

दाङ– सडक स्तरोन्नतिको माग गर्दै यहाँका स्थानीयहरू आन्दोलित भएका छन् । विगत ३ वर्षदेखि अलपत्र सडक निर्माणको माग गर्दै तुलसीपुरका स्थानीयहरूले आन्दोलित भएका हुन् । उनीहरूले निर्माणाधीन सडक अलपत्र परेको भन्दै विरोधमा एक घण्टा तुलसीपुरको पीपलबोटमा चक्का जाम समेत गरेका थिए । कालोपट्टी बाँधेर बाटो बनाउ अभियान संघर्ष समितिका पदाधिकारीसहितका स्थानीयहरूले विरोध जनाएका थिए ।
उनीहरूले नेताहरूले स्टेजमा मात्र समृद्धि देखेको र विकास निर्माणमा नदेखेको भन्दै विरोध स्वरुप कालोपट्टी आँखामा बाधी हाम्रो बाटो खोइ, जनता विरामी नेता कति हरामीसहितका पिलेकार्डहरू बोकेर नारा लगाउँदै शान्तिपूर्ण विरोध गरेका थिए । तुलसीपुरस्थित पिपलबोट–आलुमण्डी–रानीजरुवा सडक निर्माणको काम अलपत्र पर्दा स्थानीयहरूले सास्ती खेप्दै आएका छन् । सो सडक अलपत्र हुँदा स्थानीयलाई घाम लाग्दा धुलो र पानी पर्दा हिलोले सास्ती हुने गरेको छ ।
सडक स्तरोन्नति लागि पटक–पटक आश्वासन मात्र दिएको बताउँदै अलपत्र सडक तत्काल निर्माण कार्य अगाडि बढाउन भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको समितिले जनाएको छ । ‘पटक–पटक आश्वासन आयो । अलपत्र बाटो निर्माण भएन । सोही कारण बाध्य भएर आन्दोलन सुरु गरेका हौ’ समितिका सदस्य दिपक काफ्लेले भने ।
उनले प्रदेश सरकारबाट बाटो निर्माण हुने भनेको र सडक ९ मिटरको बनाउन दायाँ दायाँ भत्काएको र सडक निर्माणको काम अलपत्र परेको बताए । सो सडक निर्माणको काम ठेक्कामार्फत सुरु भए पनि बीचमा ठेकेदार कम्पनीले सडक निर्माणको काम छोडेको थियो । बजेट सुनिश्चित नभएपछि काम पनि नभएको बताइएको छ । प्रदेश सरकारबाट केही बजेट आएपछि काम पनि सुरु भएको थियो । त्यसले पूर्णता पाएन उनले भने ।
केही समयअघि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीले ‘होलीको अर्को दिनदेखि नै कालोपत्रे सुरु हुन्छ’ भन्ने आश्वासन दिएको तर, वैशाख महिना सुरु भइसक्दासमेत कुनै कामअघि नबढेको उनले बताए । तुलसीपुर उपमहानगरपालिकाले पनि प्रदेशले सुरु गरेको काममा आफूहरूले बजेट नहाल्ने भनेपछि यो सडक अलपत्र परेको हो । स्थानीयहरूले सडकको दयनीय अवस्थाबारे पटक–पटक सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराए पनि अहिलेसम्म आश्वासन बाहेक कुनै ठोस कार्य भएको छैन ।
पिपल बोट–आलुमण्डी हुँदै रानीजरुवा गोठिखोला सडक तुलसीपुर उपमहानगरपालिका क्षेत्रको तुलसीपुरको मध्य मार्गमध्ये एक हो । तत्काल माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनको घोषणा गरिने संघर्ष समितिका अध्यक्ष जीवी जिएमले बताए । ‘हामीहरूले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छौं । समयमै माग सम्वोधन नभए अन्य दबाब र ध्यानाकर्षणका कार्यक्रम ल्याउने छौ’ उनले भने ।
तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाहले शान्तिपूर्ण जनताको आन्दोलनमा वडा र आफ्नो पनि पूर्ण रूपले समर्थन रहेको बताए । उनले प्रदेशबाट बजेट बहुवर्षीय भनेको तर पाँच वर्ष पुग्न लाग्दा पनि बाटो नबनेको बताए । वडाध्यक्ष शाहले बाटो तुरुन्त निर्माण सुरु हुनु पर्ने माग गरे । स्थानीयहरूले पटक–पटक बाटोको स्तरोन्नतिको माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
त्यसैबीच आन्दोलित स्थानीयहरूले बाटोमा केराको बोट रोपेर विरोध जनाएका छन् । नेपाल कृषि प्रधान देश भएकाले बाटो बाटो जस्तो नभएकाले केराका विरुवाहरू आफूहरूले रोपेका काफ्लले बताए । सो सडक निर्माण अलपत्र हुँदा सडक वरपरका व्यवसायीहरूले धुलोका कारण सटर बन्द गर्नु पर्ने अवस्था छ । तुलसीपुरको नयाँ बसपार्कको रानिजरुवा जाने मुख्य सडकनै जिर्ण भएपछि सवैले सास्ती झेल्नु परेको छ ।